Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – कमैया प्रथा मुक्त गरिएको दिन साउन २ गते मुक्त कमैयाले आइतबार उपत्यकासहित थारू बहुल सबै जिल्लामा मुक्ति दिवस मनाउँदै छन् । तत्कालिन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो । सरकारले मुक्त घोषणा गरेको १६ वर्ष पूरा भई १७ वर्षमा प्रवेश गरे पनि पश्चिम नेपालका दुई जिल्ला कैलाली र बर्दियामा अझै मुक्त कमैयाको पुनःस्थापना सम्पन्न भएको छैन ।

अन्य जिल्ला कञ्चनपुर, बाँके, दाङ र सुर्खेतमा मुक्त कमैयाको पुनःस्थापनाको काम सकिएको सरकारले बताएको छ । दुई जिल्लामा पनि यही आर्थिक वर्ष्भित्र पुनःस्थापनाको काम सक्ने तयारी सरकारको छ । मुक्त कमैया क्षेत्रमा काम गर्ने कमैया महिला जागरण समाजका अनुसार कैलालीमा चार सय घरधुरीलाई पुनःस्थापना गर्न बाँकी छ । त्यस्तै, १२ सय घरपरिवारको सट्टाभर्ना गर्नुपर्नेछ ।

kamaiya

नदीको बगरमा, बलौटे जग्गामा मुक्त कमैयालाई जग्गा उपलब्ध गराउँदा नदीले कटान गरेपछि ती कमैयालाई पुनः अर्को जग्गाको व्यवस्था गर्नुलाई सट्टाभर्नाको काम भनेर सरकारले परिभाषित गरेको छ । अन्य जिल्लामा सो काम सम्पन्न भए पनि कैलाली र बर्दियामा बाँकी छ । त्यस्तै, बर्दियामा तीन सय घरपरिवारको पुनःस्थापना र नौ सय घरपरिवारलाई सट्टाभर्ना गर्न बाँकी रहेको समाजका केन्द्रीय अध्यक्ष कृष्णी थारूले बताउनुभयो ।

सरकारी कर्मचारीको ढिलासुस्तीका कारण १७ वर्ष पुग्दासमेत कमैयाको पुनःस्थापना नहुनु दुःखद् भएको थारूले बताउनुभयो । यत्तिका वर्षसम्म घाम, शीत, वर्षाको पीडाले मुक्त कमैयाहरू बाँच्दैआएको बताउँदै उहाँले सरकारलाई कमैयाको समस्याप्रति गम्भीर हुन आग्रह गर्नुभयो । अध्यक्ष थारू पनि आफै मुक्त कमैया हुन् । मुक्त कमैयाको पुनःस्थापनाका लागि सरकारले हरेक वर्ष बजेट छुट्याउने गरे पनि त्यसको सही कार्यान्वयन नभएर पुनःस्थापनाको काममा ढिलाइ भएको उहाँको बुझाइ छ ।

कमैयाको पुनःस्थापनाका लागि भन्दै सयौँ सामाजिक सङ्घ संस्थाहरू खोलिए पनि पुनःस्थापनाको कामभन्दा आफ्नै पेट भर्ने काममा सबैले ध्यान दिएको अध्यक्ष थारूको बुझाइ छ । त्यस्तै पुनःस्थापना हुन नसकेकी कैलाली धनगढीकी मुक्त कमैया मैनामती थारूले मुक्तिपछिको पीडा सुनाउनुभयो । आफ्नै घरबास र खेतीगर्ने जग्गा नहुँदा मजदुरी गरेर जेनतेन परिवार पाल्दैआएको बताउनुभयो ।

यतिका वर्षसम्म सरकारले पुनःस्थापनाको काम नगर्दा हजारौँ मुक्त कमैया परिवारको बिचल्ली रहेको उहाँले गुनासो गर्नुभयो । सरकारले यसअघि प्रतिबद्धता गरेको एक लाख रुपियाँ, ३५ क्विफिट काठसमेत आफूहरूले नपाएको कमैयाको गुनासो छ । मुक्त कमैया परिवारका बालबालिकालाई निःशुल्क शिक्षा दिने नीतिमा सरकारको भए पनि त्यो व्यवहारमा कार्यान्वयन नभएको मुक्त कमैयाले गुनासो गरेका छन् । केही मुक्त कमैयालाई बढीमा पन्ध्र दिनको सीपमूलक तालिम प्रदान गरिएको भए पनि अधुरो तालिमले काम पाउन नसकेको उनीहरूको गुनासो छ ।

तीन महिनामा सम्पन्न हुने तालिमलाई पन्ध्र दिनमा सकाउने गरेको, केही सीप सिकेर कारोबार सञ्चालनका लागि पैसा उपलब्ध नभएकाले त्यसको सदुपयोग नभएको मुक्त कमैया थारूले बताउनुभयो । “घरजग्गा, खेतबारी केही छैन, बैङ्कले बिनाधितो ऋण दिँदैन, हामी गरिबलाई कोही आफन्तले नगद सहयोग गर्दैन” भन्दै मुक्त कमैया थारूले सरकारले नै अनुदान या बिनाव्याजमा कारोवारका लागि ऋण उपलब्ध गराउनुपर्ने बताउनुभयो ।  मुक्त कमैयाका प्रतिनिधिहरू मुक्ति दिवस मनाउनका लागि काठमाडौँ आइपुगेका छन् । आइतबार हुने औपचारिक कार्यक्रममा भूमिसुधारमन्त्री, सो क्षेत्रका सांसद तथा राजनीतिक दलका नेतालाई कार्यक्रममा आमन्त्रण गरी आफ्नो दुःख पीडा सुनाउने तयारी गरिएको समाजकी अध्यक्ष थारूले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया