Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा महामन्त्री र कोषाध्यक्षका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
यही फागुन २३ गते स्थानीय राष्ट्रिय सभागृहमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न २ बजेदेखि सुरु भएको हो । सुरुमा महामन्त्री र कोषाध्यक्षको मतगणना हुने र ती पदको मतपरिणाम आजै आउने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
महामन्त्री र कोषाध्यक्षको छुट्टै मतपत्र रहेको र त्यसको गणना सुरुमा हुने भएकाले ती पदको मतपरिणाम आजै आउने समितिका सचिव प्रदीप पराजुलीले बताउनुभयो । त्यसपछि अन्य सबै पदको मतगणना सुरु हुनेछ । काँग्रेसमा पदाधिकारीसहित ६४ पदका लागि यही फागुन २३ गते भएको निर्वाचनमा कुल तीन हजार १६१ मतदातामध्ये तीन हजार १४८ले मतदान गरेका थिए । फागुन २० र २१ गते भएको मनोनयन दर्तामा पदाधिकारीसहित केन्द्रीय सदस्य पदमा ३१२ जनाले उम्मेदवारी दिएका थिए ।
सभापतिमा कावा सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । सभापतिमा कुनै पनि उम्मेदवारले विधानतः आवश्यक बहुमत ल्याउन नसकेपछि फागुन २४ पुनःनिर्वाचन भएको थियो । सो निर्वाचनको मतगणना सोमबार राति नै सम्पन्न भएको र सभापतिमा देउवा निर्वाचित भइसक्नुभएको छ ।
महामन्त्रीमा डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्कीको उम्मेदवारी परेको छ । खुला केन्द्रीय सदस्यमा २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ । आरक्षणतर्फ छ महिला केन्द्रीय सदस्य पदका लागि ३८, प्रदेश नं १ मा दुई केन्द्रीय सदस्यका लागि १३, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १८, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १०, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा दुई पदका लागि सात जनाले उम्मेदवारी दिएका छन् ।
आरक्षणमा आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्यका लागि ४०, आदिवासी जनजाति महिलातर्फ दुईका लागि १२, दलित तीनका लागि २०, दलित महिलातर्फ दुईका लागि पाँच, मधेसी आरक्षणतर्फ तीनका लागि १५ र मधेसी महिलाका लागि नौ र मुस्लिम आरक्षणतर्फ एक पदका लागि छ जनाको उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया