आइतबार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024
मुलुकको मुल कानुन संबिधान निर्माण गर्नका लागि देशभरिका प्रतिनिधिहरुको छनौट गर्ने निर्बाचन अर्थात संबिधान सभाको दोश्रो निर्बाचन मंसिर ४ मा हुने आधारहरु अब बलियो बन्दै गईरहेको छ । मोहन वैद्य किरण’ले नेतृत्व गरेको नेकपा माओबादी लगायतका अन्य केहि असन्तुष्ट साना दलहरु बाहेक अब सिंगो मुलुक निर्बाचनमा होमिएको अवस्था छ ।
सबै राजनीतिक दलहरुको सहभागिता नभए पनि, कुनै राजनीति शक्तिले निर्वाचन विथोल्ने घोषणा नै गरेको भए पनि आगामी मसिर ४ का दिन हुने भनिएको संविधान सभाको दोश्रो निर्वाचन हुँदैन न कि भनेर शंका नगर्दा हुने परिस्थिति मुलुकमा निर्माण भईसकेको छ ।
यद्यपि असन्तुष्ट भनिएका राजनीतिक दल र समूहहरुसँग सरकार र उच्चस्तरीय राजनीतिक संयन्त्रको वार्ता चलिरहेको छ र असन्तुष्टहरुको चित्त बुझाउने प्रयत्न जारी छ तापनि आजका मितिसम्म नेकपा-माओवादीको नेतृत्वमा रहेको ३२ दलीय गठबन्धनले निर्वाचनमा भाग लिने छ भनेर पत्याइहाल्न सकिने आधार भने बनेको देखिदैन । हुन त संख्यामा ३२ दल भनिए पनि तिनीहरुमध्ये समाजमा स्थापित भएका, पूर्व इतिहास बोकेका र निर्वाचन आयोगमा दर्ता भएका दल एउटा पनि छैनन् । त्यो मोर्चाको हर्ताकर्ता भने पनि निर्णायक शक्ति भने पनि नेकपा माओबादी नै हो ।
नेकपा-माओवादीले निर्वाचनमा भाग लेओस् वा विथोल्नतिर लागोस्, सिंगो मुलुकलाई भने निर्वाचनले छोइसकेको छ । घर घर र टोल टोलमा निर्वाचनको कुरा हुन थालेका छन् । चोक चौतारी र सभासम्मेलन, भेलाहरु सबैतिर निर्वाचनको चर्चा हुन थालेको छ । सबै राजनीतिक दलहरु उम्मेदवार छनोटमा जुटिसकेका छन् । वास्तवमा मुलुकलाई चुनावमय बनाउने राजनीतिक दलहरुका गतिविधिले नै हो । यतिबेला सबै राजनीतिक दलहरु निर्वाचनमा केन्द्रित भैसकेका छन् । राजनीतिक दलहरुको चटारो हेर्दा अब निर्वाचन हुँदैन कि भन्ने शंका गर्नुपर्ने ठाउँ छैन । राजनीतिक दलहरुबीच आपसी प्रतिस्पर्धाको तयारी सुरु भएको मात्रै होइन, निर्वाचनपछि कोसँग तालमेल गरेर सरकार बनाउन सकिन्छ र कोसंग मिलेर संविधान आफू अनुकूल बनाउन सकिन्छ भनेर समेत हिसाबकिताव हुन थालेको छ ।
यस सन्दर्भमा सूचना र प्रविधिमा अभ्यस्त भएका आजको एक्काईसौं शताब्दीका प्रवासमा रहेका नेपालीहरुको भूमिका के त भन्ने एउटा गहन बहसको बिषय हुन सक्ला । यद्यपि यतिखेर बिदेशबाटै मतदान गर्न पाउनुपर्ने माग पुरा नभईसकेको अवस्थामा प्रवासमा रहेर पनि हाम्रो र राम्रो संबिधान बनाउनका लागि हामीले कसरी सकारात्मक र सहयोगी भूमिका खेल्न सकिन्छ भन्नेमा गम्भीर हुनैपर्ने देखिन्छ । एक युगमा एकफेरा आउने संबिधान सभाको निर्बाचनमा सकेसम्म आफै नेपाल फर्केर निर्बाचनमा भाग लिन सके सबैभन्दा राम्रो, नभए प्रवासमै बसेर भए पनि संबिधान बनाउने  प्रयोजनमा उपयुक्त र सक्षम प्रतिनिधिलाई छनौट गर्नका लागि सो अनुकुलको वातावरण बनाउने, आफ्ना घरपरिवार, टोलछिमेक र साथीभाइसंग आवश्यक छलफल र परामर्शमा भाग लिएर पनि संबिधान सभाको निर्बाचनमा सहयोगी भूमिका खेल्न सकिन्छ ।
अर्कोतिर बिदेशमा रहेका नेपालीहरुलाई पनि यसपालीको संबिधान सभाको निर्बाचनमा बिभिन्न राजनैतिक दलहरुले उम्मेदवारीमा छनौट गरेर कुनै न कुनैरुपमा सम्बोधन गरेको देखिन्छ । यो अर्को खुशीको कुरा हो भने बिदेशमा रहेका नेपालीहरुलाई पनि जिम्मेवारी सुम्पेर देशको मुलप्रवाहमा आकर्षित गर्न खोजेको देखिन्छ । यसले जुनसुकै दल निकटका ब्यक्ति भए पनि बिदेशतिर भासिएका योग्य र सक्षम युवाहरुलाई देश फ़र्कन गरेको आह्वान अर्थात ग्रिन सिंग्नलको रुपमा बुझ्न सकिन्छ, यो अर्को स्वागतयोग्य पक्ष हो भने बाहिर बसेका नेपालीहरुका लागि पनि यो एउटा नयाँ सन्देशको उदघोष हो । त्यो भनेको मुलुकको ऐतिहासिक घडिमा राज्यले डायस्पोराका नेपालीलाई बिर्सेको छैन, राज्यले जिम्मेवारी दिन तयार छ भने डायस्पोराका नेपाली पनि जिम्मेवारी लिन तयार हुन सक्नुपर्दछ ।
अरु कुरा जे जे भए पनि अब हुने निर्बाचनबाट निर्वाचित हुने संबिधान सभाबाट हाम्रो र राम्रो संबिधान निर्माण हुन्छ, त्यो संविधानले मात्र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई संस्थागत गर्ने छ भन्ने विश्वासले आम नेपाली मतदाताहरुलाई निर्वाचनप्रति उत्सुक, उत्साहित र आशावादी बनाएको अनुभूत सबैले गरेको अवस्था छ ।  त्यसैले घरदेश होस् वा परदेश जो जहाँ जसरी रहे-बसेको भए पनि संबिधान सभा निर्वाचनको पक्षमा सकारात्मक र सहयोगी भूमिकाको सबैबाट अपेक्षित छ ।   ***
तपाईको प्रतिक्रिया