काठमाडौं – प्रमुख सत्ता साझेदार संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले नयाँ गठबन्धनलाई संशयका साथ हेरिएको जनाएको छ ।
व्यवस्थापिका संसद बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ तथा शुभकामना दिँदै नेता महेश आचार्यले गठबन्धलाई आश्चर्य र संशयका साथ हेरेको बताउनुभएको हो ।
शुभकामना दिँदै आचार्यले भन्नुभयो ‘सिंगो नेपाली कांग्रेसले नयाँ प्रधानमन्त्रीलाई आशा, भरोसा, आश्चर्य र संशयका साथ हेरेको छ । हामी प्रधानमन्त्री सफल भएको हेर्न चाहन्छौं ।’
आचार्यले युद्धको घोषणा गर्ने कमाण्डरलाई कांग्रेसले शान्तिको नायक देख्न चाहेको बताउनुभयो । नयाँ गठबन्धनको बाटो सहज नभएको उल्लेख गर्दैै उहाँले ठूलो पार्टीको हैसियतले कांग्रेसको तर्फबाट सरकारलाई पूर्ण सहयोग रहने उल्लेख गर्नुभयो ।
नयाँ सरकारसँग अवसर पनि उत्तिकै रहेको दाबी गर्दै आचार्यले देशलाई पाँच/दश वर्षमै देशलाई आर्थिक रुपान्तरण गर्न सकिने बताउनुभयो ।