सामुहिक लगानी सम्बन्धि प्रश्नोत्तरको संगालो (FAQ) यसप्रकार रहेको छ । –
१. गैरआवासीय नेपालीको सामूहिक लगानीको मूल अवधारणा के हो ?
बिश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजीलाई प्रचलित कानून बमोजिम नेपालमा मुख्य कार्यालय रहने गरी लगानी गर्ने उद्देश्यसहितको पब्लिक लिमिटेड कम्पनी स्थापना गरी उक्त कम्पनीमा जम्मा भएको पूँजी सोही कम्पनीको नामबाट नेपालमा उर्जा लगायत अन्य क्षेत्रमा लगानी गर्ने यसको मुल उद्देश्य रहने छ ।
२. कम्पनीमा कसले लगानी गर्न सक्छ ?
गैरआवासीय नेपाली (विदेशमा बस्ने नेपाली तथा नेपाली मूलको विदेशी नागरिक) दुवैले यस कम्पनीमा लगानी गर्न सक्नेछन ।
३. संस्थापक शेयर धनी हुनका लागि न्यूनतम र अधिकतम कति रकम लगानी गर्नुपर्छ ?
संस्थापक शेयर धनी हुनका लागि एक व्यक्तिबाट न्यूनतम एक लाख र अधिकतम १ करोड नेपाली रुपैयाँसम्म लगानी गर्न सकिने छ । नोवेम्वर ३० तारिख सम्म कम्तीमा १ लाखको शेयर किनेर लगानी गर्नुहुने सम्पूर्ण लगानीकर्ताहरु एनआरएन इनभेष्मेण्ट नामको पव्लिक लिमिटेड कम्पनीको संस्थापक शेयर धनी हुने छन ।
४. आफुले कबुल गरेको रकम कहिलेसम्म जम्मा गर्नुपर्दछ ?
कबुल गरेको २५ प्रतिशत भुक्तानी यहि २०१२ को नोवेम्वर ३० सम्ममा नेपालस्थित तोकिएको बैंक खातामा जम्मा गरिसक्नुपर्ने छ ।
५. कम्पनीको पूँजीको संरचना कस्तो हुनेछ ?
कम्पनीको अधिकृत पूँजी ५ अरबको छ । सो पूँजीलाई प्रति शेयर १०० का दरले ५ करोड थान साधारण शेयरमा विभाजन गरिने छ । गैरआवासीय नेपालीहरुलाई मात्रै शेयरमा लगानीका लागि आमन्त्रण गरिने छ ।
६. जापानबाट कति रकम उठाउने लक्ष लिइएको छ ?
जापानबासी नेपालीहरुबाट कम्तिमा पनि ५० करोड रुपैंया उठाउने लक्ष लिइएको छ ।
७. एक लाख नेपाली रुपैंया भन्दा कम लगानी गर्न चाहनेहरुलाई कसरी कम्पनीमा सम्मिलित गर्न सकिन्छ ?
संस्थापक शेयर धनी हुनको लागि न्यूनतम लगानी रु. १ लाख तोकिएकोले सो भन्दा कम लगानी गर्न चाहनेहरु छुट्टै समूह बनाई कर्पोरेट लगानीकर्ताकारुपमा कम्पनीमा लगानी गर्न सक्नेछन् । यसरी समूह बनाएर लगानी गर्न चाहने गैरआवासीय नेपालीहरुले आफ्नो छुट्टै कम्पनी स्थापना गर्न सक्नेछन् र सो कम्पनीले मूल कम्पनीमा संस्थापक शेयरधनीका रुपमा लगानी गर्न सक्नेछ ।
८. नेपाली मूलको विदेशी नागरिकको हकमा लगानीको प्रावधान कस्तो रहने छ ?
गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ बमोजिम नेपाली मूलका विदेशी नागरिकले पनि नेपालमा नेपाली नागरिक सरह उद्योग व्यवसायमा लगानी गर्न पाउनेछन् । (गैरआवासीय नेपाली सम्बन्धी ऐनको दफा १३) ।
९. गैरआवासीय नेपालीहरुकै रुपमा लगानी गर्दा पाइने विशेष सुविधाहरु के के हुन् ?
गैरआवासीय नेपाली सम्बन्धि ऐन २०६४ ले गैरआवासीय नेपालीहरुको लगानी सम्बन्धि विशेष व्यवस्था गरेको छ । जसअन्तर्गत परिवर्त्य विदेशी मुद्रामा लगानी गर्न सकिने (दफा ७), लगानी तथा लाभ रकम परिवर्त्य विदेशी मुद्रामा फिर्ता लैजान सकिने (दफा ९), पूँजी रकममा कर नलाग्ने (दफ १२) आदि मुख्य रहेका छन् ।
१०. लगानी गरिने रकम प्रस्तावित कम्पनीमा कसरी पठाउन सकिन्छ ?
गैरआवासीय नेपाली वा कम्पनीले नेपालमा लगानी गर्ने रकम प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैंकबाट वित्तिय कारोबार गर्न इजाजत प्राप्त कुनै वाणिज्य बैंक वा वित्तिय संस्था मार्फ प्राप्त हुनुपर्ने छ (गैरआवासीय नेपाली सम्बन्धि ऐन २०६४ को दफा ७ उपदफा २) । जापानबाट पैसा पठाउंदा जापान सरकारबाट मान्यता प्राप्त कुनै पनि रेमिट्यान्स कम्पनी वा बैंकहरुबाट पठाउन सकिने छ ।
११. कम्पनीले प्राप्त गर्ने नाफा प्रतिफलका बारेमा व्यवस्था कस्तो हुनेछ ?
कम्पनीले आर्जन गरेको बोनस, नाफाबाट लाभांशको प्रतिफल वितरण कम्पनी नियम बमोजिम वाषिर्करुपमा साधारण सभाले निर्णय गरेअनुसार हुने छ ।
१२. लगानी गरिएको शेयर संस्थापकले विक्री गर्न चाहेमा के व्यवस्था हुन्छ ?
लगानी गरिएको शेयर विक्री गर्न चाहने संस्थापकले नेपालको कम्पनी नियम बमोजिम विक्री गर्न पाउनेछन् ।
१३. गैरआवासीय नेपाली संघ गैर नाफ़ामुलक सामाजिक संस्था भएको र अहिलेसम्म आधिकारिकरुपमा दर्ता पनि नभएको अवस्थामा के यस संस्थाले नाफ़ामुलक कम्पनी संचालन गर्न मिल्छ ? आखिर सामुहिक लगानीका लागि स्थापना गरिएको कम्पनी र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच के अन्तर छ त ?
गैरआवासीय नेपाली संघ सामाजिक संस्था भएकोले यसले सामाजिक तथा परोपकारी काम बाहेक अन्य क्षेत्रमा लगानी गर्दैन । नेपालमा लगानी गर्न चाहने गैर आवासीय नेपालीहरुको कम्पनीमा गैर आवासीय नेपाली संघले केवल लगानीकर्ताहरु र कम्पनीबीच सहयोगी एवं सहजकर्ताको भूमिका मात्र खेल्नेछ । नेपालको कम्पनी ऐनअनुसार दर्ता भएकोले छुट्टै अस्तित्व बोकेको यस कम्पनीले नाफ़ा आर्जन गर्न सकिने र देशको बिकासमा पनि टेवा पुरयाउन सकिने क्षेत्रमा लगानी गर्ने छ ।
१४. एनआरएनको बिश्व संजाललाई नै सामुहिक लगानीका लागि उपयोग गरिनुको कारण के हो ?
एनआरएनएको मुल उद्देश्य नै बिश्वभरि छरिएर रहेका नेपालीहरुको ज्ञान, सीप र पूंजीलाई नेपाल भित्र्याउनु हो । देश बिकासको लागि लगानीको आवश्यक पर्दछ । नेपालको बर्तमान बिषम परिस्थितिमा बिदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गर्ने अनुकुल वातावरण नरहेको अवस्थामा उनीहरुलाईसमेत लगानीका लागि प्रेरित गर्न नेपाललाई माया गर्ने हामी बिदेशमा बस्ने नेपालीहरुले लगानी गरेर देखाउने बेला आएको छ । ठूला कुरा गर्ने तर खासै काम गर्न नसकेको आरोप खेप्दै आएको अवस्थामा नेपाल र नेपालीको समृद्धिका लागि बिदेशमा बस्ने नेपालीहरुले पनि केही गरेर देखाउनुपर्छ भन्ने पवित्र भावनालाई ब्यवहारमा उतार्नका लागि गठन गरिएको कम्पनीलाई सहयोग गर्नु एनआरएनएको नैतिक दायित्व हो । उक्त कम्पनीको मुनाफ़ाको निश्चित प्रतिशत नेपालको सामाजिक काममा लगानी गर्ने गरी एनआरएनएका लागि छुट्याउन सकिने छ ।
१५. कम्पनीको रजिष्टर्ड केन्द्रिय कार्यालय कहाँ छ ?
कम्पनीको केन्द्रिय कार्यालय नेपालमा रहेको छ ।
१६. कम्पनीको शेयर प्रमाण-पत्र कहिले प्राप्त हुन्छ ?
प्रत्येक शेयर धनिलाई निजले लिएको शेयरको २५ प्रतिशत भुक्तानीपश्चात नेपाल सरकारको कम्पनी नियमानुसार शेयर बाँडफाड भैसकेपछि कम्पनीको आधिकारिक व्यक्ति र छाप भएको शेयर प्रमाण पत्र दिईने छ ।
१७. कम्पनीले कुन कुन क्षेत्रमा लगानी गर्ने छ ?
प्रतिफल प्राप्त हुने अनि नेपालको सामाजिक, आर्थिक बिकासमा टेवा पुरयाउने खालका उत्पादन अनि रोजगारमुलक ब्यवसाय वा उद्योगमा सञ्चालक समितिले निर्णय गरेबमोजिम लगानी गर्न सकिने छ । यसरी लगानी गर्दा नेपाल सरकारले लगानीका लागि प्राथमिकतामा राखेका क्षेत्रहरुलाई बिशेष महत्व दिईने छ । हाल देश बिकासको आधारशिला रहेको जलबिद्युतलाई प्राथमिकतमा राखिएको छ ।
१८. सञ्चालक समितिका संरचना चयन प्रक्रिया कसरी गरिने छ ?शेयरधनी मध्य जो कोही पनि सञ्चालक समितिमा नियुक्त हुनका लागि उम्मेदवार हुन सक्नेछन् त्यसका लागि कम्पनीले तोकेबमोजिम शेयर धनीहरुबाट विश्वासको मत प्राप्त गरेको हुनुपर्नेछ ।
१९. कम्पनीको साधारण सभा कहिले हुनेछ ?
कम्पनी नियम बमोजिम प्रत्येक वर्षसाधारण सभा गरिनेछ । वार्षिक साधारण सभामा उपस्थित हुन नसक्ने शेयर धनिहरुले आफ्नो प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न सक्नेछन् ।
२०. के बिद्यार्थी, डिपेन्डेन्ट बैदेशिक रोजगारमा गएका श्रमिकहरुले सबैले उपरोक्त सामूहिक लगानी कम्पनीमा सामेल हुन सक्छन् ?अवश्य, उपरोक्त सामूहिक लगानी कम्पनीमा जुनसुकै गैरआवासीय नेपालीहरुले लगानी गर्न सक्नेछन् । बिश्वभरि छरिएर रहेका प्रवासी नेपालीहरु (गैर आवासीय नेपालीहरु) बाहेक अन्यले भने यस कम्पनीमा लगानी गर्न पाउने छैनन् ।
२१. यसरी लगानी गरिसकेपछि व्यक्तिको गैरआवासीय नेपालीको हैसियत समाप्त भए के हुनेछ ? के सो लगानी यथावत कायम रहन्छ ?
एक पटक लगानी गरिसकेपछि गैरआवासीय नेपालीको हैसियत समाप्त भए पनि गरिसकेको लगानी र सोबाट आर्जन गरेको प्रतिफल सुरक्षित रहन्छ । अन्य कम्पनीमा लगानी गरेसरह आफ्नो लगानी र आर्जित प्रतिफललाई ईच्छाबमोजिम राख्न वा झिक्न सकिने छ । तर गैरआवासीय नेपालीको हैसियत समाप्त भई सकेको छ भने पूँजी तथा प्रतिफल परिवर्त्य विदेशी मुद्रामा फिर्ता लैजान भने पाउने छैनन् ।
२२ . इच्छुक लगानीकर्ताले कसरी र कहाँ सम्पर्क गर्ने ?
विभिन्न क्षेत्र तथा राष्ट्रहरुमा गैरआवासीय नेपालीको सामूहिक लगानी समिति (CIC) गठन गरिएको छ । त्यो समिति मार्फत नै लगानी सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने छ । शेयर धनी भईसकेपश्चात लगानीकर्ताहरुले सोझै कम्पनीबाट आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन ।