बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

फुकुओका-नेपालीहरूको महान पर्व बिजया दशमी २०१३ को अवसरमा जापानको फुकुओका शहरमा क्रियाशील संस्था फुकुओका नेपाल सोसाईटी (फुनेसो) र एनआरएन क्युसुले सामुहिक रूपमा दशैं टिका कार्यक्रम सम्पन्न गरेको छ । विगतका वर्षहरुमा फुकुओका नेपाल सोसाईटीले मात्रै दशैंको टीका आयोजना गर्दै आइरहेकोमा यस वर्ष भने संयुक्त रूपमा आयोजना गरिएको थियो ।fukuoka
कार्यक्रममा उपस्थित नेपालीहरूले एनआरएन क्युस्युका संयोजक कृष्ण खरेल, समाजसेवी धर्मराज अधिकारी, फुकुओका नेपाल सोसाइटीका सल्लाहकार टंक गैरे र जापानी नागरिक कुमामोतो काचुकोको हातबाट दशैंको टिका-जमरा र आशिर्वाद ग्रहण गरेका थिए ।
बिभिन्न कारणवश नेपालदेखि टाढा रहँदै आएका नेपालीहरुलाई नेपाली चाडपर्वको महत्व अनि घरको सम्झनाले सताई रहेका नेपालीहरुलाई परिवारसँगै रहेर दशैं मनाएको अनुभूत गराउन यो दशैंको टिका कार्यक्रम गरिएको कुरा फुनेसोका अध्यक्ष मोती श्रेष्ठले बताउनुभयो । साथै उहाँले क्युसुका अन्य संस्थाहरुलाई पनि एक आपसमा सहकार्य गर्दै जानु पर्ने उदेश्यले कार्यक्रमको सह-आयोजकका रुपमा जनप्रगतिशिल मोर्चा क्युसु , जनसम्पर्क समिति क्युसु र फुकुओका क्युसु प्रवासी नेपाली मंचलाई पनि समावेश गराईएको पनि बताउनुभयो ।
कार्यक्रमको शुरू नेपाली राष्ट्रिय गानबाट गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य एनआरएन क्युसुका संयोजक कृष्ण खरेलले दिनु भएको थियो भने दशैको शुभकामना मन्तव्य धर्मराज अधिकारी, फुनेसोका सल्लाकार टंक गैरे, सह आयोजकका प्रतिनिधिहरू क्रमशः रोशनकुमार राई, योगेश कार्की र विकाश पौडेलले राख्नुभएको थियो । कार्यक्रमलाई थप रोचक बनाउन स्थानीय कलाकारहरु प्रकाश क्षेत्री र फुनेसोका सदस्य पुरूषोत्तम सिग्देलले सांगीतिक प्रस्तुतीहरू राख्नुभएको थियो । कार्यक्रमा दशैं विशेष परिकारको पनि व्यवस्था गरिएको थियो । स्मरण रहोस् प्रत्येक वर्ष अलि बढी शुल्क लिई ठूलो भोजको आयोजना गर्दै आईरहेको अवस्थामा पहिलो पटक मात्र १००० येनमा सस्तो र सुलभ  गरिएको थियो । आउँदा दिनहरूमा पनि क्युसुवासीका लागि यस्तो किसिमको कार्यक्रम गर्दै जाने कुरा कार्यक्रमको अन्त्यमा आयोजकका तर्फबाट धन्यवादको क्रममा फुनेसोका अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रमको संचालन फुनेसोका सचिव दिपक देवकोटाले गर्नुभएको थियो ।***

fukuoka1 fukuoka2 fukuoka3 fukuoka4 fukuoka5 fukuoka6 fukuoka7 fukuoka8तस्वीर सौजन्यः दिपक देवकोटा

 

तपाईको प्रतिक्रिया