सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – एमआरपी राहदानीलगायतका जापानमा रहेका नेपालीका बिभिन्न समस्याहरुका बारेमा आवश्यक छलफल, सल्लाह सुझाव आदान-प्रदान एवं सहकार्य गर्ने उद्देश्यले आज नेपालीहरुको एक प्रतिनिधि मण्डल टोकियोस्थित नेपाली राजदूतावासमा गएर एक ज्ञापन पत्र बुझाएको छ ।

एमआरपी राहदानी बनाउने सम्बन्धमा देशभित्र मात्र नभएर जापानमा रहेका नेपालीहरुले पनि बिभिन्न समस्या झेल्नुपरेको अवस्था र त्यसबाहेक नेपालीहरुका अन्य समस्याका बारेमा आवश्यक छलफल, सल्लाह सुझाव आदानप्रदान एवं सहकार्य गरी सहजीकरणका लागि संभावित पहल गर्न सकियोस् भन्ने हेतुले राजदूतावास पुगेको टोलीले जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईलाई एक ज्ञापन पत्र बुझाएको हो ।

एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले राजदूतावासमा सर्बसाधारणका लागि फोन सम्पर्कमा भईरहेको समस्या, सर्बसाधारणले एमआरपी राहदानी आबेदन फाराम भर्दा ब्यहोर्नुपरेको समस्या, एमआरपी राहदानी आउनमा ढिलासुस्ती भईरहेको समस्या, नेपालीका भबितब्य एवं आकस्मिक समस्यामा दूतावासको भूमिका, जापानमा जन्मेका नेपाली नाबालकहरुको जन्मदर्ता, बिबाह दर्ता, जापानको सवारी चालक अनुमति पत्र लिने सम्बन्धमा देखिएका समस्याहरुका बारेमा बूँदागतरुपमा ज्ञापनपत्र बुझाई राजदूतावासको ध्यानाकर्षण गराएको थियो । अध्यक्ष पोखरेलले ज्ञापन पत्र पढेर सुनाएपछि राजदूत डा. भट्टराईलाई हस्तान्तरण गरिएको थियो ।

ज्ञापन पत्र बुझ्दै राजदूत डा. भट्टराईले फोन सम्पर्कमा आईरहेको प्राविधिक समस्यालाई तत्काल ब्यवस्था गरिने, राहदानी फाराम भर्नमा देखिएका समस्या निराकरणका लागि एनआरएन लगायत यहाँ भएका संघसंस्थाहरुसंग सहकार्य गर्दै बेला बेलामा नियमित वर्कशप कार्यक्रमको आयोजना गरि बिभिन्न सहरमा रहेका नेपालीहरुलाई फ़र्म भर्ने तरिका बारे जानाकारी गराउँदै जाने, एमआरपी राहदानी तयार भई आउनमा भईरहेको ढिलाईलाई कम गर्न हाल हरेक हप्ता राहदानी फ़र्म इएमएस मार्फत पठाईने गरिएको, आकस्मिक सेवाका लागि छिट्टै कुनै न कुनै ब्यवस्था गरिने, जन्म दर्ता र बिबाह दर्ताका सम्बन्धमा नियमअनुसार कार्यसम्पादन हुँदै आएको र खासै समस्या नभएको, भएमा तत्काल समाधानतर्फ कदम चालिने जानाकारी दिनुभएको थियो ।

जतिसक्दो छिटो एमआरपी (MRP) लिन राजदूत डा. भट्टराईको आग्रह
एक अर्को प्रसंगमा राजदूत डा. भट्टराईले जतिसक्दो छिटो एमआरपी राहदानी लिन आग्रह गर्नुभएको छ । सन् २०१५ को नोवेम्वर २४ पछि हस्तलिखित राहदानीलाई मान्यता नदिईने भएकोले एमआरपी बनाउनका लागि अब ढिला नगर्न जापानबासी नेपालीहरुलाई आग्रह गर्नुभएको हो । बैदेशिक भिसा लिने प्रयोजनमा राहदानीको म्यादअवधि कम्तिमा पनि ६ महिना भन्दा बढि हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता अनुसार सन् २०१५ को मई महिनापछि हस्तलिखित राहदानी कुनै पनि राष्ट्रको कूटनीतिक नियोगले स्वीकार नगर्ने भएकोले अब एमआरपी राहदानी बनाउने समय १६ महिना मात्र बाँकी रहेको तर्फ पनि सो अवसरमा राजदूत डा. भट्टराईले ध्यानाकर्षण गराउनुभयो ।

सो अवसरमा उपनियोग प्रमुख तापस अधिकारीले राहदानी निबेदकको आबेदन फ़र्ममा आवश्यक प्रमाणहरु नजुटेको, विवरणहरु छुटेको वा नमिलेको जस्ता बिशेष परिस्थितिबाहेक ढिलोमा तीन महिनाभित्रमा एमआरपी राहदानी आउने गरेको बताउनुभयो । यसलाई थप चुस्त र दुरुस्त गराउन दूतावास अत्यन्त सजग र सचेत रहेको पनि बिश्वास दिलाउनुभयो । बिशेष कारणवश लामो समयसम्म राहदानी हात नपरी बैदेशिक भ्रमण वा अन्य प्रयोजनमा समस्या नहोस् भन्नका लागि दूतावासले अस्थायी राहदानी जारी गर्ने गरेको पनि उहाँले जानकारी गराउनुभयो ।

सो अवसरमा प्रतिनिधि मण्डलको तर्फबाट एनआरएन अध्यक्ष पोखरेलले नेपाली राजदूतास र जापानबासी नेपालीहरुबिचको सुमधुर सम्बन्धलाई थप सुदृढ गर्दै यहाँका बिद्यमान समस्याहरुलाई सम्बोधन गर्न दूतावाससंग सहकार्य गरी अगाडि बढ्न एनआरएन सँधै तयार रहेको बताउनुभयो । उहाँले आगामी सेप्टेम्बरमा जापानमा हुन गईरहेको एनआरएन आईसीसीको क्षेत्रीय सम्मेलन सफल पार्न पनि दूतावासको आवश्यक सहयोग र सहकार्य रहने बिश्वास ब्यक्त गर्नुभयो ।

सो अवसरमा एमआरपी राहदानी लिने सन्दर्भमा समस्या भोग्दै आईरहेका प्रतिनिधि पात्रहरु ईन्दिरा सुजुकी, सिर्जना श्रेष्ठ, दम्मर थापा लगायतका ब्यक्तिहरुले पनि आ-आफ़्ना समस्याहरु अवगत गराउनुभएको थियो भने दूतावासका तर्फबाट समस्या समाधान गर्न आफुहरु लागिपरेको उपनियोग प्रमुख अधिकारीले बिश्वास दिलाउनुभएको थियो ।

प्रतिनिधि मण्डलमा एनआरएन जापानका उपाध्यक्षद्वय सुदन थापा र नरबहादुर थापा, महासचिव मुक्तिराम खनाल ‘बिनोद’, सदस्यद्वय दिपक थापा र सौगात गुरुङ, एनआरएन हिरोसिमाका संयोजक मेघनाथ कँडेल, एनआरएन हिरोसिमाका सल्लाहकार रविलाल गैरे, एनआरएन आइसीसीका सदस्य ओम गुरुङ, एनआरएन जापानका सल्लाहकारसमेत रहेका नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ल लगायतका ब्यक्तिहरु संलग्न रहनुभएको थियो । प्रतिनिधि मण्डलसंगको अन्तरक्रियामा राजदूत डा. भट्टराई, उपनियोग प्रमुख अधिकारी र दूतावासका सहचारी रेवतीबहादुर केसीको सहभागिता रहेको थियो ।

 करिव दुइघण्टासम्म चलेको अन्तरक्रियामा दूतावास र यहाँको नेपाली कम्युनिटीबिच आपसी सहकार्य गरी यहाँका नेपालीहरुका राहदानी लगायतका समस्यालाई हल गरिनुपर्ने त्यसका लागि आपसी संवाद जारी राखिनुपर्ने, नागरिकका गुनासाहरुको सुनुवाई हुनुपर्नेमा जोड दिईएको थियो । ****
IMG_0140 IMG_0141 IMG_0147 IMG_0150 IMG_0153 IMG_0157 IMG_0160 IMG_0164 IMG_0171

तपाईको प्रतिक्रिया