बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

गुरू पूर्णिमा । सवैले आ-आफ्नो गच्छे अनुसार गुरूको सम्झना गरेको देखियो । कसैले जन्मदिने आमा नै मेरो गुरू हुनुहुन्छ, धन्यवाद आमा ! भनेर फेसवुकमा लेखे । कतिपयले फेसवुकमै गुरूको महिमा गाए । कसैले त आधुनिक जमाना अनुसारको सबै कुरा सोध्ने र खोज्ने वित्तिकै तुरून्तै सिकाईदिने गुरू त ‘गुगुल’ नै हो भनेर गुगललाई गुरूको रूपमा पुकारेको पनि पाईयो । तर मैले गुरूको वारेमा फेसबुकमा एकशब्द खर्चिने जमर्को पनि गरिन न कि आमाको । बाहिरी दुनियाँलाई देखाउन फेसवुकमा लेखेर केही हुनेवाला देख्दिन म । फेसवुकका वालहरूमा गुरूचेला सम्बन्धको फोटो अनि शब्दहरू हेरिरहँदा म केवल सुकदेव ‘सहर’लाई सम्झिरहें । हामी कतिपय केटाकेटी उ वेलामा ‘सर’ नभनेर ‘सहर’ भन्थ्यौं । दाह्री जुँगाले छपक्कै छोपेको च्याँसे  र ख्याउटे अनुहार, खिरिलो पातलो शशीर तर लास्टै कडा सुकदेव सर । हमेशा मुखमा सुर्ती च्यापिरहनु पर्ने। स्कुलमा लठ्ठी नलिईकन हिंड्दै नहिड्ने । अहिले सम्झँदा लाग्छ सुकदेव सर गोठालो हुनुहुँदो रहेछ, हामीजस्ता दुईखुट्टे जनावरहरूको । कति दिन त पिटाई खाईने पीरले स्कुल नै जान्नथें म, आमा घिसार्दै मलाई स्कुल पुराउनुहुन्थ्यो । विहान स्कुलमा लाईन लगाउने वेलामा हातगोडा चेकजाँच गर्ने उहाँ सुकदेव सरकै काम । हातगोडा नधोईकन स्कुल जानेजति लाईनमा ‘हटने होईन डटी लड्ने’ भट्याएपछि कक्षाकोठातिर होईन हातगोडा धुन सीधै पँधेरोतिर दगुर्नुपर्थ्यो । स्कुल गएका हामी हातगोडा धुन पँधेरो पुग्दा पानी भर्ने पँधेर्नीहरू खिसीटिउरी गर्थे । कति साथीहरू लाजले पँधेरोतिर नगईकन घरतिर फर्किन्थे अनि भोलिपल्ट सुकदेव सरको वक्सिस स्वरूप डवल छडी थाप्थे । म जति कुटाई खानु परे पनि हातगोडा धोएर स्कुल नै फर्किन्थेँ । साथीहरू घर फर्केको दिन स्कुलबाट फर्कंदा उनीहरूको किताव घर पुर्याइदिनु मेरो ड्यूटी नै हुन्थ्यो । त्यसवापत साथीहरूबाट एकमुट्ठा चिट्ठा र दुईचारवटा प्लाष्टिकका गुच्चा बक्सिस पाउँथें । हरेक विहान हामी १० वजे स्कुल नपुग्न अनेक वहाना सृजना गर्थ्यौं । कहिले कहीं लाईन सकेर सबै विद्यार्थी कक्षाकोठा भित्र नजाउन्जेल हामी स्कुल नजिकैको बाँसको झ्याङमा छेलिएर वस्थ्यौं । भ्याएसम्म सुकदेव सर त्यहाँ पनि हामीलाई खोज्न आईपुग्नुहुन्थ्यो । स्कुल भरीमा विद्यार्थी सबैले मन नपराउने नै उहाँ सुकदेव सर । काम विशेषले सुकदेव सरको विदाको दिन हामी खुशीले छमछमी नाच्थ्यौं तर कोही विद्यार्थी विरामी परेर स्कुल नगए घरमै टुप्लुक्कै देखा पर्नुहुन्थ्यो स्वास्थ्य अवस्था वुझ्न सुकदेव सर ।

शिक्षक भनेको एउटा त्यस्तो झ्याल हो, जसको सहयोगमा विद्यार्थीहरू बाहिरी संसार देख्न सक्षम हुन्छन् । गाली गरेर, पिटेर अनि फकाएर जसरी भएपनि हामीलाई सुकदेव सरले बाहिरी संसार देखाउन सहयोग गर्नुभयो । आज सुकदेव सरले मैले लेखेको भावना पढ्नु होला या नहोला तर सुकदेव सर जस्ता गुरूहरूप्रतिको समर्पण हो यो । जिन्दगीमा मलाई सिकाउने  क्रममा थुप्रै गुरूहरूले उत्तिकै योगदान दिनुभयो तर पहिलोपटक कखरा घुमाउन सिकाउनुहुने सुकदेव सरलाई म नमन गर्छु ।
हिजोको दिनमा गुरूको स्थान अति विशिष्ठ थियो । गुरूले भनेको मान्नु, गुरूको कुरा नकाट्नु, गुरूको सेवा गर्नु । एकलब्यले आफ्नै शरीरको अंग काटेर गुरूदक्षिणा टकारेको हामीले पढेसुनेकै छाैं । तर हालैका दिनमा  गुरूको सम्मान हुन छाडेको छ । गुरूमाथि हातपात गर्ने, कालो मोसो लगाउने, जुत्ताको माला लगाईदिने अति नै घटिया काम समेत गर्न पछि पर्दैनन् चेलाहरू  । त्यसो त केही गुरूहरू अझै कुटेरै सिकाउनुपर्छ भन्ने पुरानो शिक्षण पद्दतिको पक्षपाती हुनुहुन्छ । त्यसैले त  हामी समाचार सुन्छाैं–’शिक्षकले विद्यार्थीको आँखा फुटाईदिए ‘, ‘शिक्षकद्वारा छात्रा वलात्कृत’ । आखिर यो सब किन त ? यही कारण भनेर निर्क्याैल निकाल्न गाह्रो छ । तर साधारणतय चिन्तन मननको खाँचो देखिन्छ, अपनत्वको खाँचो देखिन्छ । सुकदेव सरले जति पिट्नुहुन्थ्यो, त्यो भन्दा बढी मायाँ गर्नुहुन्थ्यो । त्यसैले त विरामी पर्दा उहाँ विद्यार्थीलाई भेट्न घरमै पुग्नुहुन्थ्यो । अभिभावकसँग पारिवारिक अवस्था, सुखदुःखको भलाकुसारी गर्नुहुन्थ्यो । तर अहिलेका गुरूहरू विद्यार्थीको शिक्षा र स्वास्थ्यमा भन्दा व्यक्तिगत फोकटका कुरा गर्नमा व्यस्त हुन्छन् । केही समय पहिले विदामा नेपाल जाँदा छोरा लिन स्कुल गएँ । छोराको पढाइको बारेमा सोधखोज गर्न मन थियो तर मिसहरू दशैंको चिट्ठा र पिकनिक अनि टुरको कुरा गर्नमा व्यस्त थिए । यसो भन्दैमा सबै गुरूहरू खराब हुनुहुन्छ भन्ने चाहिं पक्कै होइन । तर शिक्षक, अभिभावक अनि विद्यार्थी सबैले आफ्नो कर्तव्य विर्सनु हुँदैन । आफ्नो धरातल भुल्नु हुँदैन, अनि नैतिकता पनि । तर मलाई लाग्छ बाहिरी दुनियालाई देखाउन गुलियो बचन प्रयोग गरेर गुरूको वर्णन गर्दैमा त्यो गुरूभक्त हुँदैन । अात्मैदेखि गुरूको सम्मान हुँदैन भने त्यहाँ गुरूभक्त देखिंदैन । गुरूहरूप्रति देखावटी होइन अात्मीय कदरको खाँचो छ । त्यसैले त भनिन्छ नि -‘साइनोको कसिलो बन्धन भन्दा अात्मीयताको गाँठो नै बलियो हुन्छ भनेर ।’  गुरू पूर्णिमाले गुरू चेलाको सम्बन्धलाई अझै प्रगाढ बनाअोस्-यही कामना । ***
rkdura@gmail.com

तपाईको प्रतिक्रिया