शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

दोहा – नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले आफ्नो स्थापनाकालदेखि दोस्रो कार्यकालको लगभग मध्यसम्म महासंघमा आवद्ध रहेर सक्रिय भुमिका निर्वाह गरिसक्नुभएका अग्रज ई. नारायण प्रसाद चौधरीसँग छोटो भेटघाट गर्‍यो । बिशेष गरी आफ्नो बिमा सम्बन्धी आवश्यक प्रकिया मिलाउन तथा आउँदो महिना २९ डिसेम्वरदेखि ७ जनवरीसम्म आयोजना गर्न लागिएको “सप्तरी महोत्सव २०६८” को प्रचारप्रसारको लागि गत नोभेम्वर ९ तारिखमा कतार आउनुभएका ई. चौधरी आफ्नो काम सकी २८ तारिखमा स्वदेश फर्किसक्नुभएको छ।

गत नोभेम्वर २७ तारिखमा महासंघले दोहास्थित हिमालयन रेष्टुरेण्टमा छोटो अनौपचारिक कार्यक्रमको आयोजना गरी भेटघाटको अवसर मिलाएको थियो । सो कार्यक्रममा महासंघका अध्यक्ष मान बहादुर सावाँ लिम्बु र प्रमुख सल्लाहकार अमृत गुरुङ (अध्यक्ष, NRNA – NCC, Qatar Chapter) ले अतिथी ई. चौधरीलाई खादा ओढाई सम्मान गरेका थिए ।

सो भेटघाटको अवसरमा महासंघका सल्लाहकार सदस्य देव बहादुर राना मगर (अध्यक्ष, नेपाल प्रवासी मगर संघ, कतार), महासचिव बिनेश तामाङ् (सल्लाहकार, नेपाल प्रवासी तामाङ समाज, कतार), संघीय परिषद/सचिवालय सदस्यहरु क्रमशः ई. बिद्यानन्द चौधरी (सभापति, थारु कल्याणकारिणी सभा कतार च्याप्टर), ज्ञानेन्द्र कु. पन्दाक लिम्बु (का.वा. अध्यक्ष, किरात याक्थुङ्ग चुम्लुङ्ग, शाखा कतार), माईला वाईवा (महासचिव, नेपाल प्रवासी तामाङ समाज, कतार) लगायत नेपाल प्रवासी तामाङ समाज कतारका सदस्य मनी कुमार तामाङ को पनि उपस्थिति रहेको थियो ।

अतिथी चौधरीले आदिवासी जनजातिहरु राज्यको हरेक क्षेत्रमा पछि पर्नुको विविध पक्षहरु मध्ये मुख्य कारण शिक्षा नै रहेको बताउँदै अबको समय भनेको शिक्षातर्फ बिशेष जोड दिँदै भावी पुस्ताहरुलाई शैक्षिक स्तरमा माथि उठाउनुपर्छ जसले गर्दा बौद्धिक क्षमताको बिकास सँगसँगै राज्यका हरेक निकायहरुदेखि लिएर नीति निर्माण तहसम्म पहुँच हुनसक्छ भन्ने धारणा राख्नुभयो। एकप्रकारले उहाँले आफ्ना तर्कहरुमा शिक्षालाई बिशेष प्राथमिकता दिँदै कुनैपनि क्षेत्रमा सही चेतनासँगै समाजलाई सफल तथा सुदृढरुपले अगाडि बढाउन शिक्षाले नै अहम् भुमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो ।

कतारमा रहँदाभरी सक्रियरुपमा समाजसेवामा खटिनुभएका ई. चौधरीलाई विगतमा करीब अढाई बर्ष पहिले बिश्व आर्थिक मन्दीका कारण बाध्यतावश स्वदेश फर्किनुपर्दा महासंघले एक कार्यक्रमकाबीच बिदाई गर्नुपरेको थियो । स्वदेश फिर्तीपछि पनि सामाजिक गतिविधिमा आफुलाई निरन्तर सक्रिय राख्न रुचाउनु हुने ई. चौधरी वर्तमान स्थितिमा आफ्नो शारीरिक अस्वस्थताको वाबजुद पनि यस क्षेत्रमा उहाँको उत्तिकै जोश जाँगर देखिन्थ्यो ।

हाल उहाँको “डाईनेष्टी”, “Who is Who”, “सप्तरी सन्देश” र “राष्ट्रनिर्माणका आधारभुत सिद्धान्तहरु” नामक रचनाहरु लगभग प्रकाशनको तयारीमा रहेको छ ।

उहाँले सप्तरी पर्यटनको डकुमेन्ट्री निर्माणमा सहयोग पुर्‍याउनुका साथै सामाजिक कार्यमा दिनुभएको योगदानलाई मुल्याङ्कन गरेर एन.टि.भी. ले एकपटक सम्मान गरिसकेको छ ।

स्मरण रहोस्, उहाँ २००६ मा स्थापित नेपाली आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको संस्थापक सल्लाहकार, २००८ मा स्थापित जातिय संगठन थारु कल्याणकारिणी सभा कतार च्याप्टरको संस्थापक सल्लाहकार तथा २०३३ मा स्थापित जिल्लास्तरीय संगठन सप्तरी सेवा समाजका संस्थापक अध्यक्ष तथा दुई कार्यकाल अध्यक्षकै कार्यभार सम्हाली सक्नुभएको छ ।

तपाईको प्रतिक्रिया