आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

गोरखा- गत वैशाख १२ गएको विनाशकारी भूकम्पले बस्ती ध्वस्त भएपछि गोरखाको आरुघाट बजारवासीले राहतसँगै मुआब्जाको माग गरेका छन् ।

एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा आरुघाट बजार डुब्ने भन्दै प्रभावित गाविसवासीले घरको राहत रकमसँगै घरजग्गाको मुआब्जा मागेका हुन् । ‘आरुघाटको ६०० घरधुरी भूकम्पले ध्वस्त भयो’ – स्थानीयवासी कृष्णकाजी श्रेष्ठले भन्नुभयो, – ‘वर्षा लागिसक्यो नयाँ टहरा बनाउने/नबनाउने टुङ्गो छैन ।’

मनसुन सुरु हुन दुई हप्तामात्रै बाँकी रहँदा आरुघाटवासीले टहरा निर्माणको काम सुरु गरेका छैनन् । उनीहरु घरलुचौर, अमिलीचौर र भीमोदय उमाविको प्राङ्गणमा त्रिपाल टाँगेर दिनरात कटाइरहेका छन् । ‘यही ठाउँमा नयाँ घर बनाएर बस्ने गाउँलेको चाहना छैन’ – श्रेष्ठले भन्नुभयो, – ‘त्रिपाल, टहरा छाउने जस्तापातासँगै यही बेला सरकारले मुआब्जा दिओस् ।’ बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा गोरखाको १४ गाविस र धादिङको १३ गाविस प्रत्यक्ष प्रभावित हुनेछन् । ‘पक्की घर भुइँमा ढल्यो’ – उहाँले भन्नुभयो, – ‘भत्केको घरको जगमा फेरि अर्को घर कसरी ठड्याउने ? र कसरी बस्ने ? ‘  सरकारले जहाँ लैजान्छ त्यहीँ बस्न आफूहरु तयार रहेको उहाँले बताउनुभएको छ । आरुचनौटे गाविस, आरुटारका स्थानीयवासी डा. शंकरकुमार श्रेष्ठको धारणा पनि त्यस्तै छ । श्रेष्ठ भन्नुहुन्छ– ′डुबान हुने हो कि होइन निर्क्यौल गर्नुपर्‍यो त्यसपछि राहतको कुरो हुन्छ ।’ अहिले घर बनाउने अनि पछि डुबानमा पर्दा नराम्रो हुने हुनाले सरकारले के हो स्पष्ट धारणा स्थानीयलाई दिएर काम गर्नु र्ने उहाँको भनाइ छ । श्रेष्ठले आरुटारलाई पर्यटकीय सीटीको रुपमा विकास गर्ने योजना स्थानीयवासीहरुको रहेको हुँदा सोही अनुरुप सहयोग गर्न पनि सरकारसँग माग गर्नुभयो ।

आरुघाट क्षेत्रमा घरमात्रै होइन पहाडको ढिस्को खसेर ठूलो पहिरो पनि गएको छ । बूढीगण्डकी नदी पारी धादिङको विशालनगरतर्फका पहाडको ढिस्को निरन्तर खसिरहेको स्थानीयवासी बताउँछन् । पहिरोले बूढीगण्डकीलाई अवरोध गर्नसक्ने भएकाले भूकम्पपीडित झन् पीडामा छन् । ‘सरकारले खेतबारी, घरजग्गाको मुआब्जा दिए एकतिर गएर बस्न हुन्थ्यो’ – आरुघाटका कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो, – ‘घरटहरा निर्माण गर्ने पैसो बाँड्नुभन्दा हामीलाई यहीबेला मुआब्जा दिए हुन्थ्यो ।’ – एकीकृत बस्ती बनाएर आफूहरुलाई एकै ठाउँमा राखे पनि खुसी हुने आरुघाटवासीले जनाएका छन् । ‘बूढीगण्डकी जलविद्युतसंग  जोडिएर सरकारले राहतका कार्यक्रम ल्याओस्’ – स्थानीय चित्रदेव शाक्यले भन्नुभयो, – ‘घर भत्केर भग्नावशेष भएको ठाउँमा बस्ने मन छैन ।’ महाभूकम्प र त्यसपछि गएको झट्काले आरुघाट बजारका घर बस्नै नहुने गरी भत्केको छ ।

त्यस्तै गोरखाको तान्द्राङ, बोर्लाङ, नाम्जुङ, बुङ्कोट, फुजेल, दर्वुङ्ग, घ्याल्चोकलगायतका गाविसमा रहेका घर भूकम्पले भत्काएको छ । त्यस क्षेत्रका मानिस अहिले बारीमा त्रिपाल टाँगेर बसेका छन् । बूढीगण्डकी आयोजना निर्माण हुँदा यी गाविस पनि प्रत्यक्षरुपमा प्रभावित हुन्छन् । उनीहरुले पनि राहत रकम वितरणसँगै मुआब्जा वितरण गर्दा आफूहरुलाई राम्रो हुने बताएका छन् ।

बूढीगण्डकी जलविद्युत् आयोजनाका अध्यक्ष डा. लक्ष्मी देवकोटाले यही बेला प्रभावित क्षेत्रका वासिन्दालाई मुआब्जा दिने गरी कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालयसँग छलफल गरेर आयोजनाबाट प्रभावित भएका स्थानीयवासीलाई सहयोग गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने देवकोटाको भनाइ छ । ‘आयोजना निर्माण हुँदा पानीको सतहले डुबाउने क्षेत्रका प्रभावितलाई राहतसँगै मुआब्जा दिनसके राम्रो हुन्थ्यो’ – उहाँले भन्नुभयो, ‘अस्थायी टहरा निर्माण, स्थायी घर निर्माणका लागि बजेट दिने त्यसपछि आयोजना निर्माणको क्रममाः मुआब्जा वितरण गर्दा राज्यलाई आर्थिक भार बढी पर्छ ।’ – आर्थिक भारबाट मुक्ति पाउन अहिले नै मुआब्जा वितरण, बस्ती विकास गरी स्थानान्तरणलगायतका कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरिएको छ । ***

तपाईको प्रतिक्रिया