शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

केही समय अगाडी मैले एक जना जापनिज कम्पनीले सञ्चालन गरेको नेपाली रेस्टुरेन्टमा एक जना नेपाली/इन्डियन कुक आवश्यक परेकोले मेरो फेसबुक मार्फत जानकारी राखेको थिए । लगत्तै धेरैको फोन आए । २ लाख ४० हजार मासिक तलब थियो । ८ घण्टा काम, हप्ताको एक दिन बिदा, अन्य धेरै सुविधा । धेरैले पत्याएनन् । पत्याउने कुरा पनि भएन किन कि जापानमा नेपालीले सञ्चालन गरेका अधिकांश रेस्टुरेन्टहरुमा यो सरहका सुविधाहरू छैनन् । जति तलब भनेर कुक भिसामा जापान आएका छन्, थोरैले मात्र तोकिएको तलब पाउने गर्छन् ।

पछिल्लो तथ्याङ्क अनुसार जापानमा बसोबास गर्दै आएका नेपालीहरूको सङ्ख्या ९७ हजार १ सय ९ रहेको जापान सरकारको हालैको प्रतिवेदनमा उल्लेख छ । जापानमा यस वर्षको अलग-अलग पेसाको तथ्याङ्क आइनसके पनि गत वर्षको तथ्याङ्क अनुसार पारिवारिक भिसामा अन्य मुलुकको भन्दा सहज भएकोले हुन सक्छ डिपेन्डेन्ट बसोबास सङ्ख्या सबैभन्दा बढी अर्थात् ३१ हजार ९ सय १३ रहेका छन् । त्यसैगरी नेपाली विद्यार्थीको सङ्ख्या १८ हजार ४ सय ५९ रहेको छ । त्यस्तै इन्टरनेशनल सर्भिसमा रोजगारी गर्नेको सङ्ख्या १७ हजार ९ सय ९७ र दक्ष जनशक्ति कुकलगायको सङ्ख्या १५ हजार ७ सय ८० रहेको तथ्याङ्क छ । स्थायी रूपमा जापानमा बसोबास गर्ने नेपालीको सङ्ख्या ५ हजार ४ सय २३, बिशेष काम गर्ने (तोकुतेइ काचुदोउ) मा ५ हजार २२, जापानी नागरिकको पति वा पत्नी १ हजार ९५, लामो अवधिको बसाई (तेइजिउ) ८ सय ९३, प्रशिक्षार्थी कामदारमा ४ सय ४१ र विशेष स्थायी बसोबास ३ जना रहेका छन् ।

जापानमा १६ हजारको हाराहारीमा रहेका नेपाली कुकको अवस्था भने दयनीय छ । जापनिजहरूले नेपाली कुकलाई सम्मान गरे पनि नेपालीहरुबाट नै अपहेलित हुन परेको कुकहरुको गुनासो बेला-बेलामा आउने गरेका छन् ।

जापानमा १६ हजारको हाराहारीमा रहेका नेपाली कुकको अवस्था भने दयनीय छ । जापनिजहरूले नेपाली कुकलाई सम्मान गरे पनि नेपालीहरुबाट नै अपहेलित हुन परेको कुकहरुको गुनासो बेला-बेलामा आउने गरेका छन् । म जापान आएको केही समयमा एउटा नेपालीहरूको कार्यक्रममा जाने अवसर प्राप्त भयो । त्यहाँ परिचयको कार्यक्रम चल्दै थियो, त्यतिकैमा एक जना महाशय आएर मलाई सोधे, तपाई पनि बाह्र लाखे हो ? म अकमक्क परे । पछि थाहा भयो, उनले मलाई बाह्र लाख तिरेर जापान आएको हो भन्न खोजेका रहेछन् । उनी आफै भन्दैथिए, के गर्नु रेस्टुरेन्ट खोल्यो चल्दैन । नेपालबाट ल्याइएका कुकबाट बाह्र लाख नपाउने भने त बिजोक नै हुन्छ । उनको भनाइबाट जापान आउने बित्तिकै मलाई जापानमा नेपाली रेस्टुरेन्ट व्यवसायीको अवस्था बुझ्न गाह्रो परेन । अहिले पनि जापानमा नेपाली रेस्टुरेन्ट व्यवसायीको अवस्था उस्तै छ । राम्रोसँग चलेका नेपाली बाह्र रेस्टुरेन्टहरु यहाँ औँलामा गन्न सकिन्छ । यति बेला जापानमा कोरोना सङ्क्रमण बढेका कारण रेस्टुरेन्टलाई जापान सरकारले दिएको राहत एवं अनुदानले धेरै रेस्टुरेन्ट लगेका छन् । राहत रकम दिन बन्द भएको केही समय पछि धेरै रेस्टुरेन्ट बन्दको अवस्थामा पुग्ने छन् ।

जापानमा रहर-रहरले नै धेरैले रेस्टुरेन्ट खोलेका छन् । उनीहरू लाई रेस्टुरेन्ट सञ्चालन सम्बन्धी सामान्य ज्ञान समेत छैन । हरेक काम गर्न जापानमा यहाँको भाषाको अत्यन्त जरुरी पर्छ । जो कम नेपालीसँग मात्र हुने गर्छ । अझै धेरैले अकैको नाममा आफूले लगानी गरेर रेस्टुरेन्ट चलाई रहेका हुन्छन् । रेस्टुरेन्टमा कार्यरत कर्मचारीकोको भिसा नवीकरण गर्न, आएका राहत लिन , हिसाब किताब दुरुस्त राख्नलगायत धेरै काममा रेस्टुरेन्टको जसको नाममा रहेको छ (ओनर) को हस्ताक्षर/छाप आवश्यक पर्छ । तर त्यही हस्ताक्षर गर्ने बेला विभिन्न बहानामा नाम दिने (ओनर )ले लट्काई दुःख दिएका धेरै घटनाहरू सार्वजनिक भई रहेका छन् ।

जापानमा रेस्टुरेन्ट नचलेपछि त्यहाँ काम गर्ने कुकले भनेको तलब पाउने कुरै भएन । जापानमा जुन कामको लागी भनेर आइएको छ, त्यो भन्दा अर्को काम गरेका इलिगल हुने गर्छ । तर पनि कतिपय कुकहरूले इलिगल भएपनि बाहिरै काम गर्ने र भिसा नवीकरण गर्दा नचलेका रेस्टुरेन्टबाट रकम बुझाएर भिसा नवीकरण गर्ने गरेको पाइएकोले बेला-बेलामा समातिएर सजाय भोग्दै नेपाल फर्किएका धेरै घटनाहरू छन् ।

खास गरी कुक भिसामा आउनेहरू धेरैले अन्यत्र काम गर्ने गरेका घटनाहरू बढेपछि केही वर्षयता नेपालबाट कुक भिसामा आवेदन दिनेहरूले भिसा पाउन निकै कठिन हुन थालेको छ । कुक भिसा अनि जापानमा व्यवसाय गरेका नेपालीहरू सोचे जस्तो जापानमा नभएपछि नैराश्य उत्पन्न भई आत्महत्या गर्ने क्रम पनि बढेको छ । जुन सारै दुःखद हो ।

जापानको नागोयाको हिराबारीमा एक नेपाली इन्डियन रेस्टुरेन्टबाट रकम लिएर कुक भिसा रिन्यु गर्ने गरेको तर काम भने अर्कै कम्पनीमा गरेको भेटिएपछि रेस्टुरेन्ट मालिक र कुक भिसाका ती व्यक्ति दुवै जना जापनिज प्रहरीको फन्दामा परेको घटना सेलाउन नपाउँदै अर्को घटना सार्वजनिक भएको थियो । अर्को घटनामा रेस्टुरेन्टमा भिसा निकाली अन्य क्षेत्रमा काम गर्ने गरेका ६ जना नेपालीलाई नेपाल फर्काइएको थियो । अध्यागमन विभागले उनीहरूको भिसा भएको रेस्टुरेन्ट छापा मारी छानबिन गर्दा, उनीहरूले काम गर्ने भनिएका केही रेस्टुरेन्ट बन्द भइसकेका थिए भने बन्द नभएका रेस्टुरेन्टहरूमा पनि उनीहरू कहिल्यै नगएको भेटिएको बताइएको थियो । साईतामा केनको एक उद्योगमा काम गर्ने गरेका उनीहरू नक्कली कुक बनेर जापान आएको र कुक भिसामा नै काम गर्दा पैसा थोरै हुने साथै बाहिर काम गर्दा धेरै आम्दानी गर्न सकिने भन्दै तोकिएको क्षेत्रभन्दा बाहिर काम गर्ने गरेको खुल्न आएको बताइएको थियो । रिपोर्टमा भनिए अनुसार, दलालीहरूले कम्पनीको नक्कली छाप बनाएर भिसा आवेदन दिने गरेको समेत भेटिएको थियो ।

जापानमा तोकिएको क्षेत्रभन्दा अन्यत्र काम गर्नेहरूमाथि विगतदेखि नै कडा निगरानी हुँदै आएको छ । खास गरी कुक भिसामा (दक्ष कामदार)आउनेहरू धेरैले अन्यत्र काम गर्ने गरेका घटनाहरू बढेपछि केही वर्षयता नेपालबाट कुक भिसामा आवेदन दिनेहरूले भिसा पाउन निकै कठिन हुन थालेको छ । कुक भिसा अनि जापानमा व्यवसाय गरेका नेपालीहरू सोचे जस्तो जापानमा नभएपछि नैराश्य उत्पन्न भई आत्महत्या गर्ने क्रम पनि बढेको छ । जुन सारै दुःखद हो ।

त्यसैले जापानमा कुक भिसामा आउँदा पूर्ण दक्ष भएर मात्र आऊ, दुःख पाइँदैन । सीप भएमात्र उचित पारिश्रमिक पाउने हो । र रेस्टुरेन्टको मालिक बन्नेले पनि रहर-रहरले होइन, हरेक दृष्टिकोणबाट सक्षम भएपछि मात्र मालिक बनौँ । अन्नेथा अरूले घोडा चढ्‌यो भन्दैमा आफूले धुरी चढे झैँ मात्र हुन्छ।

  • (लेखक न्यौपाने नेपाल पत्रकार महासंघ, जापान शाखाका संस्थापक सदस्य एवं वर्तमान सल्लाहकार हुन् ।) 
तपाईको प्रतिक्रिया