आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आफु बाँचेको समयमा तुलनात्मकरुपमा धेरैथोक भोग्दै आएको अहिलेको पुस्ताले यो वर्ष लाग्दैगर्दा एकपछि अर्को अकल्पनीय घटना भोग्न परिरहेको छ । अघिल्लो वर्षको अन्त्यसंगै चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीले विश्वलाई नै गाँजिरहेको सन्दर्भमा जन्मभूमि नेपाल र कर्मभूमि जापान पनि अछुट रहेनन् । घरदेशको पिरलोसंगै परदेशको दिनचर्या कोरोनाको कहरसंग बित्न थालेको पनि महिनौ भईसकेको छ । तथापि आगामी दिनहरु के कस्ता हुनेहुन् सहजै आंकलन गर्न सकिने अवस्था भने अझै छैन । उता घरदेशतर्फ परिस्थिति थप भयावह बन्ने हो कि भन्ने चिन्ता बढ्न थालेका छन् ।

ठीक यति नै बेला नेपाल र भारतबीचको सयौं वर्षदेखि थाँती रहेको पुरानो सीमा विवाद उत्कर्षमा पुगेको छ । सन् १८१६ को सुगौली सन्धीअनुसार नेपालको भूमि मानिएको लिम्पियाधुरा, लिपु लेक र कालापानी क्षेत्रमा छिमेकी राष्ट्र भारतले सडक बिस्तार गरेलगत्तै नेपालले सो क्षेत्रलाई आफ्नो भूभागमा राखेर नक्सा प्रकाशित गरेपछि यो बहस थप पेचिलो बन्न पुगेको हो । दुई देशबीच कूटनैतिक वार्ताको माध्यमबाट यो समस्याको हल गर्नुको विकल्प छैन । सोहीअनुसार उपयुक्त समयमा वार्ताका लागि तयार रहेको भारतले बताउँदै आएको छ । त्यसका लागि नेपालले पर्याप्त मात्रामा गृहकार्य गरी उपलब्ध सबै प्रमाण तथा दस्तावेजहरु संकलन गरी वार्ताको वातावरण बनाउन ढिला गर्नुहुँदैन । बिषयले प्रवेश पाएको बेलामा नेपालले भारतलाई वार्तामा आउने वातावरण बनाउन हदैसम्मको लचकता देखाउनुपर्दछ । नागरिक समाज होस् या मिडिया क्षेत्रले एकले अर्कोलाई भावनामा ठेस पुग्नेगरी तल्लोस्तरको भाषामा गालीगलौज, बिरोध प्रदर्शन र पुत्लादहन जस्ता क्रियाकलाप गरिनु हुँदैन । यसरी समस्याको समाधान कदापि हुन सक्दैन । संसारमा अन्त कहींकतै पनि नभएको विशेष खालको सम्बन्ध नेपाल र भारतबीच रहीआएको छ । त्यस कारण पनि वार्ताको टेबुलभन्दा दायाँबायाँ सोच्नै नसकिने अवस्था नेपाल र भारतसंग जो छ । जुन कुरा यी दुवै देशले राम्रोसंग बुझेका छन् र अझै गहिरोसंग बुझ्न जरुरी छ ।

कोभिड-१९ संग लडिरहेको बेला नेपाल आज सीमा तनावसंगै एमसीसी (मिलिनियम च्यालेञ्ज कर्पोरेशन) प्रकरण जस्ता भीमकाय चुनौतीको अगाडि उभिएको छ । यी बिषयहरुमा सडकदेखि सदनसम्मका मतहरु विभाजित देखिन्छन् अर्थात आ-आफ्ना स्वार्थसमूह अनुसारका धारणा ब्यक्त भएका पाईन्छन् । गाउँका चौतारा र चियापसलदेखि राजधानीका पाँचतारे होटलसम्म कोरोना, सीमा विवाद र एमसीसीको चर्चा चुलिएकै बेला केही दिन अगाडि रुकुम पश्चिममा अन्तरजातीय प्रेमसंग सम्बन्धित दुखद घटनामा परी ६ जनाको मृत्यु भएको छ । घटनाको निश्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीउपर हदैसम्मको कार्वाही हुनुपर्दछ । तथापि घटनालाई जबरजस्ती जातिय रंग दिएर तोडमोड गर्न खोजिएको देखिन्छ । यसो गरिनु सर्बथा गलत छ । घटनामा परी ज्यान गुमाएका पात्रहरु एउटै समुदायको नभएर फरक फरक समुदायको प्रतिनिधित्व गर्ने हुनुले पनि जातिय विभेदको गुञ्जायस नरहेको सहजै अनुमान गर्न सकिन्छ । दुखद घटना घटिसकेपछि पब्लिक सेन्टिमेन्ट आफुतिर खिच्नका लागि वा राजनीतिको रोटी सेक्नका लागि यी र यस्ता खालका प्रवृत्ति नेपाली समाजमा हाबी हुँदै आईरहेका छन् ।

यसैगरी विश्वकै शक्तिसम्पन्न र लोकतान्त्रिक राष्ट्र मानिने अमेरिकामा एकजना अश्वेत अमेरिकी नागरिकलाई नियन्त्रणमा लिने क्रममा प्रहरी ज्यादतीका क्रममा हत्या भएको भन्दै अमेरिकाभरि बिरोध प्रदर्शन भईरहेका छन् । रंगभेदका नाममा भईरहेको हिंसात्मक बिरोध प्रदर्शनका कारण अमेरिका अहिले तनावपूर्ण स्थितिबाट गुज्रिरहेको छ भने ६ जनाले ज्यान गुमाईसकेका छन् । उक्त घटनाले अमेरिकी लोकतन्त्र र मानव अधिकारको अवस्थाबारे विश्व समुदायलाई नै चकित बनाएको छ । कोरोनाको महामारीलाई उपयुक्त ढंगले नियन्त्रण गर्न नसकेको आरोप खेप्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्प शासनको उत्तरार्धमा अमेरिकाभरि भड्किएको पछिल्लो हिंसात्मक प्रदर्शनले समसामयिक विश्व राजनीतिमा धेरै ठूलो अर्थ राख्ने अड्कलबाजी गर्न थालिएको छ ।***

तपाईको प्रतिक्रिया