सालिक फेरियो, मालिक फेरिएन

भगवान विष्णु र देवराज इन्द्रबीच मर्यादाको विषयलाई लिएर संघर्ष चल्यो । कुरैकुरामा उत्तेजित इन्द्रले १२ वर्षसम्म पृथ्वीमा एक थोपा पानी बर्सन नदिने घोषणा गरे । इन्द्रको विश्वास थियो- ‘पृथ्वीबासीको रक्षाका लागि सम्पूर्ण देवगण मेरो शरणमा आउने छन् ।’ यही सोचेर उनले मेघलाई वर्षा नगराउने आदेश दिए । तत्काल वर्षा रोकियो । वर्षा रोकिएपछि मानव लोकमा कोकोहोलो मच्चिएला भन्ने इन्द्रको विश्वास थियो । तर किसानले सोचे- ‘यदि एकदशक हामीले आफ्नो कर्तव्य बिर्सियौं भने सन्ततिले कर्मको बाटो विर्सन सक्छन् ।’ उनीहरु तत्काल खेत जोत्न थाले । खडेरीमा किसानले खेत जोतेको देखेर भ्यागुतोले आश्चर्य प्रकट गर्‍यो । किसानले उसलाई पनि आफ्नो कर्ममा लीन हुन सम्झायो । भ्यागुतोले पनि सोच्यो- ‘यदि मैले पानी नआएको निहुँमा टर्टराउन बिर्सिएँ भने त्यो मेरो धर्म विपरित हुन्छ ।’ उ पनि घोक्रो तानी तानी टर्टराउन थाल्यो । भ्यागुतो टर्टराएको सुनेर आश्चर्यचकित हुँदै मयुरले अनर्थको काम नगर्न सल्लाह दियो । भ्यागुतोले मयूरलाई सम्झायो- ‘भाइ, हाम्रो अधिकार भनेको कर्म गर्नु हो । कर्म गरेपछि फल नपाइने कुरै छैन ।’ मयुर पनि विन्दास ढंगले पखेटा फिँजाएर नाच्न थाल्यो ।
आफ्नो आदेश कार्यान्वयन भएको हेर्न इन्द्र पृथ्वीमा झरे । उनका आँखा कोलाहल हेर्न लालायित थिए । तर आश्चर्य सवै आफ्नो काममा निर्लिप्त देखेर इन्द्रको होस हवास उड्यो । उनले व्यर्थको मेहनत नगर्न किसानलाई आग्रह गर्दा उल्टो किसानले थर्काए- ‘तपाईं आफ्नो काम गर्न नगर्न स्वतन्त्र हुनुहुन्छ तर हामीलाई हाम्रो कार्म गर्न दिनुस् । किनकी कर्म नै धर्म हो ।’ किसानको भनाइले इन्द्रको आँखा खुल्यो । उनलाई लाग्यो- ‘आज जुन देवराज इन्द्रको पद मैले पाएको छु, त्यो मेरो कर्मका खातिर हो । यदि कर्मबाट च्यूत भएँ भने संसारले गर्ने आदर सम्मानबाट म वञ्चित हुन्छु । बद्नामी बाहेक मेरो हात केही लाग्ने छैन ।’ उनले तत्काल मेघलाई पानी बर्षाउन आज्ञा दिएर गल्तीको प्रायश्चित गर्दै स्वर्गलोक फर्किए ।
आफूलाई नेपाल धर्तीका इन्द्र सम्झिने केपी, पिके, माधव, शेरबहादुर, रामचन्द्र मिलेनन् भने के हुन्छ ? उनीहरुको आफ्नै पखेटा काटिने बाहेक केही हुँदैन । देशको राजश्व र देवश्व मास्नु हुन्न भन्ने प्रज्ञा र चेतना यिनीहरुमा शून्य छ । तीन करोड जनताको व्यवस्थापनमा यिनीहरु पटक पटक असफल सावित भइसकेका छन् । लाज लुगामा नभएर नियतमा हुन्छ । यो पृथ्वीमा मानिस आउने जाने, उत्थान, पतन सबै कर्मअनुसारका स्वभाविक फल हुन् । सारा नेपालीले आफ्ना बाउबाजेसंगै तर्पण दिने राजा वीरेन्द्रको वंश नासपछि अस्वभाविक बाटैबाट भएपनि अर्को राजा आएर त्यो ठाउँ पूर्ति गरेकै हुन् । राजा नभएर सिंहासन खाली भएन । जतिसुकै रोए कराए पनि कुनै एक व्यक्ति राजपरिवारसंग सति गएको सुनिएन । पद्दति हैन राजा खसी पारेर राजनीतिमा अनवरत जागिर खाएका पञ्च बहुदलमा बसाईं सरेर राजावादी र बहुदलवादी दुवै पसलमा आफूलाई बिकाए ।
पत्रकारको भेषमा उदाएका पात्र रमेशनाथ पाण्डेले राजा महेन्द्र, बीपी, जीपी हुँदै प्रचण्डसम्मको सूत्रधार हुन भ्याए । दुई तिहाइ सरकार हुँदा बीपीका पिलर भनिएकाहरु उनैलाई ‘कू’ गर्ने रणनीतिका मतियार बने । माओवादी महाभारतमा प्रचण्डलाई गणेश भएर मन, वचन र कर्मणा सघाएका बाबुराम भट्टराई आफ्नो विगतप्रति पश्चातापको प्रलाप गरिरहेका छन् । सिद्धान्त, जेल, संघर्ष नभएर अबको सम्बन्ध धन्दाले निर्धारित गर्छ । शहीद, बेपत्ता परिवार, लडाकू, घाइते भनेका प्रचण्डको राजनीतिक म्यारिज खेलका ‘माल’ हुन् । जुन सरकार आए पनि प्रचण्ड यिनै तूरुप लिएर आर्जनको मोलमोलाइ गर्न भ्याउँछन् । बीपी कोइराला, मदन भण्डारी देउरालीका ढुंगा हुन् । यिनको माथमा अविर छरेर एक फन्का लगाएपछि जति अपराध गरे पनि उसले मुक्ति पाउँछ । कुनै पनि पार्टीको लोकप्रियताले नभएर चुनावका दिन पाक्ने पकवान र चुनाव खर्चको चाँजोपाँजोमा ‘भाले’ हुने हुन् । चुनावको टिकट लिलाम बढाबढ नै हो । सबै राजनीतिक दलका मुखियाले यो सत्य घाँटीघाँटीसम्म बुझेका छन् । वर्षको सय, पचास करोडको आम्दानी नगर्ने व्यक्ति प्रमुख राजनीतिक दलको मुखिया हुने सपनामा पनि नसोचे हुन्छ ।
कोभिडको महामारीपछि त नेपालका हेडसरहरुको अवस्था बिग्रेको घडीको सुईजस्तो भएको छ । घडीको सुई पनि आफ्नो आदेशविना नचल्ने भ्रम पालेका नेताहरु यत्रो महामारीमा जोकर बन्दै गएका छन् । म्याग्दीमा सारंगी पेट पारेर नेपालीलाई जनकपुर घर भएको परदेशीले हातमुख जोर्ने प्रबन्ध मिलाइदिन्छ । गलैंचा बेच्दाबेच्दै झापामा अलपत्र परेको जुम्ली दाइलाई झापाली भाइले महिनौं हार्दिकतापूर्वक पाल्छ । दिल्लीबाट घर आउँदा आउँदै गड्डाचौकीमा अलपत्र परेको झापाली सुदूरपश्चिमको आतिथ्यतामा महिनौं आसन जमाउँछ । परिवारको आस बचाउन खाडीमा जाने नेपालीले उल्टो लाखौंको अक्सिजन सास पठाउँदा बाकस गन्न पल्केकाहरु चित खान्छन् । सरकारबाहेक नेपाली रगतको अर्को महासरकार छ भन्ने भेउ तिनीहरुलाई छैन । मुलुक लकडाउनमा पर्दा भोको पेट र नाङ्गो आङ ढाकिदिन नयाँपुस्ता डटेर लागेका छन् । काठमाडौंका ठाउँठाउँमा युवा स्वयंसेवक खटेका छन् । सरकारमा बसेकाहरुले दाउराको जोहो गर्न आदेश दिइरहँदा परदेशमा रहेका नेपालीहरुमा देश दुखेको छ । आफन्त ओछ्यान पर्दा न साथ, न काँध हुँदाको पीडाले उनीहरु बाँचेर मरिरहेका छन् । झन् सामाजिक सञ्जालले टुक्रिएको कलेजोमा नूनचुक छर्छ । काल्पनिक हिन्दी सिनेमामा समेत देख्न नपाइने दृश्य नेपालीको नियति भएको छ । अरु देशमा सरकारमा रहेका मानिसले भनेको मान्यो भने जनताको कल्याण हुन्छ । यहाँ उनीहरुले भनेको भन्दा ठीक उल्टो बाटोमा लागे मात्र सास अल्झिन्छ । विदेशबाट अनुदानमा आएको स्वास्थ्य सामग्री थाहै नपाई पजनी हुन्छ । सरकार भनेको छलकपटको पुलिन्दा हो भन्ने सत्य सबैका घाँटीघाँटीमा छ । सरकारले सिलिण्डर पर्याप्त छ भनेका दिन सिलिण्डर नपाएर विरामीको मृत्यु भएको तथ्यांक सार्वजनिक हुन्छ । आधा वर्षलाई पुग्ने खाद्यसामग्री जोहो छ भनेर सरकारी पदाधिकारीले भनेको भोलिपल्ट बजारमा कालाबजारीको बर्चस्व हुन्छ । सिंहदरबारदेखि ब्रम्हनालको दाउरासम्म कमिशनको जालो छ । उपचारमा मात्र हैन, खरानी हुन पनि सोर्स लगाउनुपर्ने अवस्था छ । यी सबै भोग्दाभोग्दै पनि समृद्धिको बेसुरा राग सुन्नु परेको छ ।
भनिन्छ- सबैभन्दा सत्य कहानी भट्टीले सुनेको हुन्छ भने भने झूठो प्रलापको साक्षी अदालत बन्ने गर्छ । न्यायमूर्तिहरु कानले हेर्छन । जब आँखाले हेर्नेहरुको आतंक बढ्छ, तब कानले हेर्नेहरु चनाखो हुन्छन् । को ठीक, को बेठीकको बहस आफ्ना ठाउँमा छ । तर सत्य चाहिँ के हो भने जब झण्डेहरुको बाक्लो उपस्थितिले कार्यपालिका र न्यायपालिकाबीच अन्तर भेटिन्न तब न्याय लिलामको वस्तु बन्छ । न्याय हराएको मुलुकमा चल्ने भनेको धनवाद, डनवाद नै हो । बिन लादेन र सद्दाम हुसेन अमेरिकाको पालनपोषणमा हुर्किएका पात्र थिए । कालान्तरमा तिनै पात्रको टाउको दुखाईबाट आजित अमेरिकाले साम, दाम, दण्ड भेदको बाजी राखेर सिध्याउनु पर्‍यो । यो त टेलर मात्र हो, भागवण्डाको राजनीति नसच्चिने हो भने कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको रत्यौलीले न्याय मर्नेछ । त्यसमाथि गरिबको आवाज बोल्ने मिडियाको चरित्र एकछिन सामाजिक सञ्जालमा हेर्दा ऐना हुन्छ ।
गौरवपूर्ण न्यायालयले उत्ताउलो राजनीतिक नेतृत्वलाई लगाम लगाएका संसारमा थुप्रै उदाहरण छन् । छिमेकी मुलुक भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तानी सेनाका एक लाख जतिलाई बन्दी बनाइन् । पाकिस्तान टुक्राएर दुई स्वतन्त्र देश बनाइन् । सिक्किमलाई भारतमा बिलय गरिन् । दक्षिण एशियाका कुनै शासक उनलाई आँखा उठाएर हेर्न सक्दैनथे । अटलविहारी बाजपेयीले त गान्धीलाई ‘रणचण्डी’ उपाधि दिए । धाँधली र सरकारी बलको प्रयोग गरी उनले पश्चिम बंगालको चुनावमा सीपीएम पार्टीलाई चुनाव बहिष्कारका लागि बाध्य पारिन् । त्यसपछि कांग्रेसको एकलौटी शासन चलाइन् । तर जगमोहनलाल नामका न्यायाधीशले इन्दिरा गान्धीले गराएको चुनाव कानुनी खिलाफ भएको भन्दै बदरको घोषणा गरिदिए । यो फैसलाले सम्पूर्ण भारत हल्लियो । एउटा न्यायाधीशको फैसलाले सर्वशक्तिमान इन्दिरा गान्धीले शक्ति र सत्ताबाट हात धुनुपर्‍यो । करोडौंकी ‘राजमाता’ भनिएकी गान्धी चुनावमा नराम्रोसंग पछारिइन । जब ‘म नै राज्य हुँ’ भन्ने लुइस चौधौंको अहं अरुमा रुपान्तरण हुन्छ, तब यस्ता घटना स्वभाविक बन्दै जान्छन् ।
जनता पाखुरी बजार्ने काममा अग्रसर भएको भए यो देशका नेता उहिल्यै सन्यासी हुन्थे । कोरोनाले महाविकट आउँदा समेत नेपालीको चरित्र बीसको उन्नाइस भएन । सिंहदरबारको कुर्सीमा आसिन शासकभन्दा सिंहदरबार भजाउने दलालहरु शक्तिशाली बन्दै गए । देशका विषय विज्ञहरु आफ्नो विषयमा कम अरु विषयमा बढी चतुर भएर निस्कन थाले । कालो कोट लगाउने वकिलहरु वकालतभन्दा जग्गा बेचबिखनको धन्दामा जमे । पत्रकारको कलम लेखाइमा थोरै, दाइहरुलाई सल्लाह दिन धेरै विक्न थाल्यो । सम्पत्तिका नाममा जसको एउटा चिउरा मिल नभएकाहरु निजीक्षेत्रका नेता दरिए । राजनीतिको पहिलो खुड्किलोमै पछारिएकाहरु मानवअधिकारवादी र नागरिक समाजका प्रतिनिधिको अवतारमा अनुवाद भए । जिन्दगीमा जसले एउटा पुस्तक सग्लो पढेको छैन, तिनीहरु देशलाई काम नलाग्ने डाक्टरको पदवी बोकी स्वघोषित बुद्धिजीवी भएर सहर पसे । बैंकहरुले कालोसूचिमा नाम डामेकाहरु खुल्ला अर्थतन्त्रका मतियार भए । सिंहदरबार यस्तो ७७ औं जिल्ला प्रमाणित भएको छ, जहाँ पस्दा मै हुँ भन्ने माइकलाल पनि फर्किदा रुझेको विरालो बन्दै निस्किएका छन् ।
कृष्णलाल अधिकारी मकैको खेती पुस्तक लेखेको अभियोगमा मारिए । आज पनि मकैमा खुम्ले लाग्छ । विज्ञले त्यसको ओखती बताउँछन् । तर सत्ता र शक्तिबाट अन्धो मानिस कति भयभीत हुँदोरहेछ भने खुम्ले र आफूमा अन्तर देख्दोरहेनछ । कृष्णलाल मारिएपनि उनको लेखनी सत्यबाट डगमगाएको छैन । मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ- …. सरकारले आफ्ना देशका कुकुरहरु भन्दा विदेशी कुकुरहरुको बढ्ता मान गर्छ तर चोर डाकाहरुबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुरहरु काम लाग्दैनन् । स्वदेशी कुकुरहरु नै काम लाग्छन् ।’
पूरा विश्व ढुकुर मार्ने बन्दुकमा भर परिरहेका बेला मेसिन गन बनाउने गेहेन्द्रशम्शेरको उत्साहले निरन्तरता पाएको भए, चीनको इच्छाशक्ति जापानसम्म पुर्‍याएर युद्धविराम गराइदिएकोमा टंकप्रसाद आचार्यलाई नोबेल शान्ति पुरस्कार र लक्ष्मीप्रसाद देवकोटालाई नोबेल साहित्य पुरस्कार प्रदान गरिसकिएको हुने थियो । ती सुखद दिनको प्रारम्भ भइदिएको भए आज नेपाली शिष्ट, सभ्य, सुसंस्कृत नेपालका समृद्ध नागरिक बन्ने थिए । राज्य भनेको एउटा त्यस्तो अकाट्य शक्ति हो, जसले अहिले मात्र हैन, २० वर्षपछि जन्मिनेहरुको पनि भविष्य सुरक्षित गरिदिनु पर्छ ।***
sanketkoirala07@gmail.com

 

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित