शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – विभिन्न कारणले शरीर दुख्ने गर्छ । दुखाइ पनि फरक–फरक प्रकृतिका हुन्छन् । मानिसको शरीरमा हुने दुखाइमध्ये हाडको दुखाइ पनि एक हो । यस्तो समस्याबाट धेरै मानिस आक्रान्त हुन्छन् । यस्तो दुखाइ लिगामेन्ट र मसल्सको भन्दा फरक हुन्छ । कतिपयले यस्तो समस्यालाई बेवास्ता गरेको पनि पाइन्छ । तर, यसलाई सामान्य रूपमा लिनुहुँदैन, चाहे जुनसुकै भागको अंग दुखोस् । यसरी हाड दुख्नुका कारण थुप्रै हुन्छन् ।

कारण
दुर्घटनामा परी चोट लागेको अवस्थामा पनि हाड दुख्ने गर्छ । यस्तो दुखाइले पछिसम्म समस्या निम्त्याउन सक्छ ।
हाडलाई पनि भिटामिनको आवश्यकता हुन्छ । शरीरमा क्याल्सियम र भिटामिन डीको कमी भएमा हाडको दुखाइ सुरु हुन्छ ।
विभिन्न क्यान्सरका कारण पनि हाड दुख्ने गर्छ । जस्तो कि ब्लड, स्तन, थाइराइड, फोक्सो, हाड, प्रोस्टेट क्यान्सर । यस्तो क्यान्सर हाडमा फैलन पुग्यो भने अत्यधिक दुखाइ हुन थाल्छ ।
हाड दुख्ने अर्को कारण भने रगतको कमी हो । रगतले पनि हाडको स्वास्थ्यलाई बचाइराखेको हुन्छ । त्यसैले शरीरमा रगतको कमी हुन थाल्यो भने हाडको दुखाइ सुरु हुन्छ ।
हाडमा हुने संक्रमणका कारण पनि हाड दुख्ने गर्छ । यस्तो समस्याले पनि निकै दुःख दिने गर्छ ।

लक्षण
हाडमा चोट लागेको छ भने हिँड्दा, टहलिँदा दुख्ने गर्छ । त्यति मात्र होइन, चोट लागेको ठाउँ सुन्निने पनि समस्या हुन्छ । हाड नै भाँचिएको छ भने मसल्स र टिस्युमा समेत पीडा हुन्छ ।
हाड दुख्नुका लक्षण ढाड दुख्ने, शरीर चलमलाउँदा पीडा हुने, कमजोरी अनुभव हुने, निद्रा नलाग्ने, हाड खिइने, शरीरको एक भागको हड्डी छोटो हुँदै जाने आदि हुन् ।
क्यान्सरका कारण हाड खिइँदै जान्छ र दुखाइ सुरु हुन्छ । यस्तो अवस्थामा टाउको दुख्ने, हाड भाँचिँदै जाने, श्वासप्रश्वासमा अवरोध, जन्डिस, छाती दुख्नेलगायतका समस्या हुन्छन् ।
शरीरमा रगतको कमीले हाड दुखाइ सुरु भएको हो भने कमजोर अनुभव हुन्छ ।
यदि हाडमा कुनै संक्रमण भएमा ग्रसित भाग रातो हुँदै जान्छ ।
गर्भवती महिलामा पनि हाडको दुखाइ हुन सक्छ ।

रोकथाम
नियमित शारीरिक व्यायाम ।
क्याल्सियम र भिटामिन डीयुक्त खानाको प्रयोग ।
मद्यपान र धूम्रपानबाट टाढा रहने ।
६–६ महिनामा स्वास्थ्य परीक्षण गर्ने ।
परीक्षण
कुनै अंगको हाडमा दुखाइ हुनेबित्तिकै चिकित्सककहाँ जान जरुरी हुन्छ । एक्सरे, रगत परीक्षण, भिटामिन डी, क्याल्सियमको जाँचबाट हाड दुखाइको कारण थाहा पाउन सकिन्छ । कहिलेकाहीँ एमआरआई, सिटीस्क्यान, ट्युमर, बोन क्यान्सरको पनि परीक्षण गर्नुपर्ने हुन्छ । यद्यपि, हाड दुखेको अवस्थामा पिसाबको परीक्षण गर्न पनि जरुरी हुन्छ । यसबाट पनि धेरै रोगबारे थाहा लाग्छ ।

उपचार
हाडमा संक्रमण भएमा चिकित्सकको सल्लाहअनुसार एन्टिबायोटिकको सेवन गर्नुपर्छ । अत्यधिक दुखाइको भएको अवस्थामा दुखाइ कम गर्ने औषधिको पनि प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तै, पौष्टिक आहार जस्तै– भिटामिन, क्याल्सियमयुक्त खानाको नियमित प्रयोग गर्न आवश्यक हुन्छ । क्यान्सर, ट्युमरलगायतका करण यस्तो दुखाइ भएको हो भने उचित उपचारको जरुरी हुन्छ ।

तपाईको प्रतिक्रिया