समाचार सुन्नुहोस :
काठमाडौँ – कास्की र काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरे पनि रवि लामिछानेको ठगीसम्बन्धी मुद्दा अन्य अदालतहरूमा दर्ता भइरहेको छ। आज जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी नयाँ पूरक मुद्दा जिल्ला अदालतमा दर्ता गर्न लागेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहितको समूहलाई सहकारी ठगी र संगठित अपराधको अभियोगमा कानूनी कारबाही र बिगो भरपाई माग गर्दै यो मुद्दा अघि सारिएको हो। जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलका अनुसार कार्यालय खुलेलगत्तै लामिछाने र जोशीसहितका १४ जनाविरुद्ध पूरक मुद्दा अदालतमा दर्ता हुनेछ।
यसअघि, २०८१ वैशाख ३ गते, जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका १,८३१ जना बचतकर्ताबाट ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको आरोपमा २८ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो।