शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

नेपालमा कम्युनिष्ट आन्दोलनलाई जन्म दिने र नेतृत्व गर्ने कामरेड पुष्पलाल समाज बिकासका घटनाक्रमहरुको बिश्लेषण र मूल्यांकन गर्दा कम्युनिष्टहरुले बैज्ञनिक, बस्तुगत र तर्कपूर्ण आधारमा गर्नु पर्दछ भन्ने प्रष्ट माक्र्सवादी मान्यता राख्नुहुन्थ्यो । समाज बिकासका बिभिन्न चरण उपचरणहरुमा माक्र्सवादलाई बुझ्न र त्यसको रचनात्मक रुपमा प्रयोग गर्न कुशल पुष्पलाल नेपाल कसरी बन्यो भन्ने सन्दर्भमा ‘नेपाली जनआन्दोलनः एक समीक्षा’ नामक कृतिमा उहाँ भन्नु हुन्छः ‘‘हाम्रो इतिहासले हामीलाई बताउँछ कि हाम्रो समाज आदिम साम्यवादी समाजवाट शुरु भई आज अर्धसामन्ती समाजको स्थितिबाट गुज्रिरहेको छ । हाम्रो समाजमा जुन परिवर्तन शुरुदेखि हुदै आइरहेको छ त्यसको मूख्य कारण कुनै अलौकिक महापुरुष, ऋषिमुनी, राजा महाराजा, सेनापति अथवा कुनै नेता नभई हाम्रो देशको सामाजिक बिषमताबाट उत्पन्न भएका बिभिन्न बर्गहरुको संघर्ष नै हो । जनताको यसै संघर्षलाई हामीले नियालेर हेर्नुपर्छ । यसको निमित्त नेपालको इतिहासको पुनः ब्याख्या अर्थात् पुनः खोज हुनु आवश्यक छ । अहिले हाम्रो बिषय सो नभई बिशेषरुपले आधुनिक जनआन्दोलनको समीक्षा भएको हुँदा त्यसै परिधिभित्र बसी यो समीक्षा गरिने छ ।’’

त्यस कृतिमा उहाँले अगाडि लेख्नु भएको छः ‘‘नेपाली समाजको इतिहासले सन् १७६९ मा एक मोड लिएको छ । त्यो मोड हो – बिभिन्न इलाकीय सामन्ती राज्यहरुको समाप्ति र एक केन्द्रिय सामन्ती शासनको युगको शुरुवात । यसभन्दा पहिला नेपाल चार राज्य समूहमा बिभाजित थियो । पहिलो, काठमाण्डौ उपत्यकाका तीन राज्य समूह, जो प्राचीनकालदेखि नेपालको नामले प्रसिद्ध भएर आए, दोश्रो मध्य पश्चिम नेपाल अर्थात् गण्डकी प्रदेशमा पाल्पा तथा लमजुङ्ग अन्तरगत चौबीसे राज्यको समूह, तेश्रो पश्चिम नेपाल अर्थात् कर्णाली प्रदेशमा हुम्ला, जुम्ला राज्य अन्तरगत बासइसे राज्य समूह र चौथो, पूर्व नेपाल अर्थात् कोशी प्रदेशमा मोरङ्ग राज्यको अधिनमा एघार किराँत कबिला गणतन्त्रीय राज्य समूह ।’’ उहाँ अगाडि लेख्नु हुन्छः ‘‘हाम्रो देशमा सामन्तबादको बाहुल्य दुइ हजार बर्षभन्दा पहिलेदेखि चल्दै आइरहेको छ । समाज बिकासको क्रममा आदिम गणतन्त्रीय कबिला समाजको ह्रासमा नेपालका बिभिन्न इलाकामा सामन्ती समाजको आपसी संघर्षको दौरानमा कर्णाली, गण्डकी, बाग्मती तथा कोशी प्रदेशमा बिभिन्न सामन्ती राज्य–समूहहरुको बिकास हुन गयो ।

यसरी नेपाली समाजको बिकासक्रम बारे स्पष्ट पार्दै पुष्पलाल थप लेख्नुहुन्छः ‘‘मानदेव प्रथमको पालाबाट एक केन्द्रिय सत्ता कायम गर्ने प्रकृया सक्रियरुपमा चालु भएको हो । त्यसको पराकाष्ठा गोर्खाका सामन्ती सरदार पृथ्वीनारायण शाहको नेतृत्वमा सन् १७४३ मा नुबाकोटको हमलाबाट शुरु भई सन् १७६९ मा काठमाण्डौ उपत्यकाको बिजयपछि अन्य राज्यहरुको साँध मासी आजको साँध कायम गर्न अर्को ४५ बर्ष लाग्यो । आजको साँध पूर्वमा मेची, पश्चिममा महाँकाली उत्तरमा रसुवा र दक्षिणमा रक्सौल हुन आएको छ । आजको यो साँध कायम गर्नका निमित्त नेपालमा सबै गरी ७१ बर्षको संघर्ष भएको छ । यस संघर्षलाई हामीले बिभिन्न राजा रजौटा अथवा सामन्ती सरदारहरुको बिचको संघर्षकोरुपमा मात्र लिनु, जसरी आजसम्मका इतिहाँसकारहरुले पेश गर्दैछन्, गलत हुनेछ । यसको निमित्त हामीले त्यस बखतको वास्तविक सामाजिक स्थितिको खोजी गर्नु पर्छ । अनि हामीले वास्तविकरुपमा समाज बिकासमा जनताद्वारा खेलिएको भूमिका पत्ता लगाउन सक्तछौं । जनआन्दोलनको वास्तविक इतिहाँस त्यही हो ।’’‘

त्यसबेलाको सामाजिक स्थितिको बारेमा संक्षेपमा प्रष्ट पार्दै उहाँले त्यस कृतिमा लेख्नु भएको छः ‘‘अठारौं शताब्दीको पूर्वाद्र्ध कालसम्ममा अर्थात् पृथ्वीनारायण शाहको नुबाकोट हमलाको समयसम्ममा नेपालका चार राज्य समूहमा एकातिर बिभिन्न इलाकीय राजतन्त्र, भाइभारदार तथा सरदारसहीत देखापर्दछन् भने अर्कोतिर साहु महाजन मध्यम बर्गीय जनता । यस्तो सामाजिक स्थितिमा नेपालमा इलाकीयरुपमा सामन्ती राजा रजौटा तथा सरदारहरुका राज्यको बीचको आपसी प्रतिस्पद्र्धाका निमित्त हुने संघर्षले गर्दा उद्योग, बन्दब्यापार, खेतीपाती आदिलाई नोक्सान पुगेको हुनाले त्यस बखतको इलाकीय सामन्ती राज्यको ब्यवस्थाबाट नेपालका बिभिन्न इलाकीय राज्यमा बिभक्त भइ बसेका भूमिपति,उद्योगपति, बन्दब्यापारी, बिभिन्न तहका किसान तथा मध्यमबर्गीय जनता असन्तुष्ट थिए । उनीहरुले उक्त ब्यवस्थाको बिरुद्ध बिभिन्न किसिमबाट आलोचना गरी आन्दोलनको सुत्रपात गरे । उनीहरु चाहन्थे बिभिन्न इलाकीय सामन्ती राज्यको सट्टा एक केन्द्रिय सामन्ती राज्य सत्ताको स्थापना होस् जसले देशमा शान्ति सुब्यस्था कायम गर्न सकोस् र उद्योग ब्यापार खेतीपाती फलोस् फुलोस् ।’’

यसरी बिकसित हुँदै गएको परिस्थितिको उल्लेख गर्दै नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता पुष्पलालले लेख्नुभएको छः ‘‘पृथ्वीनारायण शाहलाई जसै जसै एक पछि अर्को राज्य जिती साँध मास्न सफलता मिल्दै गयो उसै उसै उनलाई उक्त बर्गहरुको सहयोग र समर्थन प्राप्त हुदै गयो । ७१ बर्षको लामो संघर्ष मूख्यरुपले दुइ बिरोधी शक्ति—(१) इलाकीय सामन्ती ब्यबस्थामा आफ्नो स्वार्थको रक्षा देख्ने इलाकीय राज्य र तिनका समर्थक र (२) इलाकीय साँध मासी केन्द्रिय सामन्ती राज्यसत्ता कायम हुँदा लाभान्वित हुने बिभिन्न बर्ग तथा जन समुदाय बीचको संघर्ष थियो । यस्ता संघर्षहरु अन्य देशको इतिहासमा पनि पाइन्छन् । जस्तो बेलायतको इतिहासमा ‘वार अफ रोजेज’ । त्यस युद्धमा जसरी हेनरीलाई त्यस समयका सबै प्रगतिशील बर्गले समर्थन गरे त्यसरी नै नेपालमा पृथ्वीनारायण शाहलाई नेपालका सबै प्रगतिशील तत्वहरुले समर्थन गरे । यसको अतिरिक्त अर्को एउटा अन्तर्राष्ट्रिय कारण पनि छ जसले नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसताका अग्रेजी साम्राज्यवादले नेपाल–चीन ब्यापारमा आँखा गाढेको थियो । भारतबर्षमा आफ्नो कब्जा जमाउनका साथै अग्रेजी साम्राज्यवाद नेपाललाई पनि अधिन गर्न चाहन्थ्यो । नेपाली उद्योगपति र बन्दब्यापारीहरुको स्वार्थमा यसरी ठूलो आँच उत्पन्न भएपछि एक केन्द्रिय राज्यसत्ताको निर्माण उनीहरुको निम्ति अति आवश्यक भएको थियो, जसबाट नेपालको बन्दब्यापारको स्वार्थ रक्षा हुन सकोस् । नेपालमा यसरी एकहत्तर बर्षको लामो संघर्षको दौरानमा इलाकीय सामन्ती राज्यको साँध मासिई एक केन्द्रिय राज्यसत्ता स्थापना भएपछि बिभिन्न सामन्ती सरदारहरुले आफ्नो निहीत स्वार्थका निम्ति एक इलाकाका शोषित जनतालाई अर्को इलाकाका शोषित जनताका बिरुद्ध उक्साई युद्ध गर्ने स्थिति समाप्त भयो । यसले गर्दा नेपालको राष्ट्रिय बजार बढ्न थाल्यो । पृथ्वीनारायण शाहले यसै अनुरुपको औद्योगिक र बन्दब्यापारको नीति पनि अपनाए । उनको नीति थियो —‘‘प्रजा मोटा भया दर्बार बलियो हुन्छ, राजाका भण्डार भन्याका रैतानहरु हुन्’ ।यसको मतलब जनताको शोषण गरेर नै शाही परिवार र सामन्ती भाइभारदार मोटाउन सक्दछन् भन्ने हुन्छ ।’’ यसरी पृथ्वीनारायण शाहको पुष्पलालले बस्तुगत, बैज्ञानिक तथ्य र तर्कका आधारमा सही मूल्यांकन गर्नु भएको छ । उहाँ अराजक निषेधका बिरुद्ध बैज्ञानिक निषेधको पक्षमा खडा हुनुहुन्छ । बर्ग सापेक्ष आधारमा समाजका कुन कुन बर्ग देखापरे र तिनका बीच कसरी संघर्ष चल्दै आयो भन्ने आधारमा नै उहाँले पृथ्वी नारायण शाहको पनि मूल्यांकन गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया