कसैलाई रहरले त कसैलाई बाध्यताले कलाकार बनाउने बताउँछिन् गोरखा घ्याल्चोक – ७ कि गायिका शिला गुरुङ । गाउँघरमै घाँसदाउरा, मेलापात, पूजाआजा र जात्रामात्रामा कहिलेकाँही रहरले गाउने गरेकी एक साधारण गृहिणी कठोर संघर्षपछि उनी ब्यवसायिक गायिका बनेकी हुन् । जीवन जिउने आधार अरु केही नहुँदा बाध्यताले दोहोरी गायिका हुनुपरेको उनी बताउँछिन् । पछाडि फर्केर हेर्दा कडा मिहिनेत र संघर्ष पछि मात्र गीत गाएरै जिविकोपार्जन गर्न सक्ने आजको अवस्थामा आईपुगेको उनले बताईन् ।
असफल दाम्पत्य जीवनबाट विरक्तिएकी शिला आफ्नै खुट्टामा उभिने अठोटका साथ दोहोरीको मैदानमा हाम फालेकी हुन् । २०६८ सालदेखि शुरु भएको उनको गायनयात्रा छोटै भए पनि कम संघर्षपूर्ण भने छैन । तीनै संघर्षका पुराना दिन सम्झदैं शिला भन्छिन् –
अलिअलि गीत गाउने बाहेक मैले अरु केही जानेको थिईन, त्यसैले मैले यसैलाई पेशाकोरुपमा रोजे । गोरखाकै कृष्ण भट्ट दाइको सहयोगमा गायिका बन्ने सपना बोकेर खाली हात राजधानी भित्रिएकी हुँ । उहाँकै सल्लाहमा सबैभन्दा पहिले सुन्धाराको डाँफे दोहोरीमा गाउन सुरु गरें । सुरु सुरुमा त गेष्टहरुसंग दोहोरी गाउन निकै गाह्रो भयो, सहकर्मीहरुले पनि उपेक्षापूर्ण ब्यवहार देखाउँथे । तर निरन्तरको कडा मिहिनेत र प्रयासपछि बिस्तारै सहज हुन थाल्यो । मान्छेलाई चोट परेपछि सिकिदों रहेछ । गाउँघरको बिशुद्ध गृहिणी जीवनबाट राजधानीमा बसेर नितान्त फरक क्षेत्रको जीवनशैली अगाँल्दाका सुरुवाती दिनहरु कम कष्टकर थिएनन् । त्यतिबेलाको दुःख र पींडा सम्झेर अझै पनि कहाली लागेर आउँछ । तर अहिले म खुशी छु ।’
उनी अगाडि भन्छिन् – हुन त दोहोरी गाएर सँधैलाई पुग्दैन त्यो मलाई राम्रोसंग थाहा छ, दिन, उमेर र स्वरले साथ दिने बेलासम्म गाएर निर्बाह होला, त्यसपछि त अर्को बाटो रोज्नैपर्छ, तर त्यो पछिको कुरो हो अहिले नै त्यतातिर सोचिएको छैन । अहिले त अझै कसरी सबैले चिन्ने राम्रो गायिका भएर अगाडि बढ्न सकिन्छ भनेर क्यारियर बनाउनमै ध्यान केन्द्रित छ । डाँफेपछि नयाँ बसपार्कको यानीमायामा कार्यरत छँदा एक दिन आफन्त र साथीहरुसंग गामबेशी दोहोरीमा गएको बेलामा त्यहाँ गाउँकै दाजु सञ्जय गुरुङसंग चिनजान भयो, उहाँसंग सुखदुखका धेरै कुराहरु भएपछि उहाँकै सहयोगमा म पनि गामबेशीमा काम गर्न थाले । त्यसको केही समयपछि दाजु सञ्जय गुरुङसंग मिलेर ’दरौंदीको पानीले’ भन्ने म्युजिक भिडियो निकाल्यौं, त्यसले निकै राम्रो चर्चा पायो र मलाई गायिका शिला गुरुङ भनेर चिनायो । यसैगरी गामबेशीकै अर्का गायक दाजु राजु गुरुङसंग मिलेर लगत्तै ’लालुपाते फुलेको बनभरि’ म्युजिक भिडियो बजारमा ल्यायौं, त्यो पनि राम्रै चल्यो । त्यसले पनि मलाई थप चिनाउन मद्दत गर्यो । त्यसपछि फेरि दाजु सञ्जय गुरुङसंगै मिलेर ’लभ गरेर भुल्ने समय छैन’ तेस्रो एल्बम बजारमा ल्यायौं । त्यसले पनि मेरो साँगीतिक यात्रामा अर्को एउटा इटा थप्ने काम गर्यो । मलाई यसरी बामे सर्दै यो क्षेत्रमा अगाडि बढ्न बाटो देखाईदिने सञ्जय दाजुप्रति कृतज्ञ छु । अथक परिश्रम र निरन्तर लगावबाट आफुलाई निखार्दै अगाडि बढ्ने क्रम जारी छ ।’
सफल गायिका बनेर चिनिनका लागि संघर्षरत शिला साँगीतिक कार्यक्रमका लागि अहिलेसम्म बिशेषगरी काठमाडौं उपत्यकाभित्र हुने मेला महोत्सवहरु र राजधानी बाहिरका ५, ६ वटा जिल्लामा पुगेको बताउँछिन् । तर उनी भन्छिन् – मेरो सपना ठूलो छ । यो त भरखर सुरुवात मात्र हो । यद्यपि क्यारियरको छोटो अवधिमै जापानसम्म आउन पाएँ, अत्यन्त खुशी छु । नाम चलेका अन्य केही मुलुकहरुमा जान चाहान्छु र गायिका शिला गुरुङ भनेर अझ बढि चिनिन चाहान्छु ।’
उनको बुझाईमा नाम र दाम दुवै एकैचोटी कमाउन पाईने भएकोले कलाकारहरु बिदेश जान लालायित हुने गर्दछन् । तर कार्यक्रममा गएर कलाकारहरु बिदेशमा उतै गुमनाम हुने प्रवृत्तिप्रति भने उनको असमति छ । उनी भन्छिन् – बिदेशमै हराएर आफ्नो कलाकारिता मर्न दिनु राम्रो होईन, बरु अवसर पाउँदा कार्यक्रमका लागि बेलाबेलामा फरक फरक मुलुकमा गईरहने र आफ्नै माटोमा फर्केर आफुले रोजेको क्षेत्रमा संघर्ष गर्नुमा अघोर सन्तुष्टि छ ।
’दोहोरी गाउन सजिलो त छँदै छैन कहिलेकाँही उच्छृङ्खल शैलीमा गाउनेहरुसंग पनि सहेरै गाउनुपर्ने हुन्छ भने कहिलेकाँही पटक्कै मुड नभएको बेलामा गीतै आउँदैन त्यस्तो बेलामा पनि गाउनैपर्छ’ – दोहोरी गाउँदाको अनुभव सुनाउँदै शिला अगाडि भन्छिन् – गेष्टको रमाईलोका लागि रमाइलै प्रसंगमा दोहोरी गाउनु हाम्रो बाध्यता हो । त्यसैले दोहोरीलाई यदाकदा साली फकाउनेमा मात्र सीमित गरियो भन्ने आरोप पनि लाग्ने गर्दछ ।
तीन महिने साँगीतिक यात्राका क्रममा जापान आएकी शिलाले यहाँको बसाई एकदम रमाइलो लागेको बताईन् । उनी अगाडि भन्छिन् – लोक तथा दोहोरी गीतलाई सम्मान गर्ने र मन पराउने नेपालीहरु जापानमा पनि अधिक रहेको पाईयो । जहाँ गए पनि दोहोरीको रौनकतामा झुम्न मन पराउने नेपालीहरुको बाहुल्य निकै भएको पाईयो, यसरी हेर्दा स्वदेशमा मात्र हैन बिदेशमा पनि दोहोरीको भविष्य राम्रो छ भन्न सकिन्छ । हुन पनि केटाकेटीदेखि बृद्धासम्म सबैले मन पराउने, सजिलै बुझ्न सक्ने र तुरुन्त रमाउन सक्ने दोहोरीमा थकान, अत्यार, पीडा र तिर्सना एकैचोटी मेटाउने शक्ति छ । यसले तत्काल दुख र टेन्शन बिर्साउंछ र आनन्द दिलाउँछ । त्यसैले त के घरदेश, के परदेश जहाँ भए पनि नेपालीहरु झुम्छन दोहोरीमा ।
राजधानीमा दोहोरी गाएरै जसोतसो जीवन धानेकी एकल महिला शिलालाई आफ्ना दुई सन्तान हुर्काउने र पठनपाठन गराउने जिम्मेवारी पनि उनीमाथि नै छ । स्वदेश फर्कने पूर्व सन्ध्यामा रहेकी गायिका शिला नेपाल फर्केलगत्तै अर्को मुलुकमा जाने अफर आईसकेको बताईन् । संभवत उनी केही महिनाका लागि छिट्टै युरोपतिर उड्नेछिन् । यद्यपि नेपाल फर्केर एउटा एल्बम गर्ने योजना भने प्राथमिकतामा रहेको उनले बताईन् । साँगीतिक क्षेत्र अब पुरै ब्यापारीकण भईसकेकोले एल्बम निकाल्न भने त्यति सजिलो नभएको उनको धारणा छ । उनले दोहोरी गायिका भएर अहिले आफु जसोतसो अस्थायी खुशीमा रमाईरहेको पनि खुलासा गर्दै शिला भन्छिन् – ’हामी अस्थायी खुशीमा रमाउने प्राणी हौं ।’
उनले अगाडि थपिन् – जापान लगायत बिदेशमा रहनुहुने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले नेपाली गीत र संगीतलाई माया गरिदिनु हुन म गायिका शिला गुरुङ दुई हात जोडेर हार्दिक अनुरोध गर्दछु । मेरो गीत सुनेर रचनात्मक प्रतिक्रिया दिई अगाडि बढ्ने हौसला प्रदान गरिदिनु होला । भूगोलमा जहाँ भए पनि नेपाल आमालाई कहिल्यै नबिर्सनुहोला । साथै आफ्ना साँगीतिक यात्राका अनुभवहरु आम नेपालीहरु समक्ष पुर्याउने अवसर दिनुभएकोमा जापानबाट सञ्चालित लोकप्रिय अनलाईन समुद्रपारि डट कमलाई पनि धेरै धेरै धन्यबाद दिन चाहान्छु ।’
(कुराकानीमा आधारित)