सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – कैलालीमा सुधार गृहमा राखिएका युवकको शंकास्पद मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-४ भालुफाटाको नयाँ बाटो पुनर्स्थापना सुधार केन्द्रमा सोही ठाउँ २ का २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको हो ।

सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनको छतबाट बुधबार राति हाम फालेको प्रारम्भिक अनुमान रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिप्रेन्द्रकुमार पालले बताए । उनकाअनुसार छतबाट हाम फालेर गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तर शाहीको निधार, गर्धन, कम्मर र दुवै हातमा चोट लागेको देखिएको छ । सुधार केन्द्रबाट भाग्ने उद्देश्यले भवनको छतबाट हाम फालेको बुझिएको डीएसपी पालले शाहीले बताए ।

मृतकका परिवारले भने घटनाको प्रकृति हेर्दा शाहीको भवितव्य नभएर हत्या गरिएको आरोप लगाएका छन् । मृतकका बुवा धनराज जोशीले छोराको हत्या गरेको भन्दै निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरे । सुधार केन्द्रले विगत २५ दिनदेखि छोरालाई भेटघाट गर्न नदिएको दाबी गर्दै उनले कुटपिट गरेर छोराको हत्या गरिएको आरोप लगाएका छन् । लागुऔषध प्रयोगकर्ता रहेका शाहीलाई परिवारले सुधार केन्द्रमा गत पुसमा राखेका थिए ।

तपाईको प्रतिक्रिया