Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

surya-khadka-cover1जापानको नेपाली समुदायमा सूर्य खड्का नौलो नाम होइन । उसो त उनी नेपालमै पनि चिनिन्छन् र स्टेज कार्यक्रमहरुका लागि जापान बाहिरबाट पनि बोलाईन थालेका छन् । लठ्ठ पार्ने सुमधुर स्वरका धनि, मुस्कानले भरिएको चकलेटी अनुहार भएका खड्का एक चल्तीका गायक हुन् । दोहोरीमा चोटिला र गहकिला शब्दवाण प्रहार गर्न उनी निकै माहिर मानिन्छन् । औंलामा गन्न सकिने राम्रा दोहोरी गायक मध्यका एक हुन खड्का जापानमा । उसो त दोहोरी गायकका रुपमा मात्र सीमित गर्नु उनलाई अन्याय हुन्छ किन कि, उनी एक कुशल बाद्यबादक पनि हुन् । त्यसैले त जापानमा हुने सानाठूला साँगीतिक कार्यक्रमहरुमा उनको उपस्थिति अनिवार्य जस्तै भईसकेका छ । भ्याएसम्म उनी पनि सबै ठाउँमा पुग्ने गरेका छन् ।

बागलुङ जिल्लाको धम्जा माझकटेराका खड्का पनि औसत नेपाली युवाहरुझैं बैदेशिक रोजगारीका सिलसिलामा आजभन्दा ८ वर्ष अघि जापानतिर हानिएका हुन् । प्लस टु (+2) सकाएर औपचारिक शिक्षालाई बिट् मारेका खड्का सानैदेखि रहरले मादल बजाउने, गीत गाउने गर्दथे । गीतसंगीतको भूत चढ्दै गएपछि आफुमा यस क्षेत्रमा केही गर्न सक्ने खुबी छ भन्ने भेउ पाएर अर्थात बुझेर यो क्षेत्रमा लागेको भने २०६० सालमा एसएलसी पास गरेपछि मात्र हो । कलेज पढ्न बागलुङबाट चितवन झरेपछि पढाईसँगै गीत संगीतमा उनले सक्रियता बढाएका हुन् ।

आफ्ना बाबाआमा र दिदीहरुको प्रेरणाबाट साँगीतिक बजारमा होमिएका खड्का तत्कालिन अग्रज कलाकार र भाइसाथीहरुबाट थप प्रेरणा मिलेपछि अझ हौसिएको उनी बताउँछन् । चितवन बसेर कलेजको पढाईसंगै करिव ४ बर्ष उनले रोयल दोहोरी साँझ नारायणघाटमा गाए । सो क्रममा उनी कहिले पोखरा कहिले काठमाडौं पुगेर पनि दोहोरी गाउने गर्दथे ।

गायक खड्काको बुझाईमा सुख, दुःख, हाँसो, आंशु सबैको साथी हो लोकदोहोरी । गायन यात्रालाई अगाडि बढाउने क्रममा अहिलेसम्म उनले १५ वटा गीतमा स्वर 3भरिसकेका छन् भने त्यसमा आफ्नै सिर्जनाका ७ वटा जति छन । ती मध्य कतिपय बजारमा आईसकेका छन् भने धेरै गीत आउन बाँकी छन् । खड्काको ’मुटु छोएर त हेर’ – गायिका टिका पुनसंग, ’परदेशिने मन’, ’फेरी भेट होला नहोला’ – शान्ती सुनारसंग, ’आज तिम्ले जवाफ दिनुपर्छ’ – जुना श्रीषसंग, पञ्चे बाजा कालिका रोकासंग, ’यस्तै छ कहानी परदेशीको’, ’यो जुनीमा माया त’ – सुनिता परियारसंग, ’मर्नै मन लाउनी’ – देवी घर्तीसंग, ’दिन कटाउनै गाह्रो भो आमा’, ’आकाशैमा तारा’ – सम्झना भण्डारीसंग, कौडा र रोईला, दशैं, ’रोए धुरु धुरु’ – तीज गीत देबी घर्तीसंग, ’सोच्देउ भगवान’- मुना थापासंग लगायतका गीतहरुमा उनले स्वर दिईसकेका छन् ।

बिदेशमा गायन क्यारियरलाई जोगाउन निकै गाह्रो हुने गायक खड्काको बुझाई छ । कतिपय कलाकारहरु आफ्नो नाम नेपालमै स्थापित भईसकेपछि आउने भएकोले उहाँहरुलाई त्यति गाह्रो नहोला तर नेपालमा छँदा त्यति चर्चामा आईनसकेको हुँदा आफुलाई जापान आएर चिनिनका लागि धेरै संघर्ष गर्नुपरेको गायक खड्काको अनुभव छ ।

गायक खड्का भन्छन् – ’लाइभ दोहोरी गाउन साँच्चिकै गाह्रो कुरो हो, किनभने समय, परिस्थिति र माहौल हेरेर ठाउँको ठाउँ तत्काल सवाल जबाफ गर्नुपर्ने भएकोले अरु बिधाका गीत गाउन भन्दा लाइभ दोहोरी गाउन अति कठिन छ ।’

’मलाई चिनाउने खास गीत अझै बजारमा आईसकेका छैनन् तर आउने क्रममा छन् । यद्यपि भर्खरै बजारमा आएको ‘आज तिम्ले जबाफ दिनुपर्छ’ ’परदेशीने मन’ र ’फेरि भेट होला नहोला’ भन्ने गीतले मलाई थप चिनाउने अपेक्षा गरेको छु – उनले भने ।

हालैमात्र नेपाल गएर दुई महिना लामो बिदा मनाएर जापान फर्केका खड्का देश भित्र र बाहिर अनपेक्षितरुपमा दोहोरीको क्रेज बढिरहेको बताउँछन् । ’देशबिदेश जहाँ जाउँ, दोहोरी र लोकभाका मन पराउनेहरुको कुनै कमी छैन । हाम्रो लागि यो खुशीको कुरो हो ।’ – खड्काले थपे ।

पुराना दिनहरुको स्मरण गर्दै गायक खड्का एउटा रमाईलो घटना यसरी ब्यक्त गर्दछन् – ’म चितवनमा बसेर पढ्ने बेलाको कुरा हो, छिमेकीको घरमा भएको एउटा पूजामा हामी दोहोरीका कलाकारहरूलाई पनि निम्ता गरिएको थियो, दोहोरी गाउने सिलसिलामा म खान-लाउन नपाएको, घरबासको ठेगान नभएको साह्रै गरिबको छोरा अति दुःख पाएको केटोको भूमिकामा प्रस्तुत भएर गाएको थिए भने म संग गाउने केटीचाँही धनाढ्य साहुकी छोरी बनेर गाएकी थिईन् । स्रोता मध्यकी एक जना दिदीलाई गीतमा उठेको प्रसंग वास्तविक जस्तो लागेछ क्यारे तत्काल मलाई दुई हजार रुपैंयाँ निकालेर दिएको घटना जीवनभर भुल्ने छैन ।’

Suryaउसो त उनीसंग तीतो अनुभव पनि नभएका होईनन् । उनी भन्छन् – ’कला र गला भएर पनि चिनिनका लागि भनसुन गर्नुपर्ने रहेछ, तर यता जापानमा आएपछि भने त्यस्तो अनुभव गर्नुपरेको छैन । दिनभरी कामले थाकेर लखतरान परेको भए पनि दोहोरी गाएर झन फुर्तिला बनेका कैंयौ रातहरु ताजगी छन् । जापानमा सबैको माया पाएको छु र त अगाडि बढ्न ऊर्जा मिलेको छ ।’

पछिल्लो नेपाल बसाईमा तीज, दशैं, तिहार लगायतका धेरै गीतहरु गाएर आएको र सबै गीतहरु बजारमा आएपछिको प्रतिक्रिया कस्तो आउँछ हेर्न उत्सुक रहेको गायक खड्काले बताए ।
भावी योजना बारे भने गायक खड्का यसो भन्छन् – ’जुन ठाउँमा पुगे पनि जस्तोसुकै कठिन परिस्थितिमा पनि अब म गीत संगीत छोड्न सक्दिन । अहिले बिदेशबाटै यसलाई निरन्तरता दिईरहेको छु, भविष्यमा नेपालमै गएर संगीतमै लाग्ने चाहना छ ।’ 2

गायक खड्का अगाडि भन्छन – ‘जापानका नेपालीहरुले लोकभाका र दोहोरी गीतलाई असाध्यै मन पराउनुभएको पाएको छु । जापानमा अहिले करिव ६० हजार नेपालीहरु हुनुहुन्छ, जसमा झण्डै ८५ प्रतिशत नेपालीहरु लोकदोहोरीका पारखी हुनुहुन्छ जस्तो लाग्छ । यसैगरी दोहोरी गाउन सक्ने सक्षम कलाकारहरु पनि अहिले जापानमा थुप्रै हुनुहुन्छ । नेपालको सांगीतिक आकाशमा आफ्नो नाम चिनाउन सफल एवं अग्रज कलाकारहरु पनि जापानमा धेरै हुनुहुन्छ भने पछिल्लो समयमा दोहोरी गाउन सक्ने थुप्रै राम्रा कलाकारहरु पनि बिद्यार्थी भिषामा आउनुभएको छ । प्रतिभा हुनेहरुले देखाउने प्लेट फर्म पनि बनिसकेका छन, यसरी हेर्दा जापानमा दोहोरीको भविष्य राम्रो हुंदै गईरहेको छ भन्न सकिन्छ ।’

‘नेपाल तथा जापान लगायत बिश्वभर छरिएर रहनुभएका गीतसंगीतप्रेमी दर्शक-स्रोता नै हामी कलाकारका लागि भगवान हो । जुन ठाउँमा रहे पनि नेपाल देश र हाम्रो नेपाली लोक संगीतलाई माया गरिदिनुहोला । राम्रो नराम्रो गीत चिनेर सुनिदिनु होला भन्ने अनुरोध गर्न चाहान्छु । म गीत संगीतको क्षेत्रमा भर्खर सिक्दै गरेको एक गायक हुँ, हजुरहरुको सुझाव, सल्लाह र मायाको सँधै अपेक्षा गरेको छु ।’ – गायक खड्काले भने ।

(समुद्रपारिले गायक खड्कासंग गरेको कुराकानीमा आधारित)

गायक खड्काको बजारमा आएको पछिल्लो म्युजिक भिडियो – ‘आज तिम्ले जबाफ दिनुपर्छ सानू’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया