राजनिति संक्रमण भन्दै बितेका दुई दशक
मेरो गाउँ बनाउने, मेरी आमा हँसाउने सपना
धरहरा उठाम्ला भनेथें, घर पनि बनाम्ला भनेथें
म बन्छु,अर्को पुस्ताको लागि गर्छु नि सोचेथें
तर आमा,
गैरी खेत बन्दकी राखेर बेलुकाको छाक टाटेर
झुटो सपनामा फुल मालाले सजाएर पठाएकी थियौ
खेलौनामा मात्र देखेथें ठूलो हवाईजहाज आमा
त्यही जहाज चढेर परदेश पसेकी तिम्री छोरीलाई
अभाव दुःख पीडा संघर्ष सामान्य लाग्छन् आजकल
अझ आमा,
मरूभूमिमा पसिना पोखेर परदेशिंदा लागेको ऋण तिर्नुछ
तिम्लाई यक सरो लुगा भाईलाई खेलौना
वहिनीलाई किताब किन्ने पैसा जोहो गर्ने सपना छ
मेरो हरियो पासपोर्ट भित्रको त्यति ठूलाे सपना
सुनन आमा,
केही बर्ष लाग्ला हाम्रा सुन्दर सपना साकार हुन
म फर्कुँला बाँझै छाडेको खेतमा खेती गराैंला
बिहान बेलुका हाँसेर भएपनि बासी आँटो खाउँला
संगै रूम्ला, संगै हासाैंला तिम्रो काखमा आमा
अझ आमा,
एयरपोर्टबाट दैनिक ३ वटा रातो बाकस ओर्लिन्छन्
म पनि त्यही बाकसमा भरिएर फर्किएँ भने नरुनु तिमी
किनकी तिम्री सन्तानले संघर्ष अभाव दु:ख सिकेकी छे
तिमीले भन्दा बढी जिन्दगीलाई नजिकबाट बुझेकी छे आमा ।।
गुल्मी
हाल जापान