काठमाडौं – साउदी अरबमा भएको बन्दुक आक्रमणमा ज्यान गुमाउने नेपाली सुरक्षागार्डको परिचान खुलेको छ । बुधबार जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर गोली हानाहान हुँदा ज्यान गुमाउनेमध्ये एक बागलुङका ६० वर्षीय नैनसिंह नेपाली रहेको खुलेको हो ।
नेपाली सन् २००१ देखि साउदीमा थिए । साउदीको ओथमान हमेद अल घामदी एन्ड सन्स कम्पनीमार्फत उनी अमेरिकी वाणिज्य दूतावासमा सुरक्षा गार्डका रूपमा गएका थिए । नेपालीको शव अहिले प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । घटनामा सन्दिग्ध आक्रमणकारीको पनि मृत्यु भएको थियो ।
अधिकारीहरूका अनुसार बन्दुक बोकेका एक व्यक्ति कारमा आएका थिए । अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ । घटनाबारे साउदी निकायहरूले अनुसन्धान सुरु गरेका छन् । रोएटर्स समाचारसंस्थाले साउदी अरबको सरकारी समाचारसंस्था एसपीएलाई उद्धृत गर्दै अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षागार्ड उक्त घटनामा सुरुमा घाइते भएका र त्यसको केही समयमा उनको मृत्यु भएको जनाएको छ ।
‘जेद्दामा अमेरिकी वाणिज्य दूतावास भवनबाहिर एउटा कारमा आएका एक व्यक्ति रोकिए र हातमा बन्दुक बोकेर बाहिर निस्किए । सुरक्षा अधिकारीहरूले आवश्यकतानुरूप उनलाई रोक्न पहल गरे अनि गोली हानाहान हुँदा उनको मृत्यु भयो,’ मक्का क्षेत्रका प्रहरी प्रवक्ताले भने ।