बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

duraritukumar‘मलाई जस्तो को’लाई पो भा’होला, दिनमा हिड्ने सूर्यलाई थाहा होला ।’ सायद तपाई हामी प्रायले सुन्ने गरेकै लोक गीतको एक अंश हो यो । हुन पनि कसलाई कुन खालको र कति पीरताप परेको छ भनेर व्यक्त नगरेसम्म थाहा हुँदैन । आफूमाथि आईपरेको पीडा, व्यथा र समस्याहरु हामी बोलेर, लेखेर अनि गीतको माध्यमबाट गाएर व्यक्त गर्ने गर्दछौं । सायद माथि उल्लेखित गीतको रचनाकारले पनि केही न केही पीर तापमा पिल्सिएर नै यो गीतको सृजना गरेको हुनुपर्दछ । भलै अहिलेसम्म मानिसको वास्तविक पीर, ताप र मनका पीडा व्याथाहरु मापन गर्ने कुनै उपकरण भने बनेको पाईंदैन । मनमा अनेकौं पीडा र व्यथाको पोको बोकेर हिंडिरहेको भए पनि कसैले ‘के छ हालखबर ?’ भनेर सोधनी हुँदा सबै ठीक छ, राम्रै छ भनेर हामी उत्तर दिन्छौं । जतिसुकै समस्याको भूमरीमा जेलिएको भएपनि वास्तविकता लुकाउँछौं हामी ।
थोरै प्रसंग बदल्नु पर्दा अहिलेको जमानामा भौगोलिक रुपमा जतिसुकै टाढा भए तापनि सूचना जगतले छलाङ मारेको कारण इन्टरनेटको पहुँच भएमा संसारको कुनै पनि कुनामा रहेको जो कोहीसँग सजिलै कुराकानी र आफ्नो भावना साटासाट गर्न सक्दछौं । त्यस्तै रातीको २ बजेको हुँदो हो फेसबुकमा नेपालबाट साथीले अभिवादन टकारे ‘नमस्ते’ । मैले सहर्षस्वीकार्दै उत्तर बुझाएँ ‘नमस्ते, नमस्ते’ सञ्चै ? दुवैतर्फबाट सञ्चो विसञ्चोको औपचारिकता पुरा भयो । मैले आत्मीयता साँधेर आफ्नो जापान बसाईको वास्तविक यथार्थता बताएँ-‘ठीकै छ, व्यस्त छु, यस्तै-यस्तै छ जिन्दगीको यात्रा ।’ कुराकानीको क्रम चल्दै जान्छ । उसले कमाई धमाईका पाटो कोट्याउँछ । उत्सुकताका साथ धेरै कुराको सोधनी हुन्छ । मैले वास्तविकताको धरातल टेकेरै वास्तविकता नै बताउने कोशिस गर्दछु । तर उसले पत्याए पो – न त मेरो कुरा नै पत्याउँछ न त आफ्नो जापानप्रतिको धारणा नै परिवर्तन गर्दछ । जति नै सुकै वास्तविकता बताए पनि उसले पत्याउने जमर्कोसम्म गर्दैन । उल्टै उसले मलाई जापान गएर सेटल भएर आफूलाई वास्ता नगरेको गुनासो पोख्छ । भनिन्छ ‘नमरी स्वर्ग देखिंदैन’ । उसले सोच्दो हो वाह ! क्या छ फलानोको जिन्दगी, जापान गएको छ । २/४ सालै भयो, पैसा पनि कमाएको होला । जग्गा जमीन किनिसक्यो होला – घर पनि बनायो कि ? काठमाण्डौ या त अन्तै कतै ? यस्तै यस्तै उसको सोचाई । मैले कल्पनामा पनि नबनाएको महल वास्तविकतामा बनाइदिन्छ उसले । तर उसलाई के थाहा जापानमा कति गाह्रो छ भनेर ! म जहाँ यही बसेर भोगेको छु, देखेको छु अनि अनुभव गरेको छु त्यो वास्तविकता उसलाई भनेर पनि कुनै हालतमा पत्याउन मञ्जुर छैन उ । हो त रेहछ आखिर ‘नमरी स्वर्ग देखिन्न ।’
यो विदेश हो, जे भए पनि आखिर यो विदेशै हो । आफ्नो भन्ने कोही हुँदैन । आफ्नो लागि सबथोक आफैले गर्नुपर्छ । जापान आएर केही वर्ष विताउनु भएकाहरुले भोग्नु भएकै होला, कतिले भोग्दै हुनुहुन्छ र कतिले भोग्दै जानुहोला । तर एक दिन जोतेर तीन दिन हल्लिन पाइने आफ्नै गाउँघर अर्थात नेपालजस्तो त हुँदै होइन जापान । न त विरामी पर्दा सजिलै मनतातो पानी र आँटो पाइने ठाउँ हो जापान । हो, अहिले यति कुरा भन्दै गर्दा हिजोको दिनतिर फर्कने हो भने मैले पनि नेपालमा त्यस्तै खाले दिनहरु विताएको छु । अल्छी लाग्यो भनेर जोत्दा जोत्दैको गोरु फुकाएर घर फिरेको पनि छु । मध्य साउनमा घरको काम वाल मतलव गरेर साथीहरुसँग फिल्म हेर्न गएको पनि छु । तर सप्रिन चाहनेहरुको लागि विग्रेर हिड्नेहरुलाई ठेगान लगाउने ठाउँ हो जापान । यस अर्थमा विग्रेर हिड्नेहरु मात्रै जापान आउँछन् भन्ने मनसाय भने पटक्कै होइन तर नेपाल जस्तो र नेपालमा बसेर सोचेजस्तो सजिलो छँदैछैन जापान । आ-आफ्नो विगततिर घोत्लिने हो भने सबैले एक पटक दुःख पाएकै हुन्छ जापानमा । मैले पनि के चाहिं गरिन जापानमा ?  भाँडा माझें, भारी बोकें, रातको ३ बजे उठेर हिउँ परेको चिप्लो बाटोमा मोटरसाइकल पल्टाउँदै, चिप्लिँदै पछारिंदै पत्रिका बाँडें । घण्टौं साइकल पेलेर काममा जाउ, काम सकेर राती नै पत्रिका बाँड्न जाउ पत्रिका बाँडेर घर फर्केपछि एकैछिन मिलिक्क निदाए झैं गरे अनि झोला बोकेर फेरि स्कुल जाउ, स्कुल सकिएपछि खानावानाको व्यवस्था गर्नु त छँदैछ फेरि काममा जाने बेला भैहाल्छ । कति व्यस्त र गाह्रो छ जापान ? त्यही हो ‘व्याको गाईलाई मात्र थाहा हुन्छ’ भने झैं भोग्नेलाई मात्र थाहा छ वास्तविकता । नेपालमा आमाले पकाएर दिनुभएको खाना खाँदा तरकारीमा नून चर्को भयो भनेर खाना बसेको भागै छाडेर हिंडेजस्तो होइन जापान । ‘वावा तपाईलाई फोन गरिरहेछु, निद लागिरहेको छ, पाउरोटी खाइरहेको छु । आँखाबाट आँसु झरिरहेछ । सरी वावा ! मेरो कलेजलाई यसपटक फि तिर्दा पैसा सबै सकियो व्याज तिर्ने पैसा अर्को महिना पठाउँला, साहु वालाई यही कुरा भनिदिनुस्’ भनेर नेपाल फोन गर्ने मजस्ता साथीहरु अझै जापानमा सुनौलो भविष्यको गोरेटोमा लम्किरहनुभएको छ । हो सुनौलो सपना देखेर जापान आएको त्यही सुनौलो सपनाका लागि नै हाडछाला घोटिरहेका छन् । जापान आएर संघर्षका उकाली चढ्न खोज्नेहरु यो उकाली उक्लेर भञ्ज्याङ्गमा पुगेपछि उतापट्टकिो संसार छुट्टै र रमाइलो हुन्छ भन्ने कुरा कहिल्यै विर्सन हुँदैन भन्ने लाग्दछ र यही कुरा जापानमा सफलता हात पारेका अग्रजहरु बताउनुहुन्छ । अहिलेका कतिपय युवापिंढी जापान आएर जापानलाइ नै सक्दो सत्येसराप गर्ने अनि जापान छाडेर नेपाल फर्कन पनि नसक्ने धेरै देखिन्छन । हरेक समय उनीहरु एउटै कुरा भन्छन् ‘तनाब छ जिन्दगी’ । त्यही तनाबले नै त मान्छेलाई संघर्ष गर्न सिकाउँछ, तिखार्छ, मस्काउँछ, चम्काउँछ अनि पूर्ण परिपक्क मान्छे बनाउँछ । यो कुरा कदापी विर्सन हुँदैन-संघर्ष गर्नेहरु बाँच्छन् नसक्नेहरु लापत्ता भएर जान्छन्-डार्विनको सिद्धान्तजस्तो ।

अघिल्लो हप्ता एकजना नेपाली भाईसँग भेट भयो । उनका अनुसार ४ महिना अगाडि कुक भिसामा जापान छिरेका । १२ लाख रुपैयाँ ठाउँको ठाउँ तिरेर जापानमात्रै छिराउने शर्तमा उनी जापान आएका । आफूलाई जापान छिराउने साहुले काम नदिएपछि अर्कै साहुकोमा काम गर्छन् उनी मासिक ८० हजार येनमा । ८० हजार जापानी येनको नेपाली कति रुपैयाँ हुन्छ उनलाई थाहा छैन । थाहा यति छ कि उनले ८० हजार कमाउन विहान ९ बजेदेखि रातीको १२ बजेसम्म महिनाभरी  काम गर्नुपर्छ । उनले कुराकानीकै क्रममा मलाई सोधे दाई तपाइको तलव कति हुन्छ ? मैले भनें भाई केटी मान्छेको उमेर र केटामान्छेको तलव सोध्नु हुँदैन नि ! उनले आफूले सुनेको कुराहरु सुनाउँदै गए । हाम्रो तिरको एकजना दाइ हुनुहुन्छ । उहाँकी श्रीमती पनि जापानमा नै हुनुहुन्छ । दाइले भन्नुभएको भाउजुको कमाई एक महिनामा ४ लाख रे । मैले मनमनै हिसाव गरें । अहिलेको नेपाली एक लाखको दर करीव १२ मान । १२ लाई ४ ले गुणा गर्दा ४८ मान । साँच्चै कमाउला र ४ लाख ? कमाउनेहरुले कमाएका पनि होलान तर मैले भने एक महिलाले पार्ट टाइम काम गरेर महिनामा ४८ मान कमाउन कति धामा हुन्छ भन्ने कुरा प्रस्टै देखें । तर पनि त्यो अन्जान भाइलाइ सम्भव छैन भन्ने कुरा नै भएन । कुराको प्रसंग टुङ्ग्याउँदै मैले भनें कमाउन पनि सक्छन् ।
वास्तवमै सोच पनि त्यही हुन्छ नेपालमा । जापान आउनु भन्दा पहिले कागजपत्र बनाउन शिक्षा मन्त्रालय जाँदा एकजना हाकिमले हामीलाई नियाल्दै भनेका थिए-अवको दुइचार वर्षमा घर बनाउँछौ । मनमनै सोचें तिम्रो मुखमा दूधभात जाओस् । तर जापान आएपछि ६ महिनासम्म काम नपाएर हामी आवुरा यामामा चरा लखेट्दै विताइयो । यो कुरा नेपालकालाई भनेर पत्याउँदैनन् । हरेक तह र तप्काका मान्छेहरु यही सोच्छन् जापान छिरेपछि त कमाइ भैहाल्छ । एक कार्यालयको हाकिमदेखि जापान आउन काठमाण्डौको गल्लीगल्लीका कन्सल्ट्यान्सी अथवा भाषा स्कुल चाहार्दै हिड्ने विद्यार्थी, अनि छोरालाई विदेश पठाउन साहुको घर चाहर्ने बाउको सोचाइ उस्तै उस्तै हो-जापान छिरेपछि त कमाइ भैहाल्छ । केही दिन अगाडि एक जना चिनजानका साथीले भने-नेपालमा भएका साथीहरु सबै जापान आउँछु भन्छन्, यहाँ यस्तो छ भन्यो पत्याउँदै पत्याउँदैनन् । मैले भने-वास्तविक कुरा भन्दा त पत्याउँदैनन् भने हप्तामा वल्ल वल्ल एक दिन मिलेको विदामा अग्ला भवन अगाडि कालो चस्मा लगाएर फोटो खिच्यो अनि फेसवुकमा हालेपछि सबैले भन्छन् नि मोज छ जापानमा । तर विचरा उनीहरूलाइ के थाहा ‘नमरी स्वर्ग देखिंदैन’ ।
rkdura@gmail.com

तपाईको प्रतिक्रिया