शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । बिहीबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो ।

वेस्ट इन्डिज ए ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुँदै १८१ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन बनाए भने सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले १९-१९ रन बनाएका थिए । त्यस्तै अविनाश बोहोराले अविजित १७ र सोमपाल कामीले १० रन बनाएका थिए । त्यस्तै वेस्ट इन्डिज ए का बलर माथ्युज फोर्डले ३ विकेट लिए भने फाबियन एलेन, गुडाकेश मोती र हेडेन वाल्शले २-२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो । वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्वाधिक अविजित ८४ रन बनाएका थिए भने जोन्सन चार्लेजले ५८ रन बनाएका थिए । त्यसैगरी फाबियन एलेनले ३३ रन बनाएका थिए । त्यस्तै नेपाली बलर कुशल भुर्तेलले २ विकेट लिए भने प्रतिस जिसीले एक विकेट लिएका थिए ।

यो जितसँगै वेस्ट इन्डिज ए ले ५ खेलको सिरिज एक खेल अघि नै ३-१ ले जितेको छ । अब सिरिजको अन्तिम खेल आगामी शनिबार खेलिँदै छ ।

तपाईको प्रतिक्रिया