शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – भारतको राजधानी दिल्लीमा गत महिना विगत छ वर्षयता सबैभन्दा प्रदूषित नोभेम्बर महिना बनेको छ । नोभेम्बरका ११ दिन दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको थियो जुन सन् २०१६ को नोभेम्बरको १० दिनभन्दा बढी हो ।

तथ्याङ्कले नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको देखाएको छ । विज्ञहरूले नजिकका राज्यहरूमा खेतमा पराल जलाउँदा र दिपावालीका कारण नोभेम्बरमा वायु प्रदूषण उच्च भएको बताउँछन् । भारतमा सन् २०१५ देखि मात्रै वायु प्रदूषण मापन गर्न सुरु गरिएको हो ।

लम्बिएको मनसुनले पराल बाल्ने कार्यलाई नोभेम्बरमा धकेलेको कारण वायु प्रदूषण बढेको वायु स्तर मापन एजेन्सीका डा. गुफ्रान वेगले स्थानीय सञ्चारमाध्यमलाई बताए । ‘गएका वर्षहरूमा भन्दा यो वर्ष नोभेम्बरमा धेरै वायु प्रदूषण देखिनुका कारण यिनै हुन्,’ उनले बताए ।

नासाको भूउपग्रह तथ्याङ्कले पन्जाब, हरियाणा र उत्तर प्रदेशमा अक्टोबर १ देखि नोभेम्बर २८ सम्म ९०,९८४ स्थानमा परालमा आगो लगाइएको देखाउँछ । काउन्सिल अफ इनर्जी, एन्भार्नमेन्ट एन्ड वाटरका अनुसार यो विगत पाँच वर्षको तुलनामा उच्च सङ्ख्या हो । दिपावालीको दिन प्रतिबन्धलाई अटेर गर्दै दिल्लीवासीले पटाकाहरू बाल्दा त्यसको भोलिपल्ट त्यहाँको वायु प्रदूषण उच्च स्तरमा पुगेको थियो ।

प्रत्येक वर्ष वायु प्रदूषणका लागि जिम्मेवार गहुँ खेतीका लागि खेत तयार गर्न खेतमै पराल बाल्ने कार्य पनि प्रतिबन्धित छ तर यसलाई कडाइका साथ लागु गरिएको छैन । किसान आन्दोलनका कारण सङ्घीय सरकार पराल बाल्ने कार्यमाथि प्रतिबन्ध हटाउन सहमत भएपछि यो समस्या आउने वर्षहरूमा अझ नराम्रो हुने सङ्केत देखिएको छ ।

दिल्लीमा पीएम २.५ भनिने प्रदूषकको स्तर विश्व स्वास्थ्य सङ्गठनले सुरक्षित भनी तोकेकोभन्दा निकै माथि छ । हालै भारतमा गरिएको एक अध्ययनले बालबालिकालाई वायु प्रदूषणका कारण मोटोपन हुनसक्ने र त्यसले श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा पार्ने देखाएको छ ।

तपाईको प्रतिक्रिया