शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

sheshअष्ट्रेलियमा बस्दै आएका शेष घले गैर आवासीय नेपाली संघ एनआरएको अध्यक्षमा निर्वाचित हुनुभएको छ । आफू अध्यक्षमा चुनिए लगत्तै उहाँले पत्रकारहरुसित आफ्नो भावी योजनाका बारेमा कुराकानी गर्नुभएको छ ।

एनआरएनएमा निर्वाचित भएपछिका तपाईको योजना के छन् ?

निर्वाचनको प्रकृयाभन्दापनि मेरो एजेन्डा जे थियो हिंजोसम्म आजपनि उही हो, अबचैं काम गर्ने अबसर पाएको छु । घोषणापत्रमा भएका जे–जती मेरा प्रतिबद्धता छन् छोटा, मध्यकालिन र दिर्घकालिन योजना बनाएर अगाडी सर्छु । हाम्रो संगठन भएको तर म नपुगेको सबै देशमा यो बर्षभित्रै पुग्ने प्रयास गर्नेछु । उहाँहरुको सल्लाहमा अबको दुई बर्षमा के गर्न सक्छौं, पाँच बर्ष वा १० बर्षमा के गर्न सकिन्छ भनेर दुरगामी योजना बनाएर अघि बढ्छौं । हाम्रो कार्यकालपछि फेरि नयाँ टिमले नयाँ योजना बनाउनुनपरोस् । अहिलेकै योजनामा लामोसमयसम्म काम गर्न पाईयोस भन्ने मेरो ईच्छा छ । हाम्रो संस्था भर्खरै दर्ता भएको छ । यसले हामीलाई उत्साह थपेको छ । मैंले मेरो एजेन्डामा राखेको थिए की निर्वाचित भएको छ महिनाभित्रमा दर्ता गर्नेछु भनेर एउटा बोनस भयो मलाई । त्यो दर्ता भएको प्रमाणपत्रमा ठेगाना टेकु लेखेको रैछ । मेरो चाहना के छ भने कार्यालयको ठेगाना परिवर्तन गर्न पाए हुन्थ्यो । भन्नुको मतलब के हो भने आफ्नै भवन खडा गर्नपाए हुन्थ्यो भन्ने हो र म आफ्नो कार्यकालमा यो काम सम्पन्न गर्छू ।

तपाई पहिलोपटक निर्वाचनमार्फत नेतृत्वमा आउनुभयो । अब सबैलाई कसरि समेट्नुहुन्छ ?

मेरो घोषणापत्रमा मैंले के भनेको थिएँ भने एकता र समाबेशीता । यहाँ प्रतिस्पर्धा पाँच जनामा भएको थियो । तनि जना साथीहरुले मलाई छाडिदिनुभयो । त्यो कुरालाई मैंले कदर गर्नुपर्छ, उहाँहरुलाई समाबेश गर्नसक्नुपर्छ । तेञ्जि भाईसँग मेरो प्रतिस्पर्धा भयो । मैंले जित्नेबित्तिकै के भनें भने त्यो जित मेरो मात्र हैन उहाँको पनि जित थियो । यसको अर्थ के हो भने एनआरएनएको जित हो । जितको साथसाथै जिम्मेवारी पनि आएको मैंले महशुस गरेको छु । सबैलाई सम्हालेर लाने मेरो प्रयत्न रहनेछ । एकता भन्ने कुरा मेरो ‘सेन्टर फोकस’मा रहनेछ ।

तपाईहरु १० बर्षको भैसक्नुभयो । यो बिचमा धेरै काम पनि गर्छुभन्नुभयो तर धेरैलाई अझैपनि तपाईहरु गफ मात्र गर्नुहुन्छ भन्ने लागेको छ । के अब साँच्चिकै काम गर्नुहुन्छ ?

हैन, साँच्चिकै काम त भैरहेकै छ । गत दश बर्षको अबधिमा एनआरएनएको तीस अर्बको लगानी भएको छ । हाम्रो समुदाय बिदेशमा भर्खरै बामे सर्दैछ । हामीहरु आफ्नो निर्वाह गर्ने प्रकृयामैं छौं अहिले । दुईचारजना अलि सक्षम पनि हुनुभएको छ । तर भबिष्य हाम्रो उज्ज्वल छ । त्यो देख्न सक्नुपर्छ हामीले । तर यो १५/२० बर्षको अबधिमा हामीसँग ठुलो आर्थिक स्रोत भएको म देख्दिन । बौद्धिक रुपमा सिप र ज्ञान त हामीसँग धेरै छ । त्यो ल्याउन हामीले सक्नुपर्छ । तर हामीले गर्नसकिरहेका छौं जस्तो लाग्दैन । त्यसैले पढेलेखेका व्यबसायिक साथीहरुलाई यो संस्थामा बढी सहभागि गराउन सक्नुपर्छजस्तो मलाई लाग्छ । त्यो मार्फत हाम्रो सिप, ज्ञान यहाँ नेपाली समुदायमा ल्याउन सक्नुपर्‍यो ।

खाडी क्षेत्रका कामदारका लागि एनआरएनको पहलमा कोष खडा गरि राहत वितरण गर्छु भन्नुभएको थियो, त्यो काम छिट्टै सुरु गर्नुहुन्छ होला नी ?

कसरि गर्ने भनेर हाम्रो पुर्ण कार्यसमितिमा छलफल गर्छौं । कोषको दिगोपन तथा कति संकलन गर्नसक्छौं, कुन स्रोतबाट ल्याउने हो । मैंले आफ्नो योजना राखिसकें । नसक्ने भएको भए मैंले त्यहाँ राख्नेथिईन । त्यसको सुरुवात निकट भबिष्यमैं हुनेछ । हुनसक्छ यो हप्ताभित्रै । कहिंबाट सुरु त गर्नुपर्‍यो नी । त्यसको सूरु त मैंले गर्नुपर्‍यो, मैंलेनैं नेतृत्व गरेपछि । मलाई लाग्छ मेरा टिमले गर्नुहुनेछ । हामीबाट सुरु हुन्छ ।

ठुला परियोजनाहरुमा अन्र्तराष्ट्रिय लगानी भित्राउन तपाईको भुमिका कस्तो हुन्छ ?

मेरो पाँच छ बर्षको अनुभवअनुसार मुख्य बाधक भनेको लगानी आकर्षित गर्ने सरकारको कानुन नैं हो । त्यो कानुन हाम्रो ‘फरेन टेक्नोलोजी ट्रान्सफर एक्ट १९९२’ को बिचार गर्नुस् त्यो कति बर्षको भैसक्यो । त्यो खिया लागेर खत्तम भैसकेको कानुन छ । तर कानुनमैं मात्र आधारित पनि छैन, एउटा अधिकृत, हाकिम अथवा एउटा मन्त्रिको स्वविवेकमा चलिरहेको छ । कानुन एकातिर छ हाम्रो काम अर्कोतिर । हाम्रो समस्या त्यहि हो । ‘ब्ल्याक एण्ड ह्वाईट’ कानुन छैन । अहिलेपनि नयाँ कानुन ड्राफ्टमा छ भनिरहेको छ । पहिलो नम्बरमा सरकारको स्पष्ट कानुन हुनुपर्छ । अर्को समस्या भनेको कर्मचारीतन्त्रको व्यबहार र कार्यान्वयनमा भरपर्छ । जब मैंले ७०/८० मिलियन डलरको लगानी गर्न खोजेर आउँदैछु भने मैंले त्यो लगानी गर्ने वातावरण पाउँदिन । मैंले भोगेको त्यहि हो ।

त्यसैले बैदेशिक लगानी ल्याउने अहिले समय भएको छैन । पहिले हामीले सुरु गर्नुपर्छ । किन भने हामीमा धैर्यता छ । यहाँ यस्तै हो नेपालमा हुन्छ….ठिकै छ……अलि सहुँ….अलि एकदुई बर्ष ढिलो हुन्छ…भन्ने हामीले पहिल्यै देखिसकेको हुन्छौं । हामी सफल भैसकेपछि बिदेशीलाई हामीले आकर्षित गर्न सक्छौं । तर मलाई लाग्छ बिदेशीलाई आउनको लागी संयुक्त लगानी उत्तम हुन्छ । यहाँको कर्मचारीतन्त्रसँग बिदेशीले ‘डिल’ गर्ने वातावरण छैन । त्यसैले ‘लोकल पार्टनर’ चाहिन्छ । उसले बिदेशीलाई ‘ट्रष्ट’ दिनसक्नुपर्छ । ‘ट्रष्ट’ भन्ने कुरा यहाँको व्यवसायिक घरानामा ‘ट्रान्सपरेन्सि’ ‘डेलिजेन्सि’ मा भर पर्छ । यो कुरा पश्चिम मुलुकलाई एकदम आबश्यक छ । यदी ‘लोकल बिजनेस’ले त्यो गर्न सक्यो भने तपाई पार्टनर पाउन सक्नुहुन्छ । पार्टनर भएपछि उहाँहरुलाई आकर्षित गर्न सक्नुहुन्छ । मैंले देखेको त्यहि हो ।

तपाईको प्रतिक्रिया