शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – जम्मु-कश्मीरको पुलवामामा बिहीबार भएको पृथकतावादी हमलामा ४६ भारतीय सैनिकको ज्यान गएको भोलीपल्ट चीनले मुख खोलेको छ । एक वक्तव्य जारी गर्दै चीनले यस घटनाप्रति दु:ख व्यक्त गरेको छ । तर चीनले यो हमला गर्ने संगठन जैस ए मोहम्मदका सञ्चालक मसुद अजहरलाई आतंकवादीका रूपमा प्रतिबन्धित गर्ने भारतीय प्रस्तावबारे यो पटक पनि केही बोलेको छैन ।

चीन सरकारको तर्फबाट जारी गरिएको विज्ञप्तिमा कुनै पनि किसिमका आतंकवादको विरोध गर्ने जनाउँदै भारतीय सुरक्षाकर्मीमाथि भएको यो हमलाले गहिरो धक्का लागेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ्ग शुआङ्गले मसुद अजहरलाई आतंकवादीकारूपमा प्रतिबन्धित गर्ने कुरालाई  आफूहरूले जिम्मेवाररूपमा हेरिरहेको बताएका छन् । यसअघि भारतीय विदेश मन्त्रालयले राष्ट्रसंघमा सबै सदस्य राष्ट्रलाई अजहरलाई आतंकवादीकारूपमा प्रतिबन्धित गर्न अपिल गरेको थियो ।

भारतीय पक्षले अजहर पाकिस्तान निकट भएकाले चीनले उनको बचाउ गरिरहेको जिकिर गर्दै आएको छ । भारत सरकारले सन् १९९९ मा नेपालबाट भएको एयर इन्डियाको अपहरित जहाजका यात्रु छुटाउनका लागि अजहरलाई रिहा गर्न बाध्य भएको थियो । त्यसपछि अजहर पाकिस्तानमा लुकिरहेको दाबी भारतले गर्दै आएको छ । भारतले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा अजहरलाई प्रतिबन्धित गर्नका लागि धेरै पटक कोशिश गरेको थियो । तर चीनले भिटो प्रयोग गरेर भारतीय प्रस्तावालाई विफल बनाइदिँदै आएको छ ।

२ जनवरी २०१६ मा पञ्जावको पठानकोटको एयरफोर्स बेसमा भएको हमलापछि भारत सरकारले मसुद अजहरलाई दोषी ठहर्याएको थियो । त्यसपछि फेब्रुअरी २०१६ मा राष्ट्रसंघमा अजहरलाई प्रतिबन्धित गराउने प्रस्ताव राखिएको थियो । तर चीनले भारतको यो प्रस्तावालाई विफल पारिदियो । चीनले डिसेम्बर २०१६ मा यस प्रस्तावको विरोधमा भिटो प्रयोग गर्यो ।

तपाईको प्रतिक्रिया