आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

प्रवासमा रहेका नेपाली पनि नेपालीहरुको महान चाड दशैंको शुभ अवसरमा शुभकामना आदान प्रदान गरे । जापानको ओसाकामा प्रवासी नेपालीहरुले सामुहिक रुपमा शुभकामना आदानप्रदान गरेका छन । प्रवासमा रहेका गैरआवासीय नेपालीले नेपालका राजनीतिक दललाई सहमति कायम गरेर अगाडि बढ्न सुझाव दिएका छन । एकता, सहकार्य र सहमतिवीना सुन्दर शान्त नेपालको कल्पना गर्न नसकिने उनीहरुको धारणा थियो । प्रवासमा बसेर पनि नेपालको हित चाहने नेपालीको एउटै आवाज थियो ‘आखिर मन त नेपाली न हो ।’

नेपालीहरुको महान चाड दशैं भर्खरै मात्र सकिएको छ । यस चाडसँगै नेपालमा सुख, शान्ति र समृद्धि आउने विश्वास प्रवासी नेपालीहरुले गरेका छन । नेपालमा राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति कायम भई नयाँ संबिधान निर्माण भएको हर्ेन प्रवासी नेपालीहरु चाहिरहेका छन । शान्तिबीना नेपालमा समृद्धि कायम हुन सक्दैन । नेपालमा लगानीको बातावरण निर्माण हुन पनि स्थायी शान्तिको जरुरत पर्दछ । त्यसैले पनि प्रवासी नेपालीहरु शान्तिको कामना गरेका हुन । नेपालमा लगानीको बातावरण तय भएमा लगानी गर्न प्रवासी नेपालीहरु आतुर छन ।

नेपालमा लगानी लगाउने कार्यमा प्रवासीहरु सदैव तयार छन । उनीहरुले नेपालमा लगानी गर्नका लागि पनि बातावरणको अवसर खोजिरहेका छन् । प्रवासी नेपालीहरु दशैं तथा तिहारको अवसर पारेर करिव ३ लाख नेेपालीहरु नेपालमा फर्किएका छन । नेपालीहरुको महान चाँड दशैं तथा दिपावलीको अवसरमा घर सम्झिएर स्वदेश फर्किने मेरो तिब्र इच्छा थियो । हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुसँग सुख, दुख बाँड्ने मेरो तिब्र इच्छा थियो तर यसपाली मैले त्यो अवसरलाई गुमाए । दशैं मनाउने, दुखसुख बाँड्ने र हाम्रो विदेश बसाइको कुरा साट्ने अवसर जुर्न सकेन । यो खुसीयालीमा भेला हुन नपाउँदा ज्यादै दुख लागेको छ ।

मेरा साथीभाइ, शुभचिन्तक तथा इष्टमित्रहरुलाई धेरै नै सम्झिरहेको छु । मेरो व्यस्तता र कामको बोझले गर्दा यसपाली दशैंमा म नेपाल आउन पाइन । समय, परिस्थिती र देशको आर्थिक अवस्थालाई मनन गर्दै स्वदेशमा लगानीका लागि के गर्न सकिन्छ भन्ने कुरामा नयाँ सोचमा तथा योजना बनाउँदै छौ । हामी प्रवासी

नेपालीहरुको सानो प्रयत्नबाट एउटा कम्पनी सञ्चालन गरिरहेका छौं । आठ महिना अघिमात्र ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रा. लि. नामक कम्पनी अहिले नेपालमा सञ्चालित छ । सञ्चालनमा आइरहेको यो कम्पनीले धेरै प्रवासी साथीहरुलाई समेट्ने कोशिस गरेको छ । बाहिरबाट सिकेर आएको सिप, पैसा र ज्ञानलाई कसरी स्वदेशमै प्रयोगमा ल्याउने भन्ने विषयमा यो कम्पनीले आफ्नो रणनीति बनाएको छ । म एनआरएनको अध्यक्ष हुँदा या अहिले यसको प्रमुख संरक्षक हुँदाको समयमा विभिन्न देशमा बस्ने साथीभाइलाई भेट्दा उहाँहरुको भावना र अभिव्यक्ति बुझ्दा सबै साथीहरु केही कमाएको पैसा नेपालमा लगानी गर्न चाहिरहेको मैले महसुश गरे । देशमा शान्ति चाँडै आओस् भन्ने चाहना हामी प्रवासी सबैलाई हुन्छ । संविधान बनेर देशमा शान्ति आएपछि धेरै प्रवासीहरु नेपालमा ठूला क्षेत्रमा लगानी गर्न चाहिरहेका छन् । यो वातावरण सरकारले बनाउन सकेको छैन । हामीलाई सरकारको साथ चाहिन्छ । लगानी सुरक्षित हुन सकेमा विकास निर्माणका धेरै ठाउँ मा प्रवासी नेपालीको लगानी रहने कुरामा ढुक्क हुन सकिन्छ । विप्रेषणले धानेको हाम्रो देशमा जहिले पनि श्रमका लागि सरकारले पठाएका जनशक्तिको बललाई मात्र प्राथमिकतामा राखेर अध्ययन गरिएको हुन्छ । तर ठूला लगानीमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण  हुँदै आएको छ ।

म प्रवासी नेपालीहरुको अगुवा भएको नाताले पनि प्रवासबाट नेपालका नेताहरुसँग सहकार्य गर्न साथीहरुले गरेको अनुरोधलाई सँधै दिमागमा राखेर हिडिरहेको छु । भोलीका दिनमा प्रवासी नेपालीले कमाएको सम्पतिको सुरक्षाका लागि सरकारले एउटा राम्रो नीति ल्याउन आवश्यक भएको कुरा खड्किरहेको हामी सबैले महसुश गरेका छौं । वास्तवमा हाम्रो राम्रो कुरालाई मनन गर्ने, आर्थिक विकासका कुरामा बृहत छलफल र कार्यतालिका बनाउनेतिर सरकारले समय दिन सकेको छैन । देशमा भएको संक्रमणकालीन अवस्था र आपसी असमझदारीका कारण सरकार अहिले शान्तिकै पहलकदमीमा अलमलिइरहेको छ । संविधान बन्न नपाएको समयमा जनता, दलका नेता र प्रवासी सबैमा नैराश्यता छाएको छ । यस्तो अवस्थामा आपसी समझदारीका कुरा, लगानीका कुरा र निर्माणका कुराहरु सबै एकातिर थुपारिएको छ । लगानीकै लागि सहकार्य हुन आवश्यक हुन्छ । यो सहकार्यका लागि सरकारसँग कत्ति पनि फुर्सद छैन । तर हामीले निराश हुनुपर्दैन । हाम्रो प्रयास सकारात्मक छ । देश जर्जर अवस्थामा पुगिरहेको बेलामा हामीले निराशाका कुरा गरेर देशलाई झन् अन्धकारमा पर्न दिन हुँदैन । हैसेमा होस्टे गर्दै हामी अगाडि बढ्दै हाम्रा सीप, सम्पत्ति र ज्ञानलाई नेपाल आमाको छातिमा खन्याउँदै जाने संकल्प गरेका छौ । त्यसैको लागि हामीले ग्लोवल क्यापिटल इन्भेस्टमेन्टको जन्म दिएका हौं ।

प्रत्येक वर्ष देश आर्थिक रुपमा ओरालो लागिरहेको छ । शिक्षित युवाहरु पढाइको बहानामा धेरैको संख्यामा देश छोडिरहेका छन् । युवा जनशक्ति बेरोजगार छ । जताततै निराश लाग्ने समाचारले देशलाई आक्रान्त पारेको छ । जनताले सरकारमाथि विश्वास गर्न छोडेको छ । मान्छेमा नकारात्मक प्रवृत्तिको विकास भएकोछ । यो सबै हाम्रो दुर्भाग्य हो । देशमा लगानीका बाटाहरु खुल्नेवित्तिकै आधा समस्या समाधान हुन सक्छ । यसको लागि हामी सधै तत्पर र क्रियाशिल छौं ।

अहिले बैंकले घर जग्गा कारोबारको लागि ऋण नदिने हो भने व्यापार गर्ने व्यापारीहरु पनि सडकमा आउनेछन् भने नेपाल सरकार र बैंकलाई पनि अरबौंको घाटा व्यहोर्न वाध्य हुनुपर्ने छ । यसरी बैंकहरुले कस्दै जाने व्यापारीहरुले ऋण तिर्न नसक्ने लामो अवस्थामा पुगे भने नेपाल सरकार र नेपाली जनता सबैलाई नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । अर्कोतिर विदेशमा बस्ने नेपाली साथीहरुले पठाएको विप्रेषण आफ्नो आम्दानीअनुसार पठाइहरनुभएको छ । तर यसको सही ठाउँमा सदुपयोग भएको पाइदैन । यो विचरणीय कुरा हो । विदेशमा अठार घण्टा काम गरेर जम्मा गरेको पैसा सही ठाउँमा प्रयोग हुन जरुरी छ । जस्तै कृषि क्षेत्र, पर्यटन, शिक्षा, निर्माण, व्यापार जुन हाम्रो अवस्था र आवश्यकतामा अति आवश्यक छ । जुन काममा सुरुमा पचासौ अर्ब लगाउन जरुरी पर्दैन । त्यस्तो प्रत्यक्ष लाभान्वित हुने कामले हामीलाई पनि माथि उठाउन मद्धत गर्छ । यो सत्य हो कि हाम्रो देश प्रकृतिक सम्पदा र कृषिका लागि भरिभराउ छ । देशमा आर्थिक क्रान्तिको कुरा मात्र गरेर पुग्दैन । यो कार्यका लागि योजना बनाएर सहकार्य गरेर मात्र गर्न सकिन्छ । हुन त हाम्रो रमणीय पर्यटनलाई हामीले आयश्रोतको माध्यम बनाउन सक्छौ । प्रवासीले यस विषयमा सहकार्य गरेर अघि बढ्न सक्छन । हामीले पर्यटन क्षेत्रमा युवाको परिचालन गर्न सक्छौं । तर हाम्रा युवा जनशक्ति सबै विदेश पलायन भएका छन । यहाँ बाँकी भएका युवालाई हामीले उचित काम दिन सकेका छैनौ । यसलाई हामीले ध्यान दिनुपर्छ । म अर्को कुरा पनि जोड्न चाहन्छु, हाम्रा जंगलमा पाईने अमला, लप्सी जस्ता फलहरुलाई बजारमा ल्याएर विभिन्न किसिमका खानेकुरा तयार गर्न सक्छौं । यो सजिलो र सरल छ । मैले यस्ता विभिन्न उदाहरणहरु किन दिइरहेको छु भने हामी हाम्रै देशमा केही गरौं भन्ने सोंच सबैको मनमा आउन जरुरी छ । यसमा धेरै लगानी चाहिदैन । प्राकृतिक सम्पदाले सम्पन्न हाम्रो देशका बनस्पति, जल, जंगल र जमीनको सही सदुपयोग गरेमा देशमा सानो लगानीबाट पनि ठुलो उपलब्धी हासिल गर्न सकिन्छ । ***

 

(लेखक हिराचन एनआरएन आईसीसीका प्रमुख संरक्षक हुनुहुन्छ ।) 

 

तपाईको प्रतिक्रिया