Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

टोकियो – नेपाली साँगीतिक आकाशको नयाँ पुस्तामा पशुपति शर्मा धेरैले चिनेजानेको चल्तीको नाम हो । उनको नाम सुन्दा बितिक्कै जोडिएर आउने उनको प्रतिभाका पाटाहरु हुन् चोटिला दोहोरी, रोयलाका आक्रामक झटारो र तीजका मर्मस्पर्शी भाका । यसबाहेक निखारयुक्त शब्द चयन, भावभंगी, लय संयोजन र सशक्त प्रस्तुतीमा पनि उनी उतिकै जमेका छन् र दखल राख्दछन् ।

‘क्याम्पस पढ्न आउनी, सरले उता पढाउनी, हाम्ले आँखा जुधाउनी, चित्त बुझाउनी’ । ‘भुरुरु पुतली उड्यो बारीमा गौथली करायो, जवानी चढेर हो कि मलाई त डरचिन्तै हरायो’ ।  ‘कस्ती भाकी छ्यौ, भेटै भा’छैन झल्को दिनदिन, देखे चिन्दिन’ ।  ‘एउटा आत्मा छ, त्यही आत्मा नि रुवाउने कि हँसाउने तिम्रै हातमा छ’ । ‘टलक्कै ऐना टल्कियो… ’।  ‘अचम्मै राम्रो नाच्छे मोरीले….’। ‘बल्ल पो पीर पर्न थाल्यो…. ’ ।  ‘बाजी ठोकौ आऊ साथी, बाजी ठोकौ आऊ….. जस्ता दर्जनौ टिपिकल लोकभाकामा पशुपतिले आफ्ना स्वर दिएका छन् ।

उनीसंग ठ्याक्कै मेलखाने साँगीतिक जोडी भेट्टाएका छन् पशुपतिले राधिका हमाललाई । पशुपति, राधिका र मञ्जु पौडेल कलाकारत्रयले यसपालीको जापानको तीजमा धुंवादार धमाका मच्चाउने भएका छन्, त्यसै भन्छन् आयोजकहरु । जापान आउँदै गरेका यी कलाकारहरुको मनमा के छ, कस्तो लागिरहेको छ, कलाकार त जापानमा धेरै आए, गए, यिनले फ़ेरि के नयाँ छाप छोड्ने हुन कुन्नि ? यी कलाकारहरुबाट  जापानका दर्शकहरु, प्रशंसकहरुले के अपेक्षा गर्ने ?  जस्ता दर्जनौं जिज्ञासा मेटाउन सम्पर्कका लागि लामो प्रयासपछि साँगीतिक कार्यक्रममा भाग लिन पोखराका लागि यात्रारत पशुपतिसंग फ़ोनमार्फ़त भएको छोटो कुराकानीमा उनले धेरै कुरा भन्न भ्याए ।

‘पहिलोचोटी जापान आउँदै छु, जापानमा बस्ने साथीभाईहरुले माया गरेर म पशुपति शर्मा, राधिका हमाल र गायिका मञ्जु पौडेललाई जापान बोलाउनुभएको छ । यसपालीको तीज जापानमा बस्ने नेपालीहरुको नाममा सुम्पेका छौं । यहाँहरुको माया, सद्भाव र हौसलाले टोकियोमा हुन गईरहेको हाम्रो दई दिवसीय कार्यक्रम ऐतिहासिक बन्नेमा हामी ढुक्क छौं ।’

६० सालदेखि साँगीतिक दुनियामा हामफालेका स्याङ्जा पुतलीबजारका पशुपति शर्मा राजधानी झरेको एक दशक नहुँदै डेढदर्जन एल्बमसहित चर्चा र सफलता दुवै एकैसाथ हासिल गरेका छन् । यद्यपि यो सफलताको श्रेय भने दर्शक-श्रोताहरुलाई दिदैं उनले थपे  ‘सातौं देश जापानमा कार्यक्रमका लागि आउँदैं छौं, जापानमा बस्ने नेपालीहरुका लागि भनेर हामीले तीजको बिशेष कोसेली लिएर आउँदै छौं । नयाँ एल्बममा संग्रहित नयाँ नयाँ तीजका गीत, रोयला, तीजकै भाकामा प्रत्यक्ष दोहोरी लगायतका अन्य थुप्रै थुप्रै तीजबिशेष साँगीतिक कोसेलीका झिटीगुन्टा बोकेर हामी जापान उड्नका लागि तम्तयार छौं । नारी कुञ्ज जापान र आईएनसीजेलगायतका संघसंस्थाहरुको संयुक्त आयोजनामा सेप्टेम्बर १६ र १७ का दिन टोकियोमा हुने तीज महोत्सवमा जापानबासी समस्त नेपालीहरुलाई हाम्रो हार्दिक निमन्त्रणा छ’- पशुपतिले भने ।

पृथक प्रस्तुती र समसामियक धारमा टेकेर चोटिलो एवं मार्मिक ढंगले आफ्ना गला पस्कन माहिर पशुपतिले फ़ेरि भने  ‘राधिका, मञ्जु र म १२ तारिख टोकियो आउँदै छौं अरु भलाकुसारी त्यतै आएर गरौंला, तर यसपालीको तीजमा बेसरी जम्नुपर्छ है ।’  ***
कलाकारहरुको सन्देश जापानबासी नेपालीहरुलाई 

राधिका हमाल र मञ्जु पौडेलसंगको कुराकानी पनि क्रमशः आउदैं छ हेर्दै गर्नुहोला ।

तपाईको प्रतिक्रिया