शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
prakash dahal 2_20120712030434एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहाल व्यक्तिगत आचरणका कारण बेला बेलामा विवादमा परिरहन्छन् । पत्नीसँगको झगडा र सम्वन्ध विच्छेदले मात्रै होइन मादक पदार्थ सेवन गरेर देखाएको व्यवहारका कारण पनि प्रकाश आलोचनामा परे ।
पछिल्लो समय एकीकृत नेकपा माओवादीकै विद्यार्थी संगठनमा काम गर्ने विना मगरसँगको विवाहपछि पार्टी कारबाहीमा परेर भारतको राजधानी नयाँ दिल्लीमा रहेका प्रकाश दाहालसँग उज्यालो अनलाईनका लागि रविराज बरालले गरेको कुराकानी :
हिजोआज के गर्दै हुनुहुन्छ ?
एउटा परिस्थिति र बाध्यताले मान्छे एउटा निर्णयमा पुग्छ । कहिले त्यो गलत हुन पुग्छ, कहिले सही । मेरो लागि पनि यो संक्रमणकालिन अवस्था हो । समयको सदुपयोग कसरी गर्ने र फेरि राजनितिक क्रियाकलापमा कसरी फर्किने भन्नेमा छु । धेरै समय अध्ययनमा बित्छ । ईन्टरनेट मार्फत नेपालमा भएका घटनाहरु पनि बुझिरहन्छु ।
हिजोआजको बसाई कहाँ, कसरी चल्दैछ ?
अहिले म भारतको दिल्लीमा एउटा सामान्य घरमा कोठा लिएर बसिरहेको छु । मेरो जीवनमा भोगेको हरेक अनुभव भन्दा अहिलेको अवस्था धेरै फरक छ ।
गुजारा कसरी चल्दैछ ?
अपर्झट आउँदा सुरुमा केही समस्या पनि भयो । यहाँको रोहिणीस्थित एक सपिङ मलमा काम गरेँ । डेढ महिनाजति काम गरेपछि बिरामी भएँ । यहाँ रहेका नेपालीले सहयोग गर्नुभयो । मैले पार्टीसँग गुहार मागेको छैन ।
नेपाल कहिले फर्किने त ?
चाँडै नै म नेपाल आउनेछु र देश, पार्टी र अध्यक्ष कमरेडलाई सक्दो सहयोग गर्नेछु । बीनाजी (अहिले दिल्लीमा सँगै रहेकी) सँग पनि यही विषयमा सल्लाह भैरहन्छ । देश फर्कनबाट मलाई कसैले रोक्न सक्दैन ।
परिवारमा सम्पर्क भैरहन्छ ?
ममी र दिदीहरुसँग मेरो नियमित जसो नै सम्पर्क हुन्छ । परिवारमा मेरा बारेमा साह्रै नकारात्मक सोचाई छैन । उहाँहरुलाई थाहा छ, सिर्जना (पत्नी) र मबीच सुरुदेखि नै सम्बन्ध राम्रो थिएन । जव मैले प्रक्रियामा त्रुटी गरेँ, ‘रुपान्तरण भएर पार्टीमा फर्के, गल्ती सबैबाट हुन्छ’ भन्नुभएको छ ।
अनि प्रचण्डसँग चाहीँ  ?
अध्यक्षसँग मैले कुरा गरेको छैन । उहाँलाई थप टेन्सन होस् भन्ने म चाहन्न । उहाँसँग यता आएपछि एकपटक पनि कुराकानी भएको छैन । म पार्टीका अन्य कमरेडसँग भने निरन्तर सम्पर्कमा छु ।
 
गल्ती गरेँ भन्ने लाग्दैन ?
यस्तो घटना मेरो जीवनमा मात्र भएको होइन, फरक यत्ति हो कि म अध्यक्षको परिवारको सदस्य हुँ । त्यसैले घटनालाई अतिरञ्जित गरियो । मान्छेले रहरले गल्ती गर्दैन । त्यसको पछाडि कुनै न कुनै कुण्ठा हुन्छ, दबाब हुन्छ । मैले भनिसकेँ, सिर्जना र मेरो सम्बन्ध सुमधुर थिएन । त्यसरी बस्नुपर्दा एक प्रकारको तनाव हुँदोरहेछ । सगरमाथा जाँदा आफ्नै साथीहरुले मेरा बिरुद्ध गलत समाचार दिए । त्यस घटनापछि सिर्जनाले सम्बन्धको अन्त्य गर्छु भनेपछि झन् तनावबाट गुज्रेँ । उनको माग बमोजिम प्रक्रिया मिलाउन छोडेर मैले गलत बाटो अपनाएँ । सिर्जनाको चाहनाअनुसार निर्णय गरेको भए म यो अवस्थामा हुने थिइन ।
तपाईँका यस्ता गतिविधिले प्रचण्डको राजनीतिक छविमा प्रभाव पारेको छैन ?
लाग्दैन । उहाँको छवि आफ्नै ठाउँमा छ, मेरो गल्ती आफनै ठाउँमा । पार्टीको विधान विपरित काम गरेकोले अध्यक्षले नै मलाई कारबाही गर्नुभयो । जीवन बांगोटिंगो गोरेटो जस्तो रहेछ । उतारचढाव आउने रहेछन् । म त्यस्तै आरोह अवरोहबाट गुज्रिरहेको छु । आत्तिएर हतोत्साही हुने भन्दापनि रुपान्तरण भएर पार्टी र क्रान्तिमा होमिनु मुख्य कुरा हो जस्तो लाग्छ ।
तपाईँको आनीबानीबारे खुब हल्ला चल्छ, तपाईँ सुध्रिन नसकेकै हो ?
हाम्रो पार्टी र मुख्यतः हाम्रो परिवार चौतर्फी घेराबन्दीमा छ । अध्यक्षलाई कहाँबाट हान्न सकिन्छ, डगमगाउन सकिन्छ भनेर कुरिरहेका हुन्छन् । उनीहरुले अध्यक्षलाई प्रहार गर्न मलाई त्यही ढंगले प्रचार गर्न थाले । हाम्रो पार्टीकै कतिपय ठूला नेता नै छोराछोरी पढाउन लागेका छन् । तर अध्यक्षले कहिल्यै हाम्रो बारेमा सोच्नुभएन । त्यही अनुसार युद्धमा होमियौं । अहिले अध्यक्षलाई प्रहार गर्न मेरोबारे अनर्गल प्रचार मात्र गरिएको हो ।
प्रचण्डमाथि थप्पड प्रहार भयो, के आयो दिमागमा ?
युद्धकालमा म दुश्मनको गोलाबारुदको बीचमा अध्यक्षको सुरक्षामा खटिएको थिएँ । तर त्यो घटनामा उपस्थित हुन सकिन । न मैले बोल्न पाएँ, न समवेदना प्रकट गर्न नै । अध्यक्षको स्वभावमा पनि कमजोरी रह्यो । अंगालो मारिहाल्न पर्ने, निकटता कायम गरी हाल्नुपर्ने प्रवृत्तिले पनि त्यो घटना भएको मैले ठानेको छु ।
नेपाल फर्किनुभयो भने के छन् योजना ?
तत्कालका लगि पार्टी विधान विपरित कदम चालेको हुँदा कारवाही भोग्नुको विकल्प मसँग छैन । कारबाही स्वीकारेको छु । मैले गल्ती गरेकै हो । छिट्टै रुपान्तिरित भई अझ सशक्तरुपमा पार्टी र अध्यक्षको सहयोगमा खटिने छु । ***

तपाईको प्रतिक्रिया