Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

बेल्जियम- बेल्जियममा आगामी अक्टोबर १४ मा हुन गईरहेको स्थानिय निर्वाचनमा एकजना नेपाली महिलाले उम्मेदवारी दिएकी छिन् । यदाकदा मात्र सुनिने डायस्पोराको राजनीतिमा नेपाली सहभागिता त्यसमाथि पनि महिला उम्मेदवारीको बिषयले यसपटक निकै चर्चा पाएको छ । यसै सन्दर्भमा उम्मेदवार लिला शर्मा मानन्धरले प्रेषित गर्नुभएको आफ्नो चुनावी बिज्ञप्ती यसप्रकार छ ।

बेल्जियममा आगामी अक्टोबर १४ मा हुन लागेको स्थानिय निर्वाचनमा प्रजातान्त्रिक मुल्य र मान्यतामा आस्था राख्ने पार्टी CD&V पार्टीबाट मेरो उम्मेदवारी रहेको छ । मेरो छोटो परिचय अगाडि बढाउने क्रममा मेरो जन्म महाकाली अंचलको डडेल्धुरा जिल्लामा भएको तर मेरो बाल्यकाल र एसएलसी सम्मको अध्ययन मैले कंचनपुर जिल्लाबाट गरे । त्यसपछि मैले उच्चशिक्षा हासिल गर्ने क्रममा पद्मकन्या क्याम्पस, रत्नराज्य क्याम्पस र स्नातकोत्तरको अध्ययन राजनीतिक शास्त्रमा त्रिभुवन बिश्वबिद्यालयबाट पुरा गरें । नेपालमा रहंदा रोजगारीको सिलसिलामा मैले मेरो जीवनको लामो समय पर्यटन क्षेत्रमा बिताए । यसका साथसाथै प्रजातन्त्र प्राप्तीपछिको ट्रेड युनियन आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै Soaltee Crown Plaza को आधिकारिक युनियनमा साथै नेपाल होटल तथा पर्यटन श्रमिक संघ राष्ट्रियस्तरको कार्य समितिमा बसेर काम गर्दा गर्दै म पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल ट्रेड युनियन काँग्रेसको निर्वाचित केन्द्रिय सदस्य हुन पुगें र ट्रेड युनियन काँग्रेसको केन्द्रिय महिला विभागको जिम्मेवारी पदमा बसी काम गरें । ट्रेड युनियनको राष्ट्रिय स्तरमा काम गर्दा गर्दै विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थाहरुसंग मिलेर काम गर्ने मौका प्राप्त गरे ।

यसै सिलसिलामा ICFTU – APRO (International Confederation of Trade Union) (Asia Pacific Regional Office), ILO (International Labour Organisation ),JILAF ( Japan International Labour Foundation ) हरुसंग विभिन्न प्रोजेक्टमा विभिन्न तह र तप्कामा बसी काम गरें । ट्रेड युनियन आन्दोलनमा मैले गरेको परिश्रम र कामको मूल्यांकनको आधारमा मैले साउथ एसिया, एसिया, मध्ये पूर्वीराष्ट्र र युरोपेली राष्ट्रहरुमा नेतृत्व विकास, प्राबिधिक शिक्षा, लैंगिकविभेद, मानवअधिकार , महिला सशक्तिकरण र मजदुरहरुसंग सम्बन्धित अन्तराष्ट्रिय अभिसन्धिहरुका बारेमा अध्ययन गर्ने मौका पाए । यसै क्रममा युरोपेली राष्ट्रमा पनि स्रोत व्यक्तिका रुपमा पनि काम गरे ।

म संधै सत्यमा विश्वास गर्ने र निष्ठावानभई निस्वार्थ सेवा गर्न रुचाउने ब्यक्ति हु । अझ त्यसमा पनि महिला सशक्तिकरणमा निस्वार्थ लागिरहने र म पुगेको स्थानमा प्रत्येक महिलाहरुको पहुंच देख्न चाहने महिला मध्ये म पनि एक हुं |

मेरो करिब ६, ७ बर्षको बेल्जियमको बसाइको क्रममा मैले विभिन्न नेपाली तथा बेल्जियन संघ संस्थाहरुसंग काम गरें र हालसम्म पनि आबद्ध रहेर काम गर्दै छु । जस्तै: जनसम्पर्क समिति बेल्जियम, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति बेल्जियम (महिला समिति संयोजक) र Intercultural women center (IVCA ) Antwerpen, Athena Open Leercentrum Atwerpen र Women for Women NGO मा काम गर्दै आएकी छु । यसका साथ साथै अन्य महिला सशक्तिकरण लगायत आप्रवासी सम्बन्धि कामगर्ने संघ सस्थाहरुसंग आबद्ध रहदै आएको छु ।  यसरी बिदेश बसाइको क्रममा आफुले सिकेका अनुभबहरुलाई आदानप्रदान गर्ने र नयां कुराहरु सिक्ने ठुलो अवसर पाएकी छु । यहि दौरानमा स्वदेशी तथा विभिन्न बिदेशी मुलुकका महिलाहरुसंग घुलमिल गर्ने ठुलो मौका प्राप्त गरे, कामकै सिलसिलामा विभिन्न राजनैतिक पार्टीसंग आस्था राख्ने साथीहरुसंग घुलमिल हुन पुग्यो आफ्नो लामो समयको अनुभव, शैक्षिक योग्यता, भाषिक ज्ञानले गर्दा साथीहरुको सरसल्लाहले यहांको निर्वाचनमा प्रवेश गर्न पुगें । यसरी आफुलाई बेल्जियमको राजनीतिमा प्रवेश गर्ने पहिलो नेपाली महिलाकारुपमा स्थापित गर्न पाउदा गौरब लागेको छ ।

बेल्जियमको राजनैतिक प्रवेशका सम्बन्धमा मैले उम्मेदवारी प्राप्त गरेको पार्टी CD&V हो । जसले ५० बर्षको इतिहास बोकेको र समय सापेक्षिक प्रजातान्त्रिक प्रक्रियाबाट अगाडि बढ्दै सम्पूर्ण नागरिकलाई प्रजातन्त्रको मुल्य र मान्यताको महसुस गराउदै बिदेशी मुलुकका आप्रबासीलाई पनि उच्च कदर गर्दै सबैको समान हक र अधिकारका लागि तत्पर रहने पार्टीकारुपमा चिनिन्छ ।

यसै पार्टीबाट मैले यहांको स्थानिय निर्वाचनमा Antwerpen Procinve बाट काउन्सलरको पदमा नम्बर ६ उम्मेदवारी दिएकी छु । Antwerpen province बेल्जियमको फ्लामिस क्षेत्रको सबभन्दा ठुलो province हो । यस province मा करिब १७ लाख जनसंख्या छ । आर्थिक हिसाबले यो क्षेत्र निकै बलियो छ ।

यसरी यो क्षेत्रबाट ६ स्थानमा उम्मेदवारी पाउनेमा म नै पहिलो नेपाली र पहिलो एसियन मुलको नागरिक हुं । यसैगरि मेरो उम्मेदवारी Borgerhout जिल्लाबाट १७ स्थानमा रहेको छ । जसको जनसंख्या ४५, ५७० रहेको छ । यस क्षेत्रमा करिब १३१ राष्ट्रका आप्रबासी नागरिकहरुको बसोबास छ । यस निर्वाचनमा मेरो प्रतिनिधित्व केवल नेपालीका लागि मात्र नभई सम्पूर्ण आप्रबासी र विदेशीका लागि पनि हो ।

यसरी करिब ५,६ हजार नेपालीको जनसंख्या रहेको बेल्जियममा स्थानीय निर्वाचनमा नेपालीले हासिल गरेको स्थानले निकै नै गौरब र इज्जत प्रदान गरेको छ । मैले निर्वाचनमा उठाएका मुद्धाहरु महिला र समान अवसर, सम्पूर्ण स्थानमा बिदेसी नागरिकको उचित प्रतिनिधित्व र विभिन्न मुलुकको सांस्कृतिक, रहनसहनको एक आपसी समुदायमा पहिचान हो ।

मेरो जीवनको प्रत्येक पाईलाको सफलता ठुलो श्रेय मेरो जन्मदाता आमा, बुबा मेरो घरपरिवार र सम्पूर्ण नेपालीले दिएको माया नै हो । म संसारको जुनसुकै ठाउमा रहेता पनि नेपाली महिलाको साहस र गौरबलाई माथि उठाउने प्रयत्न गर्ने छु । उचित मौका पाए नेपालीले संसारको सबै नै ठाउंमा नाम राख्न सफल भएका छन् ।

यस निर्वाचनमा हार जित भन्दा पनि पहिलो कुरा प्रतिनिधित्व गर्न पाउनु नै ठुलो कुरा हो । यदी मैले एसियन मुलुकको ठुलो सहयोग पाएमा मेरो जित स्वत हुने छ । यसका साथसाथै अन्य बिदेशी तथा स्वदेशीहरुबाट पनि सहयोग प्राप्त भएमा प्रतिफल सकारात्मक हुने छ ।

अन्तमा, यस् चुनाबी माहौललाई अगाडि बढाउनको लागि सम्पूर्ण स्वदेश तथा बिदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सहयोग सल्लाह र ऐक्यबद्दताको लागि आह्वान गर्दै बेल्जियमा मेरो चुनाबी अभियानलाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरुलाई धन्यवाद दिन चाहन्छु  ।+++

 

लीला शर्मा मानन्धर
प्रत्यासी बेल्जियम स्थानिय चुनाव २०१२
प्रोभिन्सी अन्तवेर्पेनबाट छैठौ स्थानमा र बर्गरहौत जिल्लाबाट सत्रौ स्थानमा

 

 

तपाईको प्रतिक्रिया