शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

Ganesh Lamaगणेश लामालाई धेरैले डनकारुपमा चिन्छन् । सम्पत्ति शुद्धीकरणले पनि अकुत सम्पत्ति आर्जन गरेको भन्दै दायर मुद्दामा विशेष अदालतले करोडौं धरौटी मागेर छाडेको छ । तिनै लामा अहिले विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट काभ्रे-२ बाट चुनाव लड्दैछन् । लामासँग गरिएको कुराकानी

हिजो आज खुबै व्यस्त देखिनुहुन्छ नि राजनीतिमा ?

हिजोहाज मात्रै हैन केहिबर्ष पहिले देखि नै राजनीतिमा व्यस्त छु । तर चुनाव आईरहेकाले हिजो आज अलि व्यक्त भएको हु । राजनीति गर्नेहरुको लागि चुनाव एउटा ठूलो पर्व हो । पर्वमा त व्यस्त हुनै पर्‍यो नी हैन र ?

के भन्छन काभ्रेली जनता ?

काभ्रे क्षेत्र नं २ मेरो चुनावी क्षेत्र हो । म अहिले मेरो क्षेत्रको हरेक घरमा पुगेर जनताको पिर व्यथा दुःख सुः ख सुनिरहेको छु । सबैको एउटै माग छ, देशमा शान्ति आओस, संविधान बनोस र देश विकास होस । यो माग एउटा चुनावी क्षेत्रको मात्र नभई समग्र देशबासीको माग हो । र मैले चुनावी अभियान थालेदेखी भन्ने गरेको दुखी गरिव वेरोजगार असाहय जनतालाई राजनीतिक दलहरुको वात हैन भात चाहिएको छ । कुरा हैन काम चाहिएको छ । जुन कुरा जनताले पनि बुझेका छन र मैले पनि बुझेको छु ।

जित्नुहुन्छ त चुनाव ?

चुनाव भनेको प्रतिस्पर्धा हो । प्रतिस्पर्धामा हार र जीत स्वभाविक रुपले हुन्छ । जुन कुरा चुनावको धर्म हो । खेल मैदान उत्रिएका सबै खेलाडिको चाह खेल जित्ने नै हुन्छ । चाहे त्यो कमजोर होस या बलियो । म चुनाव हार्न हराउन वा जित्न जिताउन मैदान उत्रिएको हैन । म स्पष्ट विचार, एजेण्डा र मार्ग लिएर मैदानमा उत्रिएको छु । पुरातनबादी सोच र विचारबाट ग्रस्त राजनीतिक दलहरुको बकमफुसे गफबाट देश विकास सम्भव छैन । र जनताहरु प्नि आजित भईसकेका छन । काभ्रेका हरेक नागरिकलाई सोध्नुस म राज्यको कुनैपनि लाभको पदमा नुहुदा पनि मैले मेरो व्यक्तिगत क्षमताले भ्याए सम्म काभ्रेको लागि के गरेको छैन ? शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, यातायात, बाटोघाटो, लगाएतका क्षेत्रमा म राजनीतिमा नआउदाबाट मेरो योगदान छ । त्यो कुरा जनताले मुल्याङकन गर्ने कुरा हो । मलाई विश्वास छ अहिले जनता त्यति लाटा र कायर पनि छैन्न कि भोट मलाई दे भन्दै फकाउदैमा र धम्काउदैमा भोट दिने ।

त्यसो भए गणेश लामाले चुनाव जित्नेमा शंका छैन ?

अहिलेको उर्लिदो जनलहर हेर्नुहुन्छ भने त्यो लहर ऐतिहासिुक छ । अन्य पार्टीको तुलनामा म सयौ गुणा अगाडि छु । बाँकी कुराको हिसाब किताब मंसीर ४ ले गर्छ ।

तपाई मधेशी कि पहाडी ?

के जस्तो लाग्छ तपाईलाई ? तपाईले संकेत गर्न खोजेको कुरा मैले बुझे । म अहिले फोरम लोकतान्त्रिकको काभ्रे क्षेत्र नं २ को उम्मेदवार हँ । हिमाल, पहाड, तराई, मधेश भन्नुभन्दा पनि पहिले हामी नेपाली हो । चाहे त्यो जुन वर्ग, क्षेत्र, धर्म, लिङग, पेशा, जातजाति, समुदायको किन नहोस ती सबै नेपाली हुन । सबैलाई सबै पार्टीमा रहेर राजनीति गर्ने अधिकार छ । वर्तमान परिप्रेक्षमा हेर्ने हो भने के त्यसो भए नेपाली काँग्रेसको थर कोईराला हो ? एमालेको थर खनाल अनि एमाओवादीको थर दाहाल हो त ? होईन नी । मधेशमा हिजो एउटा ठुलो विभेद थियो । मधेशी जनता राज्यबाट सौतनी व्यवहार सहन बाध्य थिए । त्यसको विरोधमा आन्दोलन भयो । अनि त्यहि आन्दोलनको गर्वबाट नयाँ पार्टीको जन्म भयो । र म त्यो पार्टीमा प्रवेश गर्नुपर्ने अवसर र आवश्यकता दुवै थियो । म गए । यसमा डिभेट गर्नुपर्ने म कुनै आवश्यकता देख्दीन ।

मधेशको एजेण्डा पहाडमा बोकेर जादा चुनाव जित्न गाह्रो पर्ला कि भनेर सोधेको ?

सुन्नुस् । अन्यायमा परेकालाई न्याय देउ, । भोकालाई खान देउ । नाङगालाई लुगा देउ । देश भित्र बसोबास गर्ने सबै नागरिकले समान अधिकार उपभोग गर्नु पाउनुपर्छ भन्नेमाग के मधेश केन्दि्रत माग मात्रै हो ? बाँकी कुरा मैले अघि नै भनिसके ।

विषय उहि तर थोरै प्रसंग परिवर्तन गरौ । तपाईलाई जनताले भोट एउटा राजनीतिज्ञको रुपमा देलान वा गणेश लामा हिजो डन थियो अब राम्रो बाटोमा हिडोस भनेर देलान ?

म तपाईको प्रश्नको केहि शव्दावलीको खण्डन गर्न चाहन्छु म नराम्रो बाटोमा कहिल्यै हिडेको छैन । कि अब राम्रो बाटोमा हिडौ । जहाँसम्म डनको कुरा छ । मलाई थाहा छैन डन भनेको के हो ? अन्यायको विरुद्धमा लड्ने, विभेदका विरुद्ध चर्को आवाज उठाउनेलाई डन भनिन्छ भने म भन्दा ठुला डन नेपाल अरु छैन । होईन भने कथित जनयुद्धको नाममा माओवादीले झै हजारौ नेपालीको हत्या गरेको छु कि राजनीतिको नाममा काँग्रेस एमालेले झै बर्षदेखि जनताको रगत पसिना चुसेको छु कि मैले के चाँही त्यस्तो नराम्रोकाम गरेको गरेको छु जुनकुरा देश र जनताको विरुद्धमा छ । न मैले देशलाई अर्को देशसँग विलय गर्नुपर्छ भनेर लेण्डुप दोर्जेको नारा बोकेको छु । के बेरोजगारीलाई रोजगार, रोगीलाई उपचार, भोकालाई खाना, अशिक्षीतलाई शिक्षा दिनु मेरो नराम्रो पक्ष हो । म तपाईको यस मिडिया मार्फत ठोकुवा गर्छू कि यदि कसैले गणेश लामाले कसैको एक रुपैया लुटेर, ठगेर, खाएको छ भन्ने प्रमाणीत हुन्छ भने म आजैको दिन देखि राजनीति छाडेरु गुमनाम हुन तयार छु । होला कुनै उमेर थियो बेला थियो, राजनीति वा साथीसँगीको लहलहैमा लागेर झै झगडा गरे हुला । मैले त्यो बाटै बिर्सिसके भने तपाईहरु किन सम्झाई रहनु हुन्छ । मलाई डन भनेर भन्नेहरु मेरो प्रगतिको रामबाट जल्नहरु हृुन । त्यसैले म मिडायाका साथीहरुलाई अनुरोध गर्न चाहान्छु कि केहि गरौ भन्ने मेरो उत्साहको रापमा पानी हाल्ने काम हैन कि साथ दिने काम गर्नुनस ।

ओहो डन भन्दा यत्रो चित्त देख्छ हैन तपाई को ?

तपाई आफै भन्नुस गरेको त परै जाओस सुन्दै नसुनेको गल्तीको आरोप लाग्दा तपाईको मनमा कस्तो प्रतिक्रिया आउछ ? म पनि त तपाई जस्तै एउटा सामान्य नागरिक हँ ।

प्रसंग बदलौ, तपाईले चुनाव जितेपछि काभ्रेको मुहार कस्तो होला ?

समसमायिक प्रश्न गर्नुभयो । राजनीतिकको विभिन्न कालखण्डमा विभिन्न व्यक्तिहरु अन्य जिल्लाहरुबाट जस्तै काभ्रेबाट पनि राज्यको केन्द्रमा आए । तर अझै पनि हामी बक्ति मुनिको अध्याँरोमा छौ । राजधानीसँग सिमाना जोडिएको जिल्ला भएपनि नामका मात्रै नेताको हाम्रो जिल्लामा जन्म हुदा आज ती नेताहरुको गल्तीको सजाय समग्र काभ्रेली जनताले भोग्नुपरेको छ । त्यो कुरा जनताले स्पष्ट बुझेका छन । काभ्रेको समस्या मध्येको एउटा प्रमुख समस्या हो खानेपानी । सर्वप्रथम मैले यसमा सम्बोधन गर्नु आवश्यक छ । खनालथोक देखि श्यामपाटी गाविसको दक्षिणीभेग तथा सिसाखानीदेखि महांकालको दश गाविसको बीचमा एउटा १५ शैयाको अस्पताल खोल्ने योजनामा छु । यो योजना चुनावी नभई धेरै पहिलाको हो । किन कि उपचारको अभावमा यहाँका धेरै सर्वसाधारणले ज्यान गुमाउनु परेको मेरै आखाँले देखेको छु । काभ्रेबाट काठमाण्डौमा रहेका व्यापारी तथा पुर्व कर्मचारी मिलेर एउटा वैकल्पीक राजमार्ग जसरी वीपी राजमार्ग बनेको छ त्यसै गरी रोशी खोलैखोला वरपरका १७ गाविसको बीचमा एउटा राजमार्ग बनाउनुपर्छ भन्ने योजना छ । त्यो पनि मेरै अग्रसरतामा हो । यो ग्वार्कोदेखी चौकी डाडा हुदै अरनिको राजमार्ग छुने यो राजमार्ग २ देखी ३ बर्ष भित्र पुरा गर्ने योजना छ । युवा रोजगारीलाई पनि मैले पहिले देखिनै उठाउदै आएको छु । मैले यति काम गर्न सके भने काभ्रेको सुनमा सुगन्ध थपिन्छ ।

संविधान सभा निर्वाचन पछि तोकिएको समय संविधान जारी हुनेमा तपाई कत्तिको ढुक्क हुनुहुन्छ ?

दलहरुको कमजोरीका कारण यसअघिको संविधानसभा स्वत: विघठन भयो । जसको सजाय देश र जनताले भोग्नुपर्‍यो । अनि संक्रमणकालको फाईदा उठाउनेहरुलाई दलहरुले राम्रो वातावण सिर्जना गरिदिए । त्यसो गरिनु हुन्थेन । अब विगतलाई सम्झेर पछुताउने भन्दा पनि भोलीको लागि दहहरुले गतिलो योजना ल्याउनु पर्छ । अहिले दलहरुले भनिरहेका छन आफ्नो पार्टीलाई बहुमत आए मात्र संविधान बन्छ । यसको सोझो अर्थ हुन्छ एउटा दलले बहुमत नल्याए फेरी पनि संविधान बन्नेवाला छैन । संविधान भनेको देशको कानून हो । जुन कानून सबैको साझा हुनुपर्छ । सबैलाई पच्ने सम्बोधन गर्ने खालको हुनपर्छ । त्यसको लागि स्पष्ट मार्ग चित्र सहित दलहरु संविधान सभामा प्रवेश गर्नु आवश्यक छ । मै मात्रै जनताको प्रतिनिधी हू मैले गरे सबै राम्रो मैले नगरे सबै नराम्रो भन्ने धारणा दलहरुबाट हट्नपर्छ । मलाई लाग्छ संविधान बनाउने बेला दलहरु प्ाार्टीगत स्वार्थबाटम माथि उठेर जनताको माग र देशको अवस्था हेरेर अघि बढ्नु पर्छ तबमात्र संविधान बन्छ । गणेश लामा संविधानसभामा प्रवेश गर्दैमा संविधान बन्ने नत्र नबन्ने भन्ने होईन । तर सबै मिलेर संविधान चाँही बनाउनु पर्छ ।

केहि भन्न छुट्यो तपाई को ?

भन्नै छुट्यो जस्तो त केहि लाग्दैन । तर निकट भविष्यमा सम्पन्न हुन गईरहेको संविधानसभा निर्वाचनमा सबैलाई सहभागी हुन अनुरोध गर्छु । पार्टी जुनको होस तर राम्रो विचार बोकेको व्यक्तिलाई भोट दिएर जिताउन म सबैलाई अनुरोध गर्छू । भनिन्छ अवसर एक युगमा एक पटक आउछ रे । त्यसैले अवसरको सहि सदुपयोग गर्नुहोस ।

हुन्छ समय र विचार लागि धन्यबाद ।

विचार राख्ने मौका दिनुभयो यसको लागि तपाई र तपाईको संचारमाध्यामलाई धन्यवाद ।

 

तपाईको प्रतिक्रिया