शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – जापानमा रोजगार र अध्ययनका लागी पठाउने भन्दै २१९ जनाबाट करोडौँ रकम ठगेको आरोपमा प्रहरीले राजधानीबाट दुई जनालाई पक्राउ गरेको छ ।

काडमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पठाओ राइडरको नागरिकता दुरुपयोग गरी २१९ जना सर्वसाधारणबाट ३ करोड ३७ लाख ठगी गरेको अभियोगमा रामेछापको लिखु तामाकोशी गाउँपालिका-७ घर भएका राजन श्रेष्ठ र झापाका गौरादह नगरपालिका-२ घर भएका ४६ वर्षीय ईश्वरी पाण्डेलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई कागेश्वरी मनोहरा नगरपालिका स्थित बेशिगाउँ र पाण्डेलाई अनामनगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जनाए । उनीहरुले २ सय १९ जनाबाट ३ करोड ३७ लाख असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

उनीहरुले अर्काको नागरिकता प्रयोग गरेर पुतलीसडकमा नियोनी एजुकेशन प्रालि नामको कन्सल्टेन्सी खोलेका थिए । राजन श्रेष्ठले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरेर सानिमा बैंकमा खाता खोलेको भेटिएको छ । उदयपुरका राईको नागरिकता दुरुपयोग गरेर श्रेष्ठले बैंकको केवाइसी फारममा चाहिँ आफ्नो फोटो टाँसेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए । राई पठाओ राइडर हुन् ।

ईश्वरी पाण्डेले बझाङका पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरेको भेटिएको छ । उनीहरुले जापानमा विद्यार्थी भिसामा जानका लागि सिओइ समेत आइसकेको भनेर विभिन्न व्यक्तिहरूबाट रकम उठाएको खुलेको छ । उनीहरुले सानिमा बैंक र कामना सेवा विकास बैंकको नामका खातामार्फत रकम उठाई ठगी गरेको खुलेको हो ।

आरोपीहरूले प्रतिव्यक्ति ४ लाखदेखि ७ लाख उठाउने गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । अर्काको नाममा बैंकका खाता खोलेर ठगीको रकम उनीहरुले ती खातामार्फत लेनदेन गर्ने गरेका हुन् । उनीहरूसँगै ठगीमा संलग्न अर्का एकजना फरार छन् ।

तपाईको प्रतिक्रिया