शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – नेपालको संबिधान २०७२ जारी भएको तेस्रो वर्ष पुरा भई चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा टोकियोमा एक समारोहको आयोजना गरी चौथो राष्ट्रिय दिवस अर्थात संविधान दिवस मनाईएको छ ।

नेपाली राजदूतावास टोकियोको आयोजनामा भएको उक्त राष्ट्रिय दिवस समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै जापानका पार्लियामेन्टरी उपविदेश मन्त्री इवाओ होरीले राष्ट्रिय दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना ब्यक्त गर्दै उहाँले गत वर्षको संविधान दिवसको अवसरमा आयोजित समारोहमा नेपालको निर्वाचन सम्बन्धमा चर्चा गरेको तथा निर्वाचनमा जापानी सरकारको पर्यवेक्षक टोलीको नेतृत्व गरेर नेपाल गएको कुरा स्मरण गर्नुभयो ।

उहाँले नेपालले तीनै तहको निर्वाचन स्वच्छ, निश्पक्ष र पारदर्शी ढंगले सम्पन्न गरेकोमा बधाई दिदैं नेपालमा लोकतन्त्रलाई सुदृढ गर्न जापान सरकारले लामो समयदेखि सहयोग गरेको बताउनुभयो । उहाँले नेपाल र जापान बीच अत्यन्त बलियो आर्थिक, सामाजिक, तथा साँस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै आउँदा दिनहरुमा यो सम्बन्ध अत्यन्त व्यापक र प्रगाढ बनोस भन्ने कामना गर्नुभएको थियो । पछिल्लो समयमा नेपाल जाने जापानी पर्यटकहरुको संख्या बृद्धि भईरहेको र सिधा हवाई सम्पर्क कायम भएमा जापानी पर्यटकको संख्या अझ बढ्ने र नेपाल जापान अझ नजिक हुने बताउनुभयो ।

नेपाल तथा जापानको राष्ट्रिय गानबाट शुरु भएको सो समारोहमा स्वागत मन्तव्य राख्दै जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले व्यापक सहभागितामा समावेशी, संघीय तथा पूर्ण लोकतान्त्रिक संविधान जारी भएकोले नेपालको इतिहासमा यो दिन अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो । सो अवसरमा राजदूत राणाले ३ वर्ष अघि जारी भएको वर्तमान संविधान बमोजिम व्यापक जनसहभागितामा तीनै तहको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भई संघीय तथा प्रादेशिक सरकारहरु गठन भएको र प्रधानमन्त्री के पी शर्मा ओलीको ’समृद्ध नेपाल सुखी नेपाली’ को सोचलाई यथार्थमा परिणत गर्न आर्थिक विकास तथा समृद्धि हासिल गर्ने मूल ध्येयका साथ नेपाल सरकार अगाडी बढिरहेको कुरा बताउनुभयो । उहाँले नेपालको राजनैतिक स्थिरता, विदेशी लगानीमैत्री नीति एवं भौगोलिक अवस्थिति आदि कारणले नेपाल विदेशी लगानीको लागि अत्यन्त उपयुक्त मुलुक रहेकोले जापानी लगानीकर्ताहरुलाई नेपालमा लगानी गरी फाईदा उठाउन आग्रह गर्नुभयो ।

उहाँले प्राकृतिक सुन्दरताले भरिएको नेपालले सन् २०२० लाई भिजिट नेपाल वर्षको रुपमा मनाउने घोषणा गरेको र नेपाल जापानबीच निकट भविष्यमा सीधा हवाइ सेवा सञ्चालन हुन गईरहेकोले जापानी पर्यटकहरुलाई निर्धक्क भएर नेपालको भ्रमणमा जान आग्रह गर्नुभयो । त्यसका लागि पहलकदमी गर्ने जापान नेपाल संसदीय मैत्री लिगका अध्यक्ष तोशीहिरो निकाईलाई राजदूत राणाले विशेष धन्यवाद दिनुभएको थियो । साथै उहाँले नेपालको आर्थिक तथा सामाजिक विकासमा जापान सरकारले गरेको सहयोगका लागि जापान सरकार र जापानी जनतालाई धन्यवाद दिनुभएको थियो ।

राष्ट्रिय दिवसको उपलक्ष्यमा राजदूतावासले राजदूतावास र राजदूतनिवासमा असोज २, ३ र ४ गतेका दिन दिपावली गर्नुका साथै र असोज ४ गतेको जापान टाईम्स दैनिक पत्रिकामा राष्ट्रिय दिवसको बिशेष शुभकामना सन्देश प्रकाशन गरेको थियो ।

राष्ट्रिय दिवस समारोहमा जापानका क्षेत्रीय मामिला सम्बन्धि मिनिष्टर अफ इञ्चार्ज तेरु फुकुइ, सत्तारुढ गठबन्धन दल कोमेइतो पार्टी अध्यक्ष नात्सुओ यामागुची, जापानी परराष्ट्रमन्त्रालयका चिफ अफ प्रोटोकल किमिनोरी इवामा, जापानी परराष्ट्र मन्त्रालय अन्तर्गत दक्षिणपूर्वी र दक्षिण पश्चिमी विभागका डाईरेक्टर जेनेरल शिगेकी ताकीजाकी लगायत जापान सरकारका विभिन्न निकाय र अन्य सार्वजनिक संस्थाहरूका उच्च पदाधिकारीहरू, जापानका लागि विभिन्न देशका राजदूतहरु तथा नेपाललाई माया गर्ने जापानीहरुका साथै जापानस्थित नेपाली समुदायका सदस्यहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो । राष्ट्रिय दिवस समारोह टोकियो ओकुरा होटलमा भएको थियो ।  ***

तपाईको प्रतिक्रिया