Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – उच्च मुद्रास्फीति, आपूर्तिचक्रमा उत्पन्न चाप, युद्धजस्ता कारण अहिले संसारभर सबैजसो सामानको मूल्य बढेको छ । नेपालमात्रै होइन, अहिले संसारका प्रायः सबै देशका नागरिकहरु खानेकुरा, इन्धन, घरभाडा, स्वास्थ्योपचारजस्ता अत्यावश्यक कुराको भाउ बढेर हैरान छन् । अरुको दशमा बसोबास गर्ने विदेशी नागरिकका लागि त झन् खर्चको जोहो गर्नै कठिन हुने अवस्था छ ।

विदेशी नागरिकका लागि जीवन धान्न सबैभन्दा महङ्गा शहर कुन होलान् ? अमेरिकी वित्तीय परामर्शदाता कम्पनी मर्सरले विदेशीका लागि संसारका सबैभन्दा महङ्गा शहरको सूची सार्वजनिक गरेको छ । यो सूचीमा संसारका २ सय २६ वटा शहर समेटिएका छन् । यहाँ विदेशी नागरिकका लागि संसारकै सबैभन्दा महङ्गा १० शहरका बारेमा चर्चा गरिएको छ ।

प्रवासीका लागि संसारकै सबैभन्दा महङ्गा १० शहरमा स्विट्जरल्याण्डका ४ शहर परेका छन् । यो सूचीमा अमेरिकाका दुईवटा शहर समावेश छन् । प्रवासीका लागि संसारका सबैभन्दा महङ्गा १० शहर कुन होलान् ?

हङकङ : मर्सरका अनुसार हङकङ संसारकै सबैभन्दा महङ्गो शहर हो । एशियाको वित्तीय केन्द्रका रुपमा रहेको हङकङ चीनको विशेष प्रशासकीय क्षेत्र हो । यहाँ ३ लाख ६० हजारभन्दा धेरै प्रवासी रहेको बताइन्छ ।

सिंगापुर : प्रवासीका लागि सबैभन्दा महङ्गो शहरको सूचीमा सिंगापुर दोस्रो स्थानमा आउँछ । दक्षिणपूर्वी एशियामा रहेको यो नगर राज्य पनि आर्थिक केन्द्रकै रुपमा चिनिन्छ । सिंगापुरमा प्रवासीहरुको पनि राम्रै उपस्थिती रहेको छ । एउटा सर्वेक्षणअनुसार सिंगापुरमा १७ लाखभन्दा धेरै प्रवासीको बसोबास रहेको छ ।

ज्युरिच : प्रवासीका लागि संसारकै सबैभन्दा महङ्गो शहरको सूचीमा ज्युरिच तेस्रो स्थानमा आउँछ । स्विट्जरल्याण्डको उत्तरमा अवस्थित यो शहर पनि बैंकिङ तथा वित्तीय कारोबार हुने केन्द्र मानिन्छ । ज्युरिचमा ४ लाखभन्दा धेरै प्रवासी बस्छन् ।

जेनेभा : प्रवासीका लागि सबैभन्दा महङ्गो शहरको सूचीमा जेनेभा चौथो स्थानमा आउँछ । स्विट्जरल्याण्डको पश्चिममा अवस्थित यो शहर विश्व कूटनीति तथा अन्तर्राष्ट्रिय मामिलाको केन्द्र नै मानिन्छ । यो शहरमा बस्ने २ लाखमध्ये झण्डै आधा जनसङ्ख्या विदेशी नागरिक रहेको अनुमान गरिन्छ ।

बसेल : मर्सरका अनुसार बसेल प्रवासीका लागि पाचौँ महङ्गो शहर हो । जर्मनीसँग सीमा जोडिएको बसेल शहर ज्युरिच र जेनेभापछि स्विट्जरल्याण्डको तेस्रो धेरै जनसङ्ख्या भएको शहर हो । यो शहर रसायन उद्योग र बैंकिङ क्षेत्रको केन्द्रका रुपमा रहेको छ ।

बर्न : बर्न शहर प्रवासीका लागि संसारको छैटौँ महङ्गो शहर हो । अघिल्लो वर्ष यो शहर प्रवासीका लागि महङ्गो शहरको सूचीमा सातौँ स्थानमा रहेको थियो । स्विट्जरल्याण्डको राजधानी मानिने बर्नमा ४२ हजारभन्दा धेरै प्रवासी बस्दै आएका छन् ।

न्यूयोर्क : प्रवासीका लागि संसारको सबैभन्दा महङ्गो शहरको सूचीमा न्यूयोर्क सातौँ स्थानमा आउँछ । अमेरिकाको सबैभन्दा ठूलो शहर न्यूयोर्कलाई विश्व पुँजी बजार, वित्तीय सेवा तथा आर्थिक गतिविधिको केन्द्र नै मानिन्छ । न्यूयोर्कमा ३५ लाखभन्दा धेरै प्रवासीका बसोबास रहेको छ ।

लण्डन : लण्डन प्रवासीका लागि सबैभन्दा महङ्गो शहरको सूचीमा आठौँ स्थानमा परेको छ । बेलायतको राजधानी तथा सबैभन्दा ठूलो शहर अघिल्लो वर्ष यो सूचीमा १७ औँ स्थानमा रहेको थियो । लण्डनलाई पश्चिमी युरोपको वित्तीय केन्द्र मानिन्छ । लण्डनमा ३३ लाख आप्रवासीको बसोबास रहेको छ ।

नसाउ : नसाउ शहर प्रवासीका लागि संसारको नवौँ सबैभन्दा महङ्गो शहर हो । नसाउ क्यारेबियनमा अवस्थित बहामासको राजधानीसमेत हो । यो शहरलाई पर्यटनको केन्द्र नै मानिन्छ ।

लस एन्जल्स : लस एन्जल्स प्रवासीका लागि संसारको सबैभन्दा महङ्गो शहरको दशौँ स्थानमा रहेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको लस एन्जल्स शहरलाई पश्चिम अमेरिकाको आर्थिक केन्द्र मानिन्छ । लस एन्जल्सका झण्डै ४० प्रतिशत जनसङ्ख्या विदेशमा जन्मेको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया