शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

भ्यानकुभर – क्यानडाको भ्यानकुभरमा नेपालीहरुको संख्या बढ्न थालेपछि यहाँ विभिन्न सामुदायिक गतिविधिहरु संगसंगै साहित्यिक कार्यक्रमले पनि ठाँउ पाउन थालेको छ । भ्यानकुभरमा साहित्यकार मानकाजीको प्रयासबाट यिनान् फानको संयोजकत्वमा गत १७ फरवरीका दिन पहिलो साहित्यिक सन्ध्या सम्पन्न भएको थियो । कवि गोष्ठीपछि सांस्कृतिक कार्यक्रमको समेत रमझम रहेको यस कार्यक्रममा नेपाली, हिन्दी, फ्रेञ्च, नेवारी र अंग्रेजी भाषाका कविताहरु वचन गरिको थियो । डा. गोबिन्दसिंह रावतको प्रमुख आतिथ्यमा आयोजित यस कार्यक्रमा डा. रावतले आफ्ना तीनवटा कविता वाचनसंगै टोरान्टो साहित्य समाज, नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको साहित्यिक गतिविधिका बारेमा प्रकाश पार्दै जुन २९ देखि जुलाई १ सम्म चल्ने एएनएको तिसौ सम्मेलनका बारेमा जानकारी गराउनुभएको थियो ।

आयोजकका तर्फबाट मानकाजीले भ्यानकुभरमा पहिलो पटक आयोजित साहित्यिक कार्यक्रमका बारेमा प्रकाश पार्दै कार्यक्रममा सहभागि सबैलाई स्वागत गर्दै सहभागिताका लागि धन्यवाद दिनुभयो । आफ्ना नेपाली र अंग्रेजी भाषाका कविता र गीत सुनाउँदै उनले भ्यानकुभरमा एउटा साहित्यिक संस्थाको आवश्यकता रहेका र त्यसका लागि सबै मिलेर लाग्नु पर्ने विचार अभिव्यक्त गर्नुभयो । कार्यक्रममा ओल्ड पोईट्री संस्थाका बारेमा र यसका विश्वभरी रहेका ६४ वटा शाखाका बारेमा जानकारी गराउँदै कवियत्री तथा उपन्यासकार एरियाडिन सवेले अंग्रेजी भाषामा कविता सुनाउनुभयो भने ज्याकोलिनले आफ्नो फ्रेञ्च भाषाको कवितालाई अंग्रेजी र फ्रेञ्च भाषामा सुनाउनुभएको थियो । कार्यक्रममा भारतीय मुलका कवि अशोक भार्गवले आउँदो मार्चमा भ्यानकुभरमा आयोजना गरिने अन्तरिष्ट्रिय साहित्य गोष्ठीका बारेमा सहभागिताका अनुरोध गर्दै हिन्दी र अंग्रेजीभाषाका कविता सुनाउनुभयो ।

त्यस्तै गणेशराम लाछेले नेवारी र नेपाली भाषामा, पुरुषोत्तम श्रेष्ठ, सूरज रञ्जितकारले अंग्रेजी भाषामा कविता सुनाउनु भएको थियो । सुब्रत श्रेष्ठको मनमोहक उदघोषणमा सम्पन्न गोष्ठीमा उनले पनि नेपाली, हिन्दी र अंग्रेजी भाषामा समसामयिक कविता सुनाएर श्रोतालाई मुग्ध पारीदिएका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा विविध सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । मानकाजीको गीतबाट शुरु भएको सांस्कृतिक सन्ध्यामा सविता श्रेष्ठ, विकास लामा, गणेश श्रेष्ठ, बेञ्जामिन न्योपाने, युवराज, कुमार भुजेल, सुनिल जोशी आदिले गीतहरु प्रस्तुत गर्नुभएको थियो भने अनिसा भट्टराई र रक्षा प्रधानले नृत्य र गोबिन्दसिंह रावतले हाँस्य प्रस्तुति प्रस्तुत गरेका थिए । भुटानी मुलका नेपालीहरुको समेत उपस्थिति रहेको कार्यक्रममा अमेरिकाको सियाटल शहरबाट समेत साहित्यकार तथा सांस्कृति कर्मीको उपस्थिति रहेको यस कार्यक्रमको अन्त्यमा सहभागी तथा सहयोगीहरुलाई प्रमुख अतिथिबाट प्रमाणपत्र प्रदान गरिएको थियो । ***

तपाईको प्रतिक्रिया