मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

 

म तरूल खन्दै छु आमा
हाडीकोटको घना वनमा
बाख्रा पनि हेर्दैछु आमा
बौसिफूलको पाखामा

तरूल त ठूलै भेटेको छु आमा
तर निकै अप्ठेरोमा
तरूल त मिठो हो आमा
तर दुईढुङ्गाको अन्तरमा

थुप्रै माटो र ढुङ्गा फालें
खन्दा खन्दै थाके आमा
बल्ल २–३ छाक फलेछ
अरू छोड्न मन छैन आमा

मलेया र गुराँसको रूखमा चडेर
पारी बाख्रा पनि हेर्दै छु आमा
खनेको तरूल खास्टोमा बेरेर
घरतिर लिएर आउदैछु आमा

कोदो मकै आँटीमा नहुँदा
२–४ छाक टारौंला आमा
कति खोज्नु बेसाहा गाउँमा
कन्दमुल खाएर बाँचौला आमा

कति कष्ट र पिर हजुरलाई आमा
साँझबिहान के पकाउने चुलोमा
दिनदिनै बढ्दैछन् पेट हाम्रा
के खुवाएर पाल्नुहुन्छ आमा

सधैं तरूल र कन्दमूल खनौ की
गरीबको मुक्तीको लागी लड्न जाउ आमा
सधैं बेसाहारा निरिह बनौ की
राईफल बोकी हिडौ म रनमा आमा

तपाईको प्रतिक्रिया