आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ । काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी हुनुभएको हो ।

उहाँले ११ सय ९७ मत प्राप्त गर्नुभयो । गुरुङले भने ५ सय ८४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
१८५४ मध्ये १७८८ मतदाताले मतदान गरेका थिए ।

अध्यक्षमा विजयी भट्टले आफ्नो कार्यकालमा एनआरएन स्थापना कालदेखि सुरु भइ पुरा नभएका एजेण्डाहरुमा काम गर्ने बताउनुभयो । ‘एनआरएनएमा हालसम्म सुरु भएका सबै एजेण्डा अघि बढाउने छु,’ विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिनुहदै उहाँले भन्नुभयो, ‘निर्वाचनमा हारजित स्वभाविक हो । सबै एनआरएनएलाई एकढिक्का बनाई काम गर्ने छु ।’

एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माण, स्मार्ट र एकेडेमी एनआरएन, सामूहिक लगानी लगायत एजेण्डाहरु समेत अघि बढाउने उहाँले बताउनुभयो ।

दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी हुनुभएको छ । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी विजयी हुनुभएको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले बताउनुभयो । उहाँको रञ्जु थापासँग प्रतिस्पर्धा भएको हो ।

महासचिव पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा पुनः डा. बद्रि केसी निर्वाचित हुनुभएको छ । ६ जना उमेदेवारबीच दुुई सचिवका लागि भएको प्रतिस्पर्धामा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी हुनुभएको छ । कोषध्यक्षमा पुनः हिक्मतबहादुर थापा बिजयी हुनुभएको छ ।

सह कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।  महिला संयोजकमा भूमादेवी लिम्बु निर्वाचित हुँदा युवा संयोजकमा सुदन थापा निर्वाचित हुनुभएको छ ।

एशिया प्रशान्त क्षेत्रको क्षेत्रीय संयोजकमा किरणविक्रम थापा (जापान) निर्वाचित हुनुभएको छ भने क्षेत्रीय उप-संयोजक (एशिया प्रशान्त)का लागि पारसमणि पोखरेल (जापान) र विनोद कुँवर (कोरिया) चयन हुनुभएको छ । एशिया प्रशान्त क्षेत्रको क्षेत्रीय महिला उप-संयोजकमा जूनुमाया गुरुङ (कोरिया) निर्विरोध निर्वाचित हुनुभयो भने युवा उप-संयोजक पदमा उम्मेदवारी परेको थिएन ।

अमेरिका क्षेत्रका लागि क्षेत्रीय संयोजक पदमा गौरीराज जोशी (अमेरिका) र उप-संयोजकमा नवीन शेरचन (अमेरिका) निर्वाचित भएका हुनुभएको छ । अमेरिका क्षेत्रीय महिला उप–संयोजकमा संगीता लम्साल शिवाकोटी (अमेरिका) र युवा उप-संयोजकमा डा. वर्षा मोक्तान (अमेरिका) निर्विरोध निर्वाचित हुनुभयो ।

मध्यपूर्व क्षेत्रका लागि संयोजकमा राजेन्द्रकुमार शर्मा (कतार) चुनिए। यो क्षेत्रको दुई क्षेत्रीय उप–संयोजक पदमा गोपालप्रसाद कँडेल (यूएई) र प्रवीण गुरुङ (कतार), महिला उप-संयोजकमा यासयीन बेगम (साउदी अरब) तथा युवा उप-संयोजकमा राजकुमार बस्नेत (बहराइन) निर्विरोध निर्वाचित भयो ।

ओसिनिया क्षेत्रीय संयोजकमा धर्मराज अधिकारी (अष्ट्रेलिया) विजयी हुनुभएको छ । यो क्षेत्रको उप-संयोजकमा ईश्वरचन्द्र कुईँकेल (अष्ट्रेलिया) र लोकनाथ पौडेल (न्युजिल्यान्ड) को बराबर मत आएको छ भने महिला उप-संयोजकमा प्रीति शर्मा (अष्ट्रेलिया) तथा युवा उप-संयोजकमा ऋषिराज आचार्य (अष्ट्रेलिया) विजयी हुनुभएको छ ।

युरोप क्षेत्रीय संयोजक पदमा शिव बरुवाल (बेल्जियम) निर्वाचित हुनुभएको छ । युरोप क्षेत्रका लागि २ उप-संयोजक पदमा गोविन्द गौतम (रसिया) र एकराज गिरी (स्पेन) विजयी हुनुभयो । त्यस्तै, महिला उप-संयोजक पदमा संगीता मरहठ्ठा (बेलायत) र युवा उप–संयोजक पदमा जयकृष्ण ठाकुर (डेनमार्क) निर्विरोध निर्वाचित हुनुभयो ।

अफ्रिका क्षेत्रका सबै पदका आकांक्षीहरू निर्विरोध निर्वाचित हुनुभयो । संयोजकमा सुनिल कार्की (केन्या), उप–संयोजकमा डा. भुवनप्रसाद ढकाल (केन्या) र शिवप्रसाद शर्मा (तान्जिनिया), महिला उप-संयोजकमा मनकला विष्ट थापा (नाइजेरिया) तथा युवा उप-संयोजकमा बाबुराम लुइँटेल शर्मा (मोजाम्बिक) निर्विरोध चयन हुनुभएको हो ।

सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । उक्त समिति भित्र ६ वटा क्षेत्रिय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्यवस्था छ । सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुक गैरआवासीय नेपाली सहभागी भएका थिए ।

एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । संघको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुने गरेको छ ।

तपाईको प्रतिक्रिया