आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

जन्मकै आधारमा म समाजमा बाहुन भनेर कहलिएको छु । यसबाहेक मलाई बाहुन किन भनियो म आफैलाई थाहा छैन । तर सँस्कृति र कर्मका हिसाबले मेरो दैनिक कार्य समाजमा बाहुन भनेर चिनिएकाको नित्यकर्मभन्दा धेरै फरक छ । अर्थात्, बाहुन भन्नेवित्तिकै माछामासु नखाने, सँधैं धर्मकर्ममा लाग्ने, टुप्पी पाल्ने, धार्मिक ग्रन्थहरु पढ्ने र पण्डित्याई गर्ने भन्ने कर्म जुन समाजले बुझिरहेको छ, त्योभन्दा मेरो परिवेश निकै फरक छ । यहि कर्ममात्रै बुझेर मान्छेलाई बाहुन बनाइन्छ भने म बाहुन पटक्कै होइन । त्यससंगै अन्य जातजातीहरुलाई सदियौंदेखि थिच्दै, मिच्दै र पेल्दै आएको जात बाहुन भनेर परिभाषित गरिंदा समेत त्यो अर्थमा म आफैलाई बाहुन हो भन्ने लाग्दैन । किनभने मैले अहिलेसम्म अरु जात त के आफ्नै जात बाहुनलाई समेत थिचोमिचो गरेको छैन । जातका आधारमा गरिने विभेद मलाई पटक्कै मन पर्दैन । यसैले बाहुनले खेप्दै आएको सामाजिक आरोप मलाई किमार्थ स्वीकार्य छैन । तर समाजमा शोषक वर्ग बाहुनमा मात्रै होइन, अन्य जातजातीमा छ भन्नेमा चाहि म विश्वस्त छु । बाहुनदेखि दलितसम्म, आदिवासीदेखि जनजातीसम्म र मधेशीदेखि थारुसम्मका समुदायका जातजातीहरुभित्र शोषक वर्ग छैनन् भन्न सकिन्न ।

अब बाहुन समुदायकै कुरा गरौं । सन्दर्भ विद्यालय पढ्दाताकाको हो । हाम्रो पारिवारिक संरचना धार्मिक आस्थामा अडिएकाले संगत पनि सानोमा त्यस्तैको भयो । पारिवारिक संरचनका कारण पनि मन्दिरमा हुने दिनहुँको पूजापाठ, आरती, भजनकिर्तन र चोखोनिष्ठामा संलग्न हुनैपथ्र्यो । बालकुमारी स्कूल पढ्दा गैंडाकोटस्थित एक मन्दिरमा कोठा भाडामा लिएर बसियो । त्यहाँ एकजना बाबा थिए, नाम चाहिं टाटम्बरी । उनको अगाडि अंग्रेजी पढ्न हुदैनथ्यो । उनले सुन्नेगरी अंग्रेजी पढियो भने मेरो अगाडि गाइखाने भाषा पढ्ने होइन भनेर बेसरी हकार्थे । सँस्कृतलाई भगवानको भाषा बताउने उनी अंग्रेजीको बेसरी निन्दा गर्थे । आफूले भगवान मानेको गाइलाई काटेर खानेहरुको भाषा अंग्रेजी भएकैले यो भाषालाई उनी घृणा गर्थे । यसैले अंगेजीलाई उनीहरु गाइखाने भाषा भन्थे ।

त्यतिबेला हामी देवघाट बसिन्थ्यो । घर जाने क्रममा रात परेकाले नारायणगढमै बास बस्नपर्ने भयो । होटलको बसाइ र खुवाइ चोखो नहुने भएकाले एक मन्दिरमा वास बस्न गइयो । हामी बाहुन नै भएपनि मन्दिरका मान्छेले हामीलाई निकै छोइछिटो गरे । उनीहरुले खान दिए र बस्न पनि । तर मन्दिरका मान्छेले हामीलाई यसक्रममा गरेको व्यवहार पशुलाई भन्दा तल्लो स्तरको थियो । यतिसम्मकि हामीलाई पानी खान दिइएको अम्खोरा उनीहरुले शौचालय जाँदा प्रयोग गर्नेरहेछ ।

देवघाट बसाइका क्रममा धेरै भक्त भक्तिनीहरुसंग संगत भयो । मठ मन्दिरको दर्शन पनि दिनहुँ हुन्थ्यो । देवघाटको सीताराम माबि पढ्दा सँस्कृत भाषामै विहानको प्रार्थना हुन्थ्यो । सँस्कृत मावि भएकाले सँस्कृतका थप विषय पनि पढाई हुन्थे । यद्यपि केहि सँस्कृतका विषय त्यहि स्कूलमा दलित, जनजातीले अप्ठ्यारो हुने भएकाले पढ्न सक्दैनथे । देवघाटमा दलितहरुलाई मन्दिर प्रवेश हुन्थेन । बाहुनले गर्ने चोखोनिष्ठा गरिएन भने हामी पनि मन्दिर प्रवेश गर्न पाइदैनथ्यो ।

माथिका सबै प्रसंगहरु जातिय आधारमा एउटै जातीमा पनि कति विभेद छ भन्ने देखाउन खोजिएको हो । एउटा जातीले अर्को जातीलाई गर्ने विभेदलाई छाड्ने हो भनेपनि हामीभित्रैको यो विभेद मात्र कम भएको होला, तर सकिएको चाहि छैन । विद्यालयदेखि कलेज पढ्दासम्म मैले देखेको, भोगेको र सुनेको कुरालाई आधार मान्ने हो भने अपवादबाहेक शैक्षिक प्रगति गर्नेमा बाहुनहरु नै अगाडि भए । तर अवसर चाहि माथिल्लो जाती भनिएका बाहुन क्षत्रीले प्रतिष्पर्धा गरेरै प्राप्त गरे भने महिला, दलित, आदिवासी र जनजातीले प्रतिष्पर्धासहित आरक्षणका भरमा समेत गरे । यस्ता जात र लिंगकै आधारमा गरिने अवसर अरु क्षेत्रमा ठिकै पनि थियो होला, तर प्राविधि र चिकित्सा क्षेत्रमा समेत जातका आधारमा गरिएको आरक्षणका व्यवस्थाले गतिलो सामाजिक संरचना बन्न सकेन ।

तर यतिबेला जातिय पहिचानको माग चर्को रुपमा उठेको छ । बाहुन क्षेत्रीले सर्बस्व नै पारे भन्ने भ्रम फैलाइएको पनि छ । आफ्नो पहिचान खोसेको भन्ने आरोप समेत उनीहरुलाई लगाइएको छ । आदिवासी जनजातीहरुले आफ्नो पहिचान खोसेको र सवल अनि सफल नागरिक बन्न नदिएको भन्ने आरोप लगाएर आन्दोलन गर्दै आएका छन् । बाहुन, क्षेत्री, दशनामी र दलित समेत एउटै मोर्चामा उभिएर आफ्नो पहिचानका लागि संघर्षरत छन् । तर एकापसमा आन्दोलन गरेर आफ्नो पहिचान स्थापित हुन्छ जस्तो मलाई लाग्दैन । कसले कसको पहिचान खोसेको छ र नेपालमा ? सबैलाई आफ्नो पहिचान र धर्मसँस्कृतिमा हिंड्न कसैले छेकेको छैन । के हो जातिय पहिचान भनेको र किन यसो गरिदैछ भन्ने ठेट उत्तर कसैसंग छैन ।

आफ्नो धर्म अरुले मान्नैपर्छ भन्ने छैन । एउटा जातको पोशाक अर्कोले लगाउँदैमा जातिय पहिचान स्थापित हुने होइन । एकापसमा बोलिने भाषा आफ्नै जात र सम्प्रदायको भइदिए हुन्थ्यो भनियो भने अर्को जातलाई अन्याय हुन्छ । एउटाको भाषा, पोशाक, धर्म, संस्कृति, रीतिरिवाज र सामाजिक संरचना लागु गर्न अर्कोलाई वाध्य पारियो भने उनीहरुप्रति पक्कै अन्याय हुन्छ ।

संविधान र संघीय राज्य बन्ने कता हो कता, यतिबेला जात र भूगोलका आधारमा राज्य माग्ने काम भएको छ । यसरी राज्य माग्नेहरुले बुझ्नैपर्ने एउटा कुरा के हो भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका सबै जातजाती नेपाली हुन् । नाम र भूगोलले कहिल्यै पनि जातिय पहिचान स्थापित हुने होइन । सबैभन्दा पहिलो कुरो सबैलाई नेपाली बनाउन सक्नुपरयो । यदि सकिदैन भने र साच्चै आफ्नो जातिय पहिचान नै स्थापित गर्नु नै छ भने आफ्नै जातका मान्छेलाई भाषा, संस्कृति र रीतिरिवाज सिकाइयो भने स्वतः जातिय पहिचान माथि उठ्छ । पहिलो पहिचान भनेको भाषा, संस्कृति र रीतिरिवाज नै हो । किनभने कतिपय जनजातीलाई आफ्नै भाषा आउँदैन । कतिपय आदिवासीलाई आफ्नै धर्मसंस्कृति थाहा छैन । यसैले गाइलाई देउता मान्नेहरुलाई तर्साउन गाइ काटेर खांदैमा आफ्नो जातिय पहिचान माथि उठ्ने होइन । तल्ला जात भनिएकारुलाई छोइछिटो गर्दैमा माथिल्ला जातको जातिय पहिचान स्थापित हुने पटक्कै होइन । जात र भूगोललाई आधार बनाएर कसले कहाँनेर कतिबेला कसरी कसलाई पछाडि पारयो भन्ने गतिलो विवरण कसैसंग छ जस्तो लाग्दैन । कुनैबेला यस्तो अवस्था पनि थियो । राज्यले पनि यस कुरामा विभेद गरेको थियो । तर अहिले अवस्था पहिलेको जस्तो छैन । विभेदका सम्बन्धमा अरुका त के कुरा गर्ने, बाहुनहरुकै बीचमा पनि थियो । अब आएर उतिबेला यस्तो थियो भनेर पुरानै ढर्राको कुरामात्रै गरेर हुन्छ त ?

आज सबै बाहुनले अंग्रेजी पढ्न पाएका छन् । सँस्कृत पढ्न बाहुन नै हुनुपर्छ भन्ने छैन । आ-आफ्नो धर्म र सम्प्रदायका सँस्कृति खुलेरै उपभोग गर्न पाइन्छ । आफ्नो धर्म मान्ने अधिकार सबैलाइ छ । मात्र आफ्नो धर्म मान्न, आफ्नो भाषा बोल्न, आफ्नो सँस्कृतिमा हिंड्न जान्नुपरयो । मिलेर बसियो भने नेपालभित्र सबैले आफ्नो जातिय पहिचान स्थापना गर्न सक्छन् ।

एउटै धाराको पानी खाएका, एउटै वनजंगलमा घासदाउरा गरेका, अन्न उव्जाउन संगै मेलापात र झरीबादल खेपेका फरक जातका छिमेकीलाई अब जातकै आधारमा एकापसमा बाधक बनाएर छुट्याउन खोजियो भने त्यो भन्दा ठूलो दुर्भाग्य के होला ?

कुनै बेला नेपालमा जनजाति, दलित, मधेसी, महिला, सीमानकृत र अल्पसंख्यकहरु पछि परेका थिए । राजनीतिक मुल प्रवाहमा उनीहरु आउन सकेका थिएनन् । तर अहिले अवस्था त्यस्तो छैन । यतिबेला गाउँको सानो आकारको समितिदेखि विघटित संविधान सभासम्म गठन गरिएका समिति धेरै समावेशी बन्दै गएका छन् । सामाजिक संरचना पनि उस्तै हिसावले निर्माण हुँदै गएको छ । अब यसैलाई संस्थागत गर्ने कि पहिलेकै संरचनालाई सम्झदै वर्तमानका बाहुन क्षत्रीलाई सरापेर बस्ने ? अब त जातिय संविधान र व्यवस्था होइन, राष्ट्रिय राज्य निर्माण गर्ने बेला हो । हिजो निषेधमा परियो भन्दैमा अरुलाई पनि निषेधको नीति अपनाउनु सान्दर्भिक हुँदैन ।

जातिय नामले पनि कोहि अस्तित्वमा आउने होइन । गरीबलाई धनबहादुर नाम राखेर धनी भएको भेटिएको छैन भने बलवानहरु बलबहादुर नाम राखेपछि मात्रै बलिया भएका होइनन् । नेपालको नाम फेरेर जापान राख्दैमा जापानजस्तै होला त नेपाल ? अब जातिय आन्दोलनमा लागेका नेताहरुले सम्बन्धित पार्टी समाजबाट आफ्नो पहिचान स्थापित गर्ने सवालमा कहाँनेर अप्ठ्यारो महशुस गरे ? नेपाली समाजलाई भन्न जरुरी छ । होइन भने आफू त्यहि संस्था र समाजको नेतृत्वमा रहँदासम्म केहि नगर्ने, अनि अहिले आएर आफ्नो पहिचान अरुले मेटाइदिए भन्ने आरोप लगाउनु न्यायोचित हुन सक्दैन । चाहे त्यो जुनसुकै जात र सम्प्रदायका किन नहोस् । ***

[email protected]

तपाईको प्रतिक्रिया