बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

प्रधानमन्त्री केपी ओलीको नयाँ नयाँ उद्घोषले बेलाबेलामा पत्रपत्रिका तथा सामाजिक सञ्जालहरु तताइरहने गर्दछ । जनताका घरघरमा ग्याँसको पाइप जोडनेदेखि लिएर नेपालमा मुख चुुच्चे रेल कुँदाउने सम्मको उद्घोषले केही समय अगाडि निकै बजार ततायो । अहिले यतिखेर फेरि पानीजहाजको कुराले प्रधानमन्त्री ‘हाइलाइट’मा अाएका छन् । पत्रपत्रिका, कार्यालय, सानातिना जमघट तथा चियापसलहरूमा गफ गर्ने खुराक बनेको छ ।  तत्कालै सम्भव नहुने यस्ता उद्घोषहरूले नेपाली जनताहरु यतिखेर दुई धारमा विभाजित भएका छन् । एक धार प्रधानमन्त्रीले हुनै नसक्के केटाकेटी पाराको काल्पनिक र मनोगढन्ते उद्घोष गर्दछन् भन्ने खालको छ भने अर्को धार बोलिएका कुराहरु पुरा हुन् या नहुन तर सपना देख्नु महत्वपूर्ण कुरा हो भन्ने रहेको छ ।

सरसर्ती हेर्दा विना योजना यो गर्छु र त्यो गर्छु भन्दै हिड्दा ओलीको बोली  एक हदसम्म मनोगढन्तै नै हो । भूकम्प गएको यतिका दिनसम्म त्रिपाल मुनिको बास भएका भूकम्पपीडितहरुलाई प्रतिस्थापन गर्न नसक्नु प्रधानमन्त्री र उनको सरकार हुतिहारा नै हो । कैयौ राहत सामग्री तोकिएको समयमा वितरण गर्न नसक्नु, दातृ राष्ट्रहरुले गरेको सहयोग कुन-कुन विषयमा के कति खर्च गरिंदैछ र पुनर्निमाणको काम कहाँ सम्म पुग्यो भन्ने कुनै मापन गर्ने अवस्थामा नै छैन । तर त्यसो भन्दैमा पुरा होस या नहोस् तर देशले विकासमा छलाङ मारेको सपना देख्न र देखाउन देशको प्रधानमन्त्रीले मात्र नभई सर्वसाधारणले समेत पाउनै पर्छ । अझ अर्को महत्वपूर्ण कुरा भनेको बोली अनुसारको कार्य थालनी र सम्पादनको लागि के कति काम अगाडि बढाइँदैछ भन्नेसँग सम्बन्ध रहन्छ । प्रधानमन्त्री एक्लैले गरेर सम्भव हुने कुरा होइन यो । सिंगो राष्ट्र निर्माणको लागि माथिदेखि तल्लो तहसम्मको हरेक कार्यालयको कर्मचारी, नेतादेखि कार्यकर्ता, शिक्षक विद्यार्थी लगायत देशका साधारण नागरिक सबैको उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहन्छ । यो गरेन, त्यो गरेन भनेर अरुको खोइरो खन्ने आफूभने सिन्को नभाँच्ने हाम्रो नेपाली प्रवृत्ति उही पुरानै रोग हो ।

प्रधानमन्त्रीले देखेका सपनाहरु तत्काललाई असम्भव नै भएपनि दूर भविष्यमा हुनसक्ने विकासका कुराहरु समेटिएका छन् । ओलीले उखुको फल फलाउँछुु, जिउँदै स्वर्ग जाने भर्याङ्ग बनाउँछु भन्ने जस्ता असम्भव कुरा भने गरेका होइनन् । सबैले लागि परेर मेहनतका साथ काम गरे ढिलोचाँडो सम्भव भएकै कुराहरु हुन् । ओलीको ठाउँमा अर्को प्रधानमन्त्री आएपनि हुने वाला केही छैन । सरकार गिराउने, नयाँ सरकार गठन गर्ने जस्ता एउटै काम दोहोर्याउने प्रवृत्ति छ र यो जतिपटक गरे पनि विकासमा नयाँ फड्को मार्न भने सक्ने अवस्था छैन । प्रधानमन्त्री भनेको देशको एक अभिभावक हुन । अभिभावकले हुँदैन, सकिंदैन, असम्भव छ भन्ने नैराश्यता ल्याउने खालका अभिव्यक्तिहरु दिनुहुँदैन । तथापी देशको एक जिम्मेवार मान्छेले जथाभावी बोल्नु पनि गतल हुनजान्छ । यति भन्दै गर्दा म सानो छँदाको केही कुराहरुको सम्झना गराउँछ । मेरा अभिभावकले केटाकेटीमा खिन्नता ल्याउने काम गर्नुहुँदैन भनेर सोच्नुहुन्थ्यो । हरेक कुरामा उहाँले प्रायः हुँदैन भन्नुहुन्नथ्यो । ‘बाबा मलाई गोटीवाला जुत्ता लगाउने रहर छ’, बुवा भन्नुहुन्थ्यो–हुन्छ किनौंला नि त । म प्रश्न गर्थें कहिले बाबा ? बाबा भन्नुहुन्थ्यो–‘भोलिपर्सि’ । म फेरि अर्को जिज्ञासा राखिहाल्थें–‘बाबा हाम्रो टिनले छाएको घर कहिले हुन्छ ? मलाई कस्तो पानी परेको बेलामा टिनले छाएको घरको छानो मुनि बसेर पानीको आवाज सुन्न मन छ ।’ बाबा भन्नुहुन्थ्यो–‘हुन्छ बनाउने नि त ठूलो टिनले छाएको घर’ । म तत्काल बाबाको मुखतिर हेरेर प्रश्न गर्थें  –‘कहिले बाबा ?’ बाबा भन्नुहुन्थ्यो–‘भोलिपर्सि बाबु ठूलो भएर, धेरै पढेर पैसा कमाएपछि ।’ बाबाको यस्तो उत्तरले मेरो वाल मथिंगलमा एक बज्रपात बज्रन्थ्यो–अनि सोच्थें, गर्नुपर्ने त आखिर मैले नै रहेछ । हाल यतिखेर ओलीको अवस्था पनि उस्तै हो । केही नभन्नु भिन्न कुरा हो तर हुँदैन भन्नु र हुन्छ भन्नुमा धेरै फरक छ । नभनेर केही हुँदैन, भन्नै पर्छ र भनेर मात्रै पनि केही हुँदैन गर्नैपर्छ भन्ने भावनाको विकास हुन नितान्तै आवश्यक छ । प्रसंगले एउटा कथाको याद आयो । समय परिवेश अनुसार कथाको परिमार्जन गरिएको छ ।

कथाः मुख चुच्चे रेलमा चीनिया पर्यटकहरुको काठमाण्डौमा घुईँचो लागेपछि पर्यटकलाई नयाँ मनोरञ्जन दिनको लागि रानीपोखरीको आडैमा दूध पोखरी बनाउने निर्णय गरेछन् नेपाल सरकारले । पानीको पोखरी भनेको साधारण कुरा हो हामी नेपालीहरुले दूधको पोखरी बनाउनु पर्छ भन्ने निर्णय भए अनुसार पोखरी खनियो । पोखरी खनेर सकिए रात सबै मिलेर दूध भर्ने योजना बनाए । देशका सम्पूर्ण दलहरु एमाओवादी, कांग्रेस, एमाले, राप्रपा लगायत अन्य सानाठूला दलहरुले रातमा दूध लगेर पोखरीमा हाल्नुपर्ने निर्णय गरियो । सामुहिक निर्णयमा सहमति जनाएर आएपछि हरेक पार्टीको आ–आफ्नो वैठक पनि बस्यो । तर आखिर सबै दलले आफ्नै दलको फाइदाको विषयमा सोच्न थाले । रातीमा लगेर हालिने भएकोले दूधको सट्टमा पानी नै हाले पनि कसैले थाहा नपाउने, अरु सबै दलले दूध नै हाल्ने निर्णय भएको हुनाले दूध नै हाल्छन्, हामीले पानी हालेपनि अरुको दूधसँग घुलमिल भएर सेतै देखिन्छ । थाहा पनि पाउँन सक्दैन र यो योजनामा सफल भइयो भने हाम्रो दललाई फाइदा पनि हुन्छ । मुख्य दलले अरुले थाहा नपाउने गरी पानी हाल्ने निर्णय गर्यो । त्यो रात सबैले पोखरी भरे । भोलि पल्ट विहान हेर्न जाँदा त दूध पोखरी हुने आशा गरिएकोमा पानी पोखरी पो तयार भएर बसेको रहेछ । खैलीबैली मच्चियो । उच्चस्तरीय वैठक बोलाइयो, अनुसन्धान भयो, वास्तविकता बाहिर आयो–सबैले ‘हामीले पानी राख्दैमा केही फरक पर्दैन, अरुले दूध राखिहाल्छन्’ भनेर सबै दलले पानी नै हालेको कुरा थाहा लाग्यो । फलतः सरकारको दूध पोखरी बनाउने सपना पुरा हुन पाएन । त्यसैले असम्भव भन्ने कुरा हुँदैन, दूर भविष्यमा अहिले तत्काल सम्भव नभएका कुराहरू सम्भावित हुँदै जाला तर सम्भव हुनको लागि हरेकले प्रतिज्ञा गरेर सोही अनुसारको कार्य गर्दै जानुपर्छ । पाइला नै नसारी रिले दाैड जित्छु भन्नु मुर्खता हो । जित्नु नजित्नु बेग्लै कुरा हुन तर दाैड पुरा गर्न पहिलो पाइला चाल्नै पर्छ । सबैले सकारात्मक रूपमा लिएर सहयाेगी हातहरू फैलाउँदै जाने र सरकारले पनि योजनाका रेखाहरू कोरेर मात्रै यो गर्छु, त्यो गर्छु भन्दै हिंड्दा राम्रो होला नत्र चिया गफ र हँसिमजाकमै सीमित रहनेछ प्रधानमन्त्रीको कैयौं दिवा सपनाहरु । अस्तुः ।***

तपाईको प्रतिक्रिया