Deneme Bonusu Veren Siteler
शनिबार, पौष २०, २०८१
Saturday, January 4, 2025

टोकियो – पछिल्लो समय जापानमा नयाँ शैलीको डकैती ‘यामी बाइतो’ का कारण सर्वसाधारणमा त्रास फैलिएको छ । ‘ओरे-ओरे सागी’ पछिको यो ‘यामी बाइतो’ विकसित र डरलाग्दो डकैती धन्दा मानिन्छ ।

इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालमा आकर्षक कमाइको प्रलोभन देखाएर ‘इजि मनी’ को लोभमा झुम्मिनेहरूलाई ट्रयापमा पारेर ब्ल्याकमेलिङ गर्ने, डकैतीको काममा लगाउने र भनेअनुसार नगरेमा स्वयमलाई वा निजका परिवारका सदस्यलाई अपहरण गर्ने वा ज्यानैसमेत लिने खालको गतिविधि गर्ने आपराधिक समूहले चलाएको नयाँ कलेवरको ठगी धन्दालाई ‘यामी बाइतो’ भनिन्छ । यामी भनेको ब्ल्याक (अवैध) र बाइतो भनेको पार्टटाइम जबबाट यामी बाइतो नामले चिनिने यो डकैती धन्दाका कारण अहिले जापानभर त्रास फैलिएको छ ।

कम मिहिनेतबाट छोटो समयमै आकर्षक कमाई गर्न सकिने भन्दै सामाजिक सञ्जालमा राखिने विज्ञापनबाट लोभिनेहरूलाई अत्यधिक गोपनीयता सुरक्षित एपको माध्यमबाट व्यक्तिगत विवरण सबै भरेर आवेदन गर्न लगाइने र व्यक्तिगत विवरण सबै हात पारिसकेपछि त्यसको दुरुपयोग गर्दै धम्क्याउने, ब्ल्याकमेलिङ गरी त्रास देखाउने र मोटो रकमको माग गर्ने, आफ्नो समूहमा संलग्न भएर काम गर्न बाध्य बनाउने र त्यो गर्न नसके अपहरण गरिदिने वा ज्यानै लिइदिने जस्ता धम्की दिने गरिएको जापान प्रहरी एजेन्सीको भनाई छ ।

यसप्रकारका आपराधिक समूहले विभिन्न माध्यमबाट डेटा संकलन गर्ने र खासगरी सोसाइटीमा बसोबास गर्ने धनाढ्य र एकल व्यक्तिको पहिचान गरी घरमै गएर आक्रमण गरी लुटपाट गर्ने जस्ता घटना बढ्दै गइरहेको वरिष्ठ जापानी पत्रकार मुरोहासी हिरोकाजुले बताए । उनकाअनुसार त्यस्ता गतिविधिमा सक्रिय गिरोहको पहिलो लक्षित समूह भनेको धनाढ्य एकल बृद्धबृद्धा हुने गरेको पाइएको छ भने यस्ता गतिविधिमा लगाउनका लागि उनीहरूको रोजाइमा विदेशीहरू पर्ने गरेको पाइएको छ ।

किनभने विदेशीहरू आकर्षक कमाइमा सजिलै लोभिने, अनेकन त्रास देखाएर चंगुलमा पार्न सकिने र आफ्नो अनुकूल काममा प्रयोग गर्न बाध्य पार्न सकिने उनीहरूको बुझाई रहेको छ । त्यसैले विदेशीहरू अझ सजग रहनुपर्ने सुरक्षा अधिकारीहरू बताउँछन् । यसप्रकारको नयाँ शैलीको डकैती पछिल्लो डेढ-दुई वर्ष अगाडिदेखि छिटफुटरुपमा हुँदै आएको भएता पनि यो वर्ष लागेयता भने शृङ्खलाबद्धरुपमा भईरहेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

टोकियो महानगरीय प्रहरी स्रोतका अनुसार यसप्रकारको गतिविधिमा संलग्न हुनेहरूमा युनिभर्सिटी, माध्यमिक तहका विद्यार्थी र बेरोजगार युवाहरूको बाहुल्यता पाइएको छ । राजधानी टोकियो र यसका आसपासका तीन प्रिफेक्चरमा गरी गत अगस्ट महिना यता ९ वटा ‘यामी बाइतो’ संग सम्बन्धित घटनामा २९ जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ ।

गत अक्टोबरतिरको कुरो हो, चिवा प्रिफेक्चरको फुनाबासी सिटीमा बस्दैआएका करिब ७० वर्षका वृद्धबृद्धा यस्तै घटनाको सिकार भएका छन् । बिहान ९ बजेतिर अचानक ढोका तोडफोड गरेर घरभित्र प्रवेश गरेका कालो कपडाले मुख छोपेका नकावधारी एक समूहले ती वृद्धालाई कुटपिट गरी घाइते बनाई उनीहरूसँग भएको बहुमूल्य सामानका साथै करिब ९० लाख येन लुटपाट गरी भागेको जापानको सरकारी टेलिभिजन एनएचकेको अनलाइन संस्करणले जनाएको छ । घटना जेआर चुदानुमा स्टेशनबाट करिब १ दशमलव ६ किलोमिटर उत्तरपश्चिमको दुरीमा अवस्थित बस्तीमा भएको हो । यो त प्रतिनिधिमूलक घटना मात्र हो, समान प्रकृतिका घटनाहरू बाक्लिँदै जान थालेकोले चिन्ताको विषय बनेको सुरक्षा निकायको भनाई छ ।

हालै जापानी तथा विदेशीहरू मिश्रित एक कार्यक्रममा बोल्दै टोकियो महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख निशीजावा शुइचीले ‘यामी बाइतो’ जस्ता जघन्य अपराध कार्य बढ्दोक्रममा रहेकोले सजग रहन सबैमा अपिल गरे । उनले सामाजिक सञ्जालमा भेटिने अपत्यारिलो र आकर्षक कमाई हुने पार्टटाइम जबको विश्वास नगर्न र आफ्नो व्यक्तिगत विवरण जथाभाबी सम्प्रेषण नगर्न सुझाव दिए । सन्दिग्ध सूचना र सन्दिग्ध व्यक्ति वा समूहको जानकारी प्राप्त भएमा तुरुन्त प्रहरीलाई खबर गर्न पनि उनले अनुरोध गरेका छन् ।

खासगरी एक्लै बस्ने धनाढ्य र वृद्ध उमेरका मानिसहरूको पहिचान गरी उपयुक्त समयको मौका छोपेर लुटपाट गर्ने यो गिरोहको रणनीति देखिन्छ । यस्ता गतिविधिबाट आफू बच्न र अरूलाई पनि बचाउन सकेसम्म एक्लै नबस्ने, सामाजिक सञ्जालमा भेटिने अनधिकारिक पोष्टको पछाडि नलाग्ने, आफ्नो घर वा कोठामा बस्दा ढोकाको चुकुल अनिवार्य लगाएर बस्ने, आफ्नो व्यक्तिगत विवरण सुरक्षित राख्ने, अपरिचित र शंकास्पद व्यक्तिसँग संवाद-सम्पर्क नगर्ने, आफ्नो घर वा कोठाको प्रवेशद्वारमा क्यामेरा जडान गर्ने, हरेक क्षण उच्च सतर्कता अपनाउने, आफ्नो स्मार्टफोनमा आपतकालिन अवस्थामा प्रयोग हुने उपयोगी एपहरु डाउनलोड गरी तयारी अवस्थामा राख्ने जस्ता कार्यहरू गरेमा धेरै हदसम्म सुरक्षित रहन सकिने अधिकारीहरू बताउँछन् । ***

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया