शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

बाल्टीमोर- म्याग्दी जिल्लाको ठेट लोक गीत “सालैजो” भाकामा जम्दै प्रशान्त महासागरको सामुद्रिक तटमा अवस्थित बाल्टिमोरको रमणीय पार्कमा म्याग्दी समाज-अमेरिकाको बार्षिक बनभोज हालै सम्पन्न भएको छ l

दोहोरी गीतको उदगमस्थल मानिने म्याग्दी जिल्लाका निलम थापामगर, म्याग्दी गुर्जागाउँकै श्याम छन्त्याल र म्याग्दी चिमखोलाकी दोहोरी कलाकार पृथ्वीमाया पुनले गाएको म्याग्दीको ठेट लोक भाका सिरफुलै सालैजो जम्नु जमेको थियो, सुन्न र हेर्न करिब ४०० नेपालीहरू उपस्थित थिए ।

रिमिक्स गरेर लोकभाका बिगार्ने चलन चलेको अहिलेको जमानामा गाउँघर, मेलापात, जात्राहरूमा गाईने म्याग्दीको ठेट लोकभाका सिरफुलै सालैजो जस्ताको तस्तै सुन्न पाउंदा अमेरिका नभएर म्याग्दी गलेश्वरको बालाचतुर्दशीमेला रहेको अनुभूति भएको म्याग्दी राखुका सुमन मल्लले बताए । सो अवसरमा सालैजो गीतको साथै, लठो तान्ने  दिनभर खेलिएको बिभिन्न खेलहरू मध्ये सबैभन्दा आकर्षक खेल बन्यो ।

दगुरेर ढुंगा फ्याँक्ने खेल ठेलो म्याग्दी बाग्लुंगतिरको परम्परागत खेल मानिन्छ । यो ठेलो हान्ने खेलमा यसपटक सम्पूर्ण म्याग्दीबासीलाई पछार्दै बाग्लुंग मालिकाका दिनेश आचार्य प्रथम भए । बिजयी खेलाडी दिनेश आचार्यलाई परम्परा बमोजिम फेटा गुथाई दिएर अबिर जात्रा गरिएको देख्दा बडो रमाईलो देखिन्थ्यो । ‘नेपालमा चाहिं अबिरजात्राको साथै पन्चेबाजा बजाउंदै पुरै गाउँ घुमाउने चलन छ’ – समाजका उपाध्यक्ष अर्जुन शाहीले भने ।

आयोजक संस्था म्याग्दी समाज युएसएका अध्यक्ष पारसमणि श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्नुभएको उक्त बनभोजमा अमेरिकाका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत र अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, नर्थ अमेरिकाकै जेठो संस्था अमेरिका नेपाल सोसाईटी, वाशिंगटन डिसीका निबर्तमान अध्यक्ष खेम भट्टचन, जिल्लाका पहिलो चार्टर्ड एकाउन्टेन्ट भीमप्रकाश भट्टचन, जिल्लाका पहिलो महिला डाक्टर डा. अणु गर्बुजा, डा. गंगा पुर्जा पुनलगायतको बनभोज कार्यक्रममा उपस्थिति रहेको थियो । ***

म्याग्दी बनभोजका झलकहरु 

म्याग्दी बनभोजको भिडियो

तपाईको प्रतिक्रिया