Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
bamdevप्युठान- कुनै बेला नेपालका प्रमुख कम्युनिस्ट पार्टीका पाँच महासचिव रहेको जिल्लाका रूपमा परिचित प्युठान जिल्लालाई यसपटक कम्युनिस्टको लालकिल्लाकै रूपमा राख्‍न हम्मेहम्मे पर्ने विश्लेषण गर्न थालिएको छ।
प्युठान अर्धभूमिगत पार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य, एमाले उपाध्यक्ष वामदेव गौतम, कम्युनिस्ट नेताहरू लीलामणि पोख्रेल, नवराज सुवेदीलगायतको गृहजिल्ला हो । अहिले मसालले वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा बनाएर चुनाउमा आएको छ भने मोहन वैद्य नेतृत्वको माओवादी बहिष्कारमा छ ।
दुई निर्वाचन क्षेत्रमा विभाजित प्युठानमा कम्युनिस्ट पार्टीसँगै कांग्रेस पनि अग्रमोर्चामा देखिएको छ । ४९ गाविस रहेको प्युठानको क्षेत्र नं. १ मा २५ गाविस र २ मा २४ गाविस छन् । संविधानसभाको दोस्रो निर्वाचन नजिकिँदै जाँदा प्युठानमा नेताहरू घरदैलोमै व्यस्त देखिएका छन् । प्युठान १ मा एमालेबाट उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, कांग्रेसबाट हुकुमबहादुर बिष्ट, एमाओवादीबाट नवराज सुवेदी तथा राष्ट्रिय जनमोर्चाबाट कृष्ण खड्का प्रमुख प्रतिस्पर्धी देखिएका छन् ।
प्युठान २ मा राजमोबाट कोषाध्यक्ष बोमबहादुर खत्री, कांग्रेसबाट अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष धनलक्ष्मी श्रेष्ठ, एमाओवादीबाट केन्द्रीय सदस्य कृष्णध्वज खड्का तथा एमालेबाट हीराबहादुर केसी चुनाउ मैदानमा छन् ।
एमालेले गौतमलाई चुनाउमा उतारेपछि यसलाई जीवनमरणको सबाल बनाएको छ भने राजमोको आफ्नो अस्तित्वको सबाल छ । चौतर्फी भिडन्तका रूपमा देखिएको प्युठान २ बाट कांग्रेसले महिला उम्मेदवार उतारेपछि भिडन्त अझ रोचक भएको विश्लेषकको भनाइ छ ।
यसअघि २०४८ सालमा नेकपा मसालले चुनाउ बहिष्कारको बेलामा दुवै निर्वाचन क्षेत्रमा विजयी भएको कांग्रेस यसपटकको वैद्य माओवादीको बहिष्कारको फाइदा लिने दाउमा देखिन्छ । कांग्रेस जिल्ला सभापति सुवास केसी दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार प्रमुख प्रतिस्पर्धीका रूपमा उभिएको बताउँछन् । एउटा क्षेत्रमा महिला मतदाताको आकर्षण बढ्दै जानु र अर्को क्षेत्रमा पुराना तथा अनुभवी नेतालाई उतारेकाले आफूहरू विजयतर्फ अगाडि बढेको उनको तर्क छ । कम्युनिस्टको लालकिल्ला भनिएको प्युठानमा यसपटक आफूहरूले जसरी पनि जित्ने उनले बताए ।
एमालेले यसअघिका निर्वाचनमा सधैं राजमोसँग सहकार्य गरी राजमोलाई नै मत हाल्दै आएको थियो । एमाले प्युठानका सदस्य हिक्मत थापाले विगतमा सधैं आफूहरूले मोहनविक्रम सिंहलाई सहयोग गरेको स्वीकार गर्दै उनीहरूले सधैं विरोध र भण्डाफोरको राजनीति गरेकाले आफूहरू सिर्जना र निर्माणका लागि अगाडि आउन बाध्य भएको बताए । ‘हामी गौतमको अगुवाइमा जिल्लाको समग्र परिवर्तनका लागि निर्वाचनमा होमिएका हौं’, उनले भने ।
प्युठान वैद्यको गृहजिल्लासमेत भएका कारण नेकपा-माओवादीले सकेसम्म चुनाउ निष्क्रिय बनाउने अभियान सुरु गरेको छ । सरकारले समेत प्युठानलाई अतिसंवेदनशील जिल्लामा राखेको छ । नेकपा-माओवादीले जिल्लामा भूमिगत रूपमा विभिन्न तालिमसमेत सञ्चालन गर्दै आएको छ ।
कार्यकर्तालाई सैद्धान्तिक प्रशिक्षण गराउने कार्य नियमित भएकाले विभिन्न आशंका गरिनु हल्लामात्र भएको माओवादी प्युठानका इन्चार्ज हरिबहादुर केसीले बताए । ‘प्युठानमा चुनाउ सकेसम्म हुन नदिने नै हो । हाम्रा सम्पूर्ण गतिविधि शान्तिपूर्ण हुनेछन्’, उनले भने, ‘तर राज्य र अन्य दलको प्रस्तुतिले पनि केही हदसम्म आन्दोलनको दिशा दिनेछ ।’
तपाईको प्रतिक्रिया