आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

मोरङ – नेकपा एमाले मोरङले जिल्लाको दक्षिणी भेगकेन्द्रित ‘तराई विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । पार्टीको बुधबार बेलुका सम्पन्न १२ औं पूर्णबैठकले विगतको तीन महिने जागरण अभियानको समीक्षा गर्दै हुलाकीमार्ग दक्षिणतर्फ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
अध्यक्ष महेश रेग्मीको अध्यक्षतामा पार्टी कार्यालय पाञ्चालीमा बुधबार भएको बैठकले यस अभियानका लागि सचिव ऋषिकेश पोखरेलको संयोजकत्वमा ३१ सदस्यीय कार्यदल गठन गरेको प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।
कार्यदलमा सत्यनारायण चौधरी, रामलाल साह, ज्ञानेश्वर राजवंशी, मीना यादव, रुपनारायण मिश्र, जीतनारायण सरदार, हसन इमाम वक्स, नारायण खतिवडालगायत रहनुभएको छ । कार्यदलले त्यस क्षेत्रमा सङ्गठन सुदृढीकरणको काम गर्ने जनाइएको छ ।
त्यसैगरी, बैठकले भर्खरै सम्पन्न तीन महिने मधेस जागरण अभियान प्रभावकारी भएकाले जिल्लाभर त्यसको निरन्तरता दिने निर्णय पनि गरेको छ । प्रचार विभाग प्रमुख चौधरीका अनुसार अभियान फागुन २७ देखि सुरु भई वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ । तीन महिने अभियान केन्द्रको निर्देशनमा विशेषगरी संविधानप्रतिको भ्रम निवारण र सङ्गठन सुदृढीकरणसँग सम्बन्धित थियो भने अब जिल्ला कमिटीको सक्रियतामा सञ्चालन हुने कार्यक्रम आर्थिक, सामाजिक र विकास निर्माणसँग सम्बन्धित हुने बताइएको छ ।
तीन महिने अभियानकै प्रशिक्षक, उत्प्रेरक एवम् अभियन्ताहरूकै सहयोगमा जनअपेक्षा, आवश्यकता र सम्भाव्यताको अध्ययन गरी जनताका प्रत्यक्ष सरोकारका विषयको अध्ययन गर्ने बैठकले निर्णय गरेको छ । अध्ययनबाट सङ्कलित सुझावलाई आर्थिक–सामाजिक रुपान्तरणका कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने जनाइएको छ । प्रचारविभाग प्रमुख चौधरीका अनुसार यसै सन्दर्भमा चैत महिनाभरि नौवटै क्षेत्रका अनुगमन तथा क्षेत्रीय कमिटीका बैठक पनि सम्पन्न गरिनेछन् ।
केन्द्रीय सदस्य एवं कोसी अञ्चल इन्चार्ज जीवन घिमिरे, केन्द्रीय सदस्यहरू रुपनारायण श्रेष्ठ तथा शिवमाया तुम्वाहाम्फेलगायत माथिल्लो कमिटीका नेताहरूको उपस्थिति रहेको बैठकले सुकुम्बासी समस्या समाधान आयोगलाई निरन्तरता दिन सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया