आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाण्डाै – शनिवार गएको महाभूकम्पबाट पीडितहरूको लागि विदेशी सहयोगहरू अाइरहेको बेला चीनको विभिन्न प्रान्तीय सरकारले पनि करीव ३२ करोड रूपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ । चीनको दक्षिण पश्चिमी प्रान्त फुजियान, युनान तथा तिब्बतले सहयोग घोषणा गरेको हो । नेपालमा गएको महाभूकम्पप्रति उक्त प्रान्तका पार्टी सेक्रेटरी एवं गर्भनरले पनि गहिरो दु:ख समेत व्यक्त गरेका छन् । चीनको अन्य प्रान्तीय सरकारले समेत नेपालमा सहयोगको इच्छा व्यक्त गरेको बताइएको छ ।

नेपालले चीन सरकारसमक्ष उद्धारका लागि अति आवश्यक वस्तुहरू हेलिकप्टर, डोजर, चिकित्सकिय सामग्री, अन्य इक्युपमेन्ट तथा खानेकुरा लगायतको माग गरेको बुझिएको छ । घाइतेहरूको उद्धारलाई मुख्य प्राथमिकतामा राखेको चीनले चरणबद्धरुपमा पुनर्वास र पुननिर्माणका लागि समेत आवश्यकीय सबै किसिमका सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको दूतावासका काउन्सिलर रामप्रसाद सुवेदीले बताउनुभयो ।

नेपालको माग मध्य उच्च हिमाली क्षेत्रमा उडान गर्नसक्ने तीनवटा हेलिकप्टर तिब्बत हुँदै सोमबार अबेर रातीसम्म काठमाण्डौ अवतरण गर्ने सम्भावना रहेको छ । चीनले पहिलो चरणमा यसअघि नै अापतकालीन उद्धारका सामग्री, खाद्य सामग्री, पानी, टेण्ट, कम्मल लगायत १ सय ८६ टन उद्धार सामग्री काठमाण्डाै पठाउनेछ ।त्यसो त दोस्रो चरणको लागि २ सय टन सामग्री पनि तयारी अवस्थामा राखिएको दूतावासले जनाएको छ । डोजर लगायत ठूला इक्युपमेन्टहरू पठाउनको लागि स्थलमार्गमा अवरोधका कारण पठाउन नसकिएकोले दुइ मुलुक जोड्ने राजमार्ग छिटो खोल्नुपर्नेमा समेत चीनले चासो देखाएको छ ।व्यक्तिगत रूपमा स्वतस्फुर्त सहयोग गर्न चाहनेहरूको संख्या पनि उल्लेख्य रहेको बताइए पनि संकलित रकम र जिन्सी के कसरी पठाउने भन्नेमा अन्याैल रहेको बताइएको छ ।***

तपाईको प्रतिक्रिया