आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

कोरोना महामारीले गाँजेको वर्तमान विश्वको मानव समुदाय अहिले त्राही त्राहीको अवस्थामा गुज्रदों छ । भूगोल, भाषा, शक्तिसम्पन्न, विपन्न, साना, ठूला कुनै भेदभाव नराखी कोरोनाको महामारीले गिजोलेको आजको विश्वमा सम्बन्धित देशका सरकारहरुले संभवभएसम्मका सबै उपायहरु अवलम्बन गर्दै आईरहेका छन् । ’फु मन्तर’ को शैलीमा निर्मुल नै पार्न नसके पनि रोकथामका लागि अहोरात्र खटिरहेको विज्ञान र प्रविधि क्षेत्रले अझै कुनै अपेक्षाकृत परिणाम हासिल गर्न सकेका छैनन् ।

बिकासले बिनाश पनि संगै लिएर आउँछ भनिएजस्तै विश्व एकातिर कोरोना अर्कोतिरको लडाईँमा मानव समुदायले बाजी मार्न त परै जाओस् रोकथामको कुनै ग्रिन सिग्नलसम्म देखा नपर्दा यो महामारीले अझै कस्तो रुप लिने हो भन्ने भयले जनमानसमा अड्डा जमाउन थालिसकेको छ ।

मानव सभ्यताको इतिहास हेर्दा मानवपुर्खा जंगली कन्दमुल, शिकारबाट भोजनको जोहो र पातपतिंगर, रुखको बोक्राबाट आङ् ढाक्ने गरेका थिए । अचेल सामान्य शौचालय पेपरको बजारमा अभावको खल्लीबल्ली मात्रै हुँदा पनि हाहाकार मच्चिने गर्दछ । संकटको बेला अभावमा पनि बाँच्न सक्नुपर्छ र वैकल्पिक जोहोबाट भएपनि निर्बाह गर्न सक्नुपर्छ भन्ने मनोविज्ञान हामीमा छैन । अहिलेको पहिलो प्राथमिकता भनेको कसरी जोगिने भन्ने हुनुपर्छ भन्ने हरेक मानिसमा ज्ञान हुनु जरुरी छ । यो भएन, त्यो भएन, काममा जान बाधा भयो, नेपाल जान पाईएन जस्ता नकारात्मक टिप्पणी गर्नेहरुको जमात हामीकहाँ अझै पनि ठूलै छ । रहरले कसैले पनि देशमा शून्यता थोपर्दैन । विशेष परिस्थितिले निम्त्याएको असहज एवं विषम घडिमा राज्य र नागरिक एक ठाउँमा उभिएर संकटको सामना गर्न सक्नुपर्दछ । नेपाली समुदायमा नकरात्मकताको मात्रा तुलनात्मकरुपमा बढि हुनुको कारण के होला भन्ने एक अनुसन्धानको बिषय होला, तर सामान्य हिसाबले हर्दा हाम्रो स्कुलिङ, अनुशासनको दायरा, हाम्रो शिक्षा प्रणाली, बुझेर भन्दा नबुझेर हतारमा प्रतिक्रिया दिएर जानकार टोपलिनुपर्ने सँस्कार, आफुलाई जे लाग्यो त्यही सहि हो भन्ने मनोविज्ञान जस्ता तत्वहरु प्रमुख कारक हुन सक्छन् ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका ठूला ठूला कार्यक्रमहरु धमाधम रद्द भईरहेका छन् । एकदेशबाट अर्को देशमा आवागमन बन्द छन् । यो स्थिति कहिलेसम्म भनेर आजको मितिसम्म कसैले भन्न सकिरहेका छैनन् । यसबाट मात्रै प्रष्ट हुन्छ कि स्थिति कति र कुन हदसम्मको भयावह छ भनेर, तर हामी नेपालीहरु भने अझै महामारीलाई हल्कारुपमा लिईरहेको उदाहरण हाम्रै वरिपरि प्रशस्त छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना महामारीबाट दशौं लाखको ज्यान जानसक्ने तर्फ थप खतराको संकेत त्यतिकै हावाको भरमा गरेका छैनन् । सहि समयमा सहि र सत्य सूचना नियमित लिईरहने, आधिकारिक निकायले जारी गरेको मापदण्डको पूर्णरुपमा पालना गर्ने, संयमित भई स्वविवेक प्रयोग गरी स्वनियन्त्रणमा आफुलाई राख्नु अहिलेको समयको आवश्यकता हो ।

जुलाई २४ देखि हुने भनिएको बहुप्रतिक्षित टोकियो ओलम्पिक स्थगन भएको छ । राजधानी टोकियोमा संक्रमितको संख्या बढ्दो छ । यहिक्रम जारी रहे लक-डाउन गरिने टोकियो गभर्नरको भनाई बाहिर आईसकेको छ । विश्वव्यापी रूपमा आएको अहिलेको समस्या समाधानको पहल अप्रिय लाग्न सक्छन् तर कथाले माग गरेमा एउटा औंला काटेर भए पनि हात सुरक्षित राख्नुपर्ने अहिलेको अवस्था हो । समस्या समाधानका उपलब्ध सबै उपाय लागू गर्ने क्रममा अन्तर्राष्ट्रियरुपमै लक-डाउनलाई उपचारको प्राथमिक विधि मानिन्छ। छिटफुट बाहेक यसलाई नेपालमा पहिलोचोटी भए पनि आमनागरिकले सहजरुपमा लिएको पाईएको छ। अब यता जापानमा पनि लक डाउनको अभ्यास तुरुन्तै सुरु हुने संभावना बढेर गएको छ । त्यसलाई पनि सहजै ग्रहण गरी आफ्नो दिनचर्यालाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा नेपाली समुदाय मानसिकरुपमा तयारी अवस्थामा रहन आवश्यक देखिन्छ ।***

तपाईको प्रतिक्रिया