काठमाडौँ– मुलुकको राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति मानिने सबैभन्दा ठूलो राजनीतिक दल नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट सिङ्गो दल मात्र हैन मुलुकले पनि परिवर्तनको नयाँ दिशाको सम्भावना बोकेको छ ।
पार्टीको १२औँ महाधिवेशन भएको साढे पाँच वर्षपछि १३ औँ महाधिवेशनसम्म आइपुग्दा लोकतान्त्रिक अभ्यास पार गर्दै दलले नीति, नेतृत्व र सङ्गठनलाई नयाँ दृष्टि, दिशा र ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ । विसं २००७ को ऐतिहासिक जनक्रान्ति सफल पार्ने, २०१७ पछिको अत्यन्त कठिन र प्रतिकूल परिस्थितिमा पार्टीलाई जीवन्त बनाइराख्ने र २०४६ को जनआन्दोलन सफल पार्ने तथा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको विसं २०६२/०६३ को शान्तिपूर्ण जनआन्दोलनलाई निष्कर्षमा पु¥याउन काँग्रेसले खेलेको नेतृत्वदायी भूमिका अद्वितीय छ ।
जननायक बिपी कोइराला, नेता सुवर्णशम्शेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सन्तुलित र बुद्धिमतापूर्ण अथक योगदानले काँग्रेसलाई आजको अवस्थामा ल्याएको हो । पछिल्लो कालखण्डमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले परिवर्तनको दिशामा पार्टीलाई लैजान महत्वपूर्ण भूमिका खेल्नुभयो । काँग्रेसको १३औँ महाधिवेशनलाई मुलुकमा विद्यमान अन्य राजनीतिक शक्ति र आम नागरिकले समेत गम्भीरतापूर्वक हेरिरहेका छन् ।
बिहीबारदेखि सुरु भएको महाधिवेशनको शुक्रबार दोस्रो दिन भृकुटीमण्डपमा बन्द सत्र चलिरहेको छ । बन्द सत्रमा पार्टीले अवलम्बन गर्ने आगामी नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । चार दिनसम्म चल्ने महाधिवेशनले सभापति, महामन्त्री, कोषाध्यक्ष र समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका ६४ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । काँग्रेसको विधानानुसार बाँकी सदस्य मनोनयन प्रक्रियाद्वारा पूर्णता दिई ८५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।
महाधिवेशनका लागि देशभरका २४० निर्वाचन क्षेत्रबाट दुई हजार ८८०, विदेशस्थित १७ जनसम्पर्क समितिबाट १२६ , १७ भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ र वर्तमान केन्द्रीय कार्यसमितिका ८४ सदस्य गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधिको सहभागिता छ ।
नेपालको राजनीतिमा निर्णायक शक्तिका रुपमा रहेको काँग्रेसको महाधिवेशनलाई अन्तर्राष्ट्रिय समुदायले पनि निकै चासो र उत्सुकताका साथ अवलोकन गरिरहेको छ । अघिल्लो महाधिवेशनभन्दा भिन्न परिवेशमा रहेको राष्ट्रिय राजनीतिलाई काँग्रेस र समग्र राष्ट्रले सामना गर्नुपर्ने चुनौती, राजनीतिक अवस्था र अवसर पनि भिन्न प्रकृतिका छन् । काँग्रेस नवीन अवसर, अनुभव र चुनौतीका बीचमा उभिएको छ । आजको सन्दर्भमा काँग्रेसले आफ्ना नीति, नेतृत्व र सङ्गठनलाई समयसापेक्ष रूपमा रूपान्तरण गर्न सक्छ कि सक्दैन, यो सबैको चासो र उत्सुकताको विषय भएको छ ।
झन्डै साढे छ दशकपछि काँग्रेसकै नेतृत्वमा संविधानसभामार्फत समावेशिता, सङ्घीयता र लोकतान्त्रिक गणतन्त्र सहितको नयाँ संविधान आएको छ । महाधिवेशनको यस ऐतिहासिक क्षणमा परिवर्तनले सिर्जना गरेका यी नवीन अवसरको उपयोग गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीको सामना गर्न सक्ने दूरदृष्टि, आँट र सङ्कल्पका साथ भावी कार्यनीति, रणनीति, नेतृत्व चयन र सङ्गठन निर्माणको कार्यदिशा निर्धारण गर्नुपर्ने अवस्था आएको छ । संविधानको कार्यान्वयनको चुनौतीपूर्ण घडीमा राजनीतिक दृढता, सुझबुझ र सन्तुलित सोचको आवश्यकतालाई शिरोपर गर्दै काँग्रेसले नेतृत्वदायी भूमिका खेल्न जरुरी छ ।