शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं वैशाख १ देखि प्रदर्शनमा आएको कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ आजसम्म पनि सबैभन्दा धेरै शोका साथ प्रदर्शन भइरहेको छ। यसबीच आएका आधा दर्जन बढी फिल्मले ‘केजिएफ २’ को शो तथा दर्शकको चाप घटाउन सकेनन्। बरु ठूला लगानीमा बनेका ती सबै फिल्म केजिएफ कै चपेटामा परे।

हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ शुक्रबार (भोलि) प्रदर्शनमा आउँदैछ। मार्वल कमिक्समा आधारित उक्त सुपर हिरो फिल्मले नेपालमा पनि एउटा तरंग ल्याएको छ। फिल्मले हलमा ६० देखि ८० प्रतिशतसम्म शो पाएको छ। पहिलो २ दिनको प्रि-बुकिङ तीव्र रुपमा भइरहेको छ भने केही शो हाउसफुल भइसकेका छन्।

‘डक्टर स्ट्रेन्ज’का कारण केजिएफ २ ले ५ देखि १० प्रतिशत शो मात्रै पाएको छ भने गत हप्ता नै प्रदर्शनमा आएको नेपाली फिल्म मन्त्र, बलिउड फिल्म हिरोपन्ती र रनवे ३४ हलबाट उत्रिएका छन्। त्यस्तै शुक्रबार नै प्रदर्शनमा आउन लागेका दुई नेपाली फिल्म ‘लक्का जवान’ र ‘षटकोण’ले अत्यन्त न्यून शो पाएका छन्।

साम रेइमीको निर्देशनमा बनेको ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’को क्रेज विश्वभरि नै छ। फिल्ममा बेनेडिक्ट कम्बरब्याच केन्द्रीय भूमिकामा देखिएका छन् भने एलिजाबेथ ओल्सेन, सोचिल गोमेज, बेनेडिक्ट वङ, माइकल स्टलवर्ग लगायतका कलाकारको अभिनय रहेको छ। स्टान लीका पात्रमा आधारित फिल्मलाई माइकल वाल्ड्रनले लेखेका हुन्। यसअघि स्पाइडर म्यान ट्राइलोजी निर्देशन गरेका साम रेइमी ९ वर्षपछि निर्देशनमा फर्किएका हुन्।

मल्टिभर्स अफ म्याडनेस डक्टर स्ट्रेन्ज सिरिजको दोस्रो फिल्म हो। यसअघि २०१६ मा स्कट डेरिक्सनको निर्देशनमा ‘डक्टर स्ट्रेन्ज’ प्रदर्शनमा आएको थियो। फिल्मले व्यावसायिक रुपमा राम्रो प्रदर्शन गरेको थियो भने समीक्षकले पनि फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका थिए।

 

तपाईको प्रतिक्रिया