बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

सिङ्गै पृथ्वी प्राणीहरूको हो, तर यसको स्वामित्व लिन सक्नेमा मानिस मात्र छन् । विविधतापूर्ण धर्तीमा मानिस मात्र यस्ता प्राणी हुन् जो जहाँ पनि जिउन सक्छन् ।

सबै जीवजन्तु र वनस्पति धराको सबै स्थानमा पाइन्न । अफ्रिकामा पाइने जीवजन्तु र वनस्पति युरोप, अमेरिका या हिमाली भूक्षेत्रमा भेटिँदैन भने मरुभूमिमा बाँचिरहेका जीव तथा वनस्पति अन्य प्रकारको भूक्षेत्रमा देख्न–भेट्न सकिँदैन । तर, मानिस मरुभूमिदेखि हिमालसम्म, समथर भूभागदेखि पहाडसम्म जस्तोसुकै हावापानी र मौसम भएका ठाउँमा पनि पुगेका छन् । यस आधारमा सिङ्गै पृथ्वी मानिसको हो भन्न सकिन्छ ।

सुखद् एवम् सहज जीवन र सुन्दर भविष्यका निम्ति हरेक मानिस पृथ्वीको जुन कुनै कुनामा पुग्न र जीवनयापन गर्न सक्छन्, यो मानिसको प्राकृतिक अधिकार हो । यदि मानिसलाई यसप्रकारको अधिकार हुँदैनथ्यो भने न नेपालको काठमाडौं र चितवन बन्न सक्थे न संयुक्त राज्य अमेरिकालाई नै आजको रूप र अवस्थामा प्राप्त गर्न सकिन्थ्यो ।

सुखद जीवनयापनको इच्छाले डोर्‍याएर नै मानिसलाई ककेससदेखि कास्मिरसम्म, तिब्बतदेखि नाम्चेलगायतका नेपाली भूभागमा र युरोपदेखि अमेरिकासम्म पुर्‍याएको हो । सुन्दर भविष्यको खोजीमा मानिसले अन्तरिक्षका अन्य ग्रहहरूमा बसाइँ सर्ने योजना बनाउन थालेका बेला पृथ्वीभित्रैका कुनै सुरक्षित स्थानलाई उनीहरूले गन्तव्य बनाउन चाहेका छन् भने त्यसलाई अस्वाभाविक रूपमा लिनुपर्दैन । तर, यसप्रकार स्वतन्त्र जीवन बिताउन व्यक्तिले सार्वजनिक दायित्व निर्वाह गरेको हुनुहुँदैन ।

निश्चित देश, भूक्षेत्र, समुदाय या समाजको हित प्रवद्र्धनका लागि सार्वजनिक जिम्मेवारी औपचारिक तवरमै ग्रहण गर्ने व्यक्ति जसलाई सम्बन्धित देश या समुदायले सेवा, सुविधा र विशेष अधिकार पनि प्रदान गरेको छ, त्यस्ता मानिस भने इच्छा लागेको स्थान र समयमा बसाइँ सर्न स्वतन्त्र हुँदैनन् ।

अवकाश प्राप्त जीवनमा जोकोही कहीँ पनि जान या बसोवास गर्न सक्छन्, तर बहालवाला राजनीतिकर्मी (नेता), सेवारत कर्मचारी, प्रहरी या सेनाले एउटा देशबाट सेवा, सुविधा र विशेष अधिकार लिइरहेकै अवस्थामा तिनले अर्को कुनै मुलुकको नागरिकता या स्थायी बसोवासको प्रमाणपत्र लिन्छन् भने तिनलाई निम्नकोटिका राष्ट्रघाती तथा आपराधिक चरित्रको अवसरवादीका रूपमा बुझ्नु उचित हुनसक्छ ।

यसप्रकारका हजारौं राष्ट्रघातीको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउने महानतम काम गरेर लालबाबु पण्डित इतिहास स्मरणीय बनेका छन्, उनलाई कोटी–कोटी सलाम ।

नेपालमा जन्मेर, नेपाली जनताले रगत–पसिना बगाउँदै तिरेको राजस्वबाट तलब–भत्ता बुझेर साठी वर्ष उमेर पूरा गर्ने र त्यसपछिको जीवन समृद्ध मुलुकको नागरिक भएर बिताउन सार्वजनिक जिम्मेवारीमा रहँदै स्थायी बसोवासको अनुमति या नागरिकता लिई बस्नेहरूलाई लुटेरा भन्ने कि राष्ट्रसेवक नेपाली ? लालबाबुले प्रश्न उठाएका छन् । उनले प्रश्न मात्र उठाएर विषयलाई छोड्न पनि सक्थे, त्यसो गरेनन्, यसलाई गम्भीर प्रकृतिको समस्या मानेर समाधानको उच्चतम र निर्णायक उपाय पनि निकालेका छन् ।

जनताले तिरेको करबाट सेवा–सुविधा हसुर्ने, तिनै जनतालाई सेवाभन्दा बढी सास्ती दिने, हृदयमा दम र पाखुरामा बलियो मांसपेसी छइन्जेल देशको खाने, बाँकी जीवन विदेशी नागरिकको रूपमा बिताउन चाहने र आफ्ना सन्तान–दरसन्तानसम्मलाई विदेशी नागरिक बनाएर नेपाल बिर्साउने धन्दामा लागेकाहरूलाई खोजी–खोजी सतहमा ल्याएर कारबाही गर्न लालबाबुले लिएको अग्रसरताले पहाडमा जन्मेकै भरमा आफूलाई राष्ट्रवादी ठान्नेहरूलाई लज्जित तुल्याएको हुनुपर्छ ।

गहिरो श्यामवर्णको अनुहार थप ओझेलमा पर्ने गरी रङ्गीन ढाकाको टोपी ढल्काउने लालबाबु पण्डित देशप्रति कति संवेदनशील छन् र राष्ट्रघातीहरूको पहिचान गर्ने घ्राणशक्ति उनमा कति छ भन्ने अनुमान उनी मन्त्री बन्नुअघिसम्म सायदै कसैले गरेका थिए । नेपाललाई माया गर्नेहरू पहाडमै जन्मन्छन् भन्ने अघोषित मान्यताको धज्जी उडाउँदै लालबाबुले जे गरे त्यसनिम्ति उनी स्मरणीय त बनेकै छन्, तराईवासीप्रति हेर्ने परम्परागत दृष्टिकोण बदल्न पनि उनले ठूलो योगदान पुर्‍याएका छन् ।

परम्परावादीहरू देशको भौतिक सीमारेखाको रक्षा र सम्मान गर्नुलाई मात्र राष्ट्रवाद ठान्छन्, वास्तवमा सीमाको पहरेदारी मात्र राष्ट्रवाद होइन, राष्ट्रलाई कुनै पनि प्रकारले लाभ पुर्‍याउने सोच–विचार राष्ट्रवाद हो भने क्षति पुर्‍याउनु राष्ट्रघात । देशको शान्ति सुरक्षामा खलल पुर्‍याउनु, आर्थिक विकासमा अवरोध पैदा गर्नु र स्वदेशको हित प्रतिकूल हुने हरेक क्रियाकलाप राष्ट्रघात हो । देशबाट लिनमात्र खोज्ने दिन नचाहनेहरू, देश विखण्डनको सपना देख्ने–देखाउनेहरू, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतामा क्षति पुर्‍याउनेहरू पनि राष्ट्रघाती नै हुन् ।

तर, हामीले नेपाली मातृभाषी पहेँलो चर्मधारी र पहाडवासीबाहेकलाई राष्ट्रवादी स्वीकार गर्न हिचकिचायौँ, अझै हिचकिचाउँदै छौँ । यस्तो पुरातन धारणा बोक्नेहरूलाई लालबाबुले सधैँ दाग बस्नेगरी झापड लगाइदिएका छन् । डीभी परेका र अन्य तरिकाले विदेशको नागरिकता या स्थायी बसोवासको अनुमति पाएका तथाकथित राष्ट्रसेवक कर्मचारीलाई कारबाही गर्ने दृढता प्रकट गरेपछि लालबाबुलाई सबभन्दा ठूलो अड्चन सरकारभित्रैबाट पैदा गरियो । उनको आफ्नै दल एमालेभित्रबाट पनि उनलाई दबाब दिइयो । तर, लालबाबु डगेनन्, ऐन बनाएरै राष्ट्रघातीहरूलाई कारबाही गर्ने सफलता उनलाई प्राप्त भएको छ । यसनिम्ति लालबाबु र आमराष्ट्रवादी नेपाली बधाईको पात्र बनेका छन् ।

मानिसको जन्म जुन स्थान, कुल, वंश या समुदायमा भए पनि यी पृथ्वीका उन्नत जीवात्मा हुन् र यिनलाई जहाँकहीँ रहेर जिउने अधिकार रहन्छ दार्शनिक दृष्टिमा । हरेक मानिस सुख र सन्तुष्टि प्राप्तिका लागि सदैव व्यग्र रहन्छ र जन्मस्थानभन्दा बेग्लै भूभाग या देशमा कसैले आफ्नो भविष्य सुरक्षित देख्छ भने उसलाई त्यहीँ पुग्ने र जिउने स्वतन्त्रता रहन्छ । तर, राष्ट्रसेवकको आवरणमा रहेका नेता, कर्मचारी आदिले नै ‘नाठो मुलुक’प्रति मन दिँदै ‘पति मुलुक’प्रति उपेक्षाभाव राख्छन् भने यीभन्दा ठूलो घाती खोज्न चन्द्रशमशेर उपाध्यायसम्म पुग्नुपर्दैन ।

राष्ट्रघातीहरूको पहिचान गरी कारबाही गर्ने सफलता प्राप्त गर्ने राष्ट्रवादी अगुवा लालबाबुलाई फेरि एकपटक सलाम ।

तपाईको प्रतिक्रिया