शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – कम्युनिस्ट दर्शन एकै भए पनि ५५ वर्षदेखि स्कुलिङ फरक भएका मूलधारका प्रभावशाली दुई कम्युनिस्ट पार्टीलाई एकै बनाउन सहमत नेता हुन्– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।

६८ वर्षको कम्युनिस्ट पार्टी इतिहासमा यी दुई नेताको पाँच दशकभन्दा बढी फरक स्कुलिङ थियो । तर, सोमबार राजनीतिमा ‘आइसब्रेक’ गर्दै यी दुई नेताले एमाले र माओवादीलाई एउटै पार्टी बनाउँदै ‘शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माण’ को संयुक्त नेतृत्व नै लिए ।

ओली–दाहाल दुवै राजनीतिको केन्द्रमा रहने र राजनीतिलाई आफूमा केन्द्रीकरण गर्न चाहने नेता हुन् । हुर्काइ, वर्ग धरातल र राजनीतिक पृष्ठभूमि नै फरक देखिएका यी दुई नेताको ‘चामत्कारिक’ मिलाप हुन्छ भन्ने ६ महिना अगाडिसम्म कसैले सोचेको थिएन ।

आरोप–प्रत्यारोप र घोचपेचका कटु यथार्थ यी दुई नेताका सम्बन्ध थिए । ओली दाहाललाई ‘अस्थिर’ नेताको आरोप लगाउँथे भने दाहाल ओलीलाई पश्चगामी र ‘नक्कली राष्ट्रवादी’ भन्न पछि पर्दैनथे ।

ओलीको दुःख, दाहालको सोखिन बाल्यकाल

ओली–दाहाल दुवैका पृष्ठभूमि, रहनसहन, स्वभाव फरक छन्। ओलीको बाल्यकाल दुःखैदुःखमा बितेको छ । अर्काको घरमा गोठालो बसेर उनले बाल्यकालको शिक्षा लिएका थिए।

तर, दाहालले ओलीले बाल्यकालमा गरेजस्तो संघर्ष गर्नुपरेन । सानै उमेरदेखि नै अत्यन्त सफाचट (आइरन लगाएर टलक्क टल्काएको लुगा) लगाएर हिँड्ने दाहालको सोख पहिलेदेखि नै थियो । उनलाई पढ्नका लागि दुःख गर्नुपरेन । कृषिमा बीएसस्सी गरेर एमपिएसम्म दाहालले अध्ययन गरेका छन् तर ओलीले उच्च शिक्षा पढेका छैनन् । उनले त्यसरी पढ्ने अवसर पनि पाएनन् ।

ओली दाहालभन्दा ३४ महिना जेठा

ओलीभन्दा दाहाल ३४ महिनाले कान्छा छन् । ओली २००८ फागुनमा झापामा जन्मिएका हुन् । दाहाल भने २०११ मंसिरमा कास्कीमा । दाहालभन्दा ओलीले उमेरमा मात्र होइन, कम्युनिस्ट पार्टीको सदस्यताप्राप्त गर्नेमा पनि पहिलो नै छन् । उनले २०२६ सालमा संगठित सदस्यता लिँदै मार्क्सवादी अध्ययन दलमा संगठित भएका थिए । दाहालले भने ओलीले कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको दुई वर्षपछाडि मात्रै ०२८ सालमा नेकपा पुष्पलाल समूहबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।

पार्टी सदस्यता लिनु अगाडिदेखि नै यी दुई नेताको वैचारिक(राजनीतिक स्कुलिङ फरक थियो । तर, दुवैको हतियारबद्ध संघर्षको नेतृत्व गरेरै आएको पृष्ठभूमि छ । २०२७ सालको झापा आन्दोलन (वर्ग शत्रु खत्तम अभियान) का नेतामध्येकै एक हुन् ओली । ओलीले ०२७ सालमै थालेको हतियारबद्ध संघर्षको नेतृत्व ०५२ सालमा पुगेर दाहालले लिएका थिए ।

अन्तरमुखी ओली, बहिर्मुखी दाहाल

ओली अन्तरमुखी स्वभावका छन् तर दाहालमा त्यसको विपरीत बहिर्मुखी स्वभाव छ । अन्तरमुखी स्वभावकै कारण ओलीमा मनोगतवादी र एकलकाँटे प्रवृत्ति पनि रहेको एमालेकै नेताहरू टिप्पणी गर्छन् । दाहालसँग भने बहिर्मुखी स्वभाव भएका कारण विपक्षीसँग उनी सजिल्यै घुलमिल गर्न सक्छन् । त्यसैले पनि दाहालमाथि अस्थिर स्वभावका नेताको आरोप लागिरहन्छ । तर, उनी स्वयं भने आफूलाई द्वन्द्वात्मक भौतिकवादका अनुयायी भएका कारण प्रत्येक विषय निरन्तरतामा भन्दा क्रमभंगतामा बुझ्नुपर्ने र त्यसैअनुरूप हिँड्न सक्नुपर्ने तर्क गर्छन् ।

ओली कडा अडानमा रहने नेताका रूपमा पछिल्ला दिनमा परिचित छन् । उनी बोलेपछि हत्तपत्त अडान छाड्न चाहँदैनन् तर दाहालचाहिँ बेला–मौका हेरेर बोलीमा लचकता पनि देखाउन खप्पिस छन् ।

इतिहास हेर्ने हो भने यी दुई नेताको सम्बन्ध तिक्ततापूर्ण अवस्थामै बितेको थियो। दाहाल ओलीलाई मानसिक उपचार गराउनुपर्नेसम्मका चर्का अभिव्यक्ति दिन्थे भने ओली पनि माओवादीलाई हिंस्रक (जंगली) सम्मका आरोप लगाउँथे । तर, अहिले यी दुई नेतामा आएको मिलापले कम्युनिस्ट आन्दोलनमै ‘ब्रेक थ्रु’ गराएको छ ।

तपाईको प्रतिक्रिया