शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

विराटनगर – पन्छीमा मात्र लाग्ने गरेको एच–सेभेन–एन–फोर भाइरस मानिसमा पनि देखिएको समाचार सार्वजनिक भइरहेका बेला गैरकानुनी रुपमा भारतबाट नेपाल भित्र्याइएका ६ हजार कुखुराका चल्ला प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोलीले मोरङको धनपालथान गाउँपालिका–२ अमाहीबरियाती स्थित खयरवना नाकाबाट ५ लाख मूल्य बराबरको ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएको हो।

बिआर ११ जिए ८८६३ नम्बरको भारतीय पिकअपमा लोड गरेर नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा चल्ला बरामद गरिएको थियो। बरामद चल्ला र गाडी जिल्ला पशु क्वारेन्टाइन कार्यालय विराटनगरमा बुझाइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

रंगेली प्रहरीले सीमा नाका क्षेत्रबाट अवैध रुपमा हुने भन्सार छली, चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने अभियान सञ्चालन गरिरहेको छ।

एच-सेभेन-एन-फोर भाइरस हालसम्म पन्छीमा मात्र भेटिए पनि विश्वमै पहिलोपटक चीनमा देखा परेको छ। हङकङस्थित सेन्टर फर हेल्थ प्रोटेक्सनले मानिसमा पनि बर्डफ्लु देखिएको गत बुधबार घोषणा गरेको थियो।

पूर्वी चीनको जियाङसु प्रान्तकी ६८ वर्षीया महिलामा यो बर्डफ्लु देखिएको हो।

तपाईको प्रतिक्रिया